व्यवस्थापकहरुको क्षमता सहकारी संस्थामा एकरुपता

मीलन ढकाल
चैत्र २०, २०७५

यतिवेला ६२औ राष्ट्रिय सहकारी दिवस मनाई रहँदा सहकारीको परिभाषाको वारेमा व्याख्या गरिरहनु पक्का पनि पदैर्न। देशभर रहेका ३४ हजार ५१२ सहकारी संस्थामा ६० हजार ५१७ कर्मचारी कार्यरत भएको तथ्यांक देखिन्छ। यही जनशक्तिद्वारा ६३ लाख वढी सदस्यलाई सहकारीको सेवा प्रदान गरिएको छ भने ७३.१७ अरव शेयर पूँजी, ३०२ अरव वचत र २७४ अरव ऋण परिचालन गरिएको छ। यसरी हेर्दा वित्तीय कारोवारमा सहकारीको योगदान २१ प्रतिशत भन्दा बढी रहेको छ भने कुल गार्हस्थ उत्पादन (जिडिपी) मा योगदान ४ प्रतिशत देखिन्छ।

 व्यवस्थापनले कर्मचारीहरु मेशिन जस्तै काम गरिरहून् भन्ने चाहन्छन्, त्यस्तै कर्मचारीहरु पनि कामको गुणस्तर, लक्ष्यप्राप्ति भन्दा पनि तलबमुखी हुन्छन्।

सहकारीको इतिहास केलाएर हेर्दा २०१३ साल बाट २०७५ सालसम्म आईपुग्दा धेरै उतार चढावहरु आएका छन। ६२ वर्षको अवधिमा हामीले कत्तिको क्षमतावान जनशक्ति उत्पादन गर्न सकियो र सहकारी संस्थामा हामीसंग कतिको क्षमतावान जनशक्ति छ कि छैन भन्ने विषय अति महत्वपूर्ण विषयको रुपमा रहन्छ। कतिपय संस्थामा तालिमप्राप्त कर्मचारीको अभावले गर्दा लेखा प्रणाली चुस्त दुरुस्त राख्न नसकेको पनि देखिन्छ। कर्मचारीले जानेर भन्दा पनि नजानेर धेरै गल्ती गरिरहेको विषयबस्तु हाम्रो सहकारीमा देख्न र सुन्न पाईन्छ। यसको निराकरणको लागि न त व्यवस्थापनले सोचिरहेको हुन्छ, न त कर्मचारीनै यी विषयमा चिन्तित देखिन्छ तर यसको दूरगामी असर परिरहेको पछि मात्र थाहा हुन्छ तव संस्थामा समस्या आउँदछ। यसको समाधानको लागि व्यवस्थापनले समयमा नै सोच्नु पर्ने जरुरी छ।

विश्व ईतिहास हेर्दा पनि हाल बहुराष्ट्रिय कम्पनीहरुमा मानव संसाधनको अतिनै महत्व दिईएको पाईन्छ, जसको कारण बहुराष्ट्रिय कम्पनीहरु सफल भएका छन्। यिनीहरुले आफ्ना कर्मचारीहरुलाई आवश्यक तालिम दिई दक्ष र सक्षम बनाउने कार्य गरेका छन्। यसरी हेर्दा हाम्रो देशमा पनि दिन प्रति दिन सहकारीको संख्या बढ्दै गईरहेको परिप्रेक्ष्यमा मानव संस्ााधनको प्रयोग अनिवार्य गर्नुपर्ने देखिन्छ। सहकारी संस्थामा कर्मचारीहरु विषयअनुसारको काममा दक्ष भएको र सहकारीको शेयर सदस्य भएको सहकारी सिद्धान्तलाई अन्तर दिलबाट विश्वास गर्ने, निरन्तर र धैर्यसाथ काम गर्ने सम्भावना भएकालाई छनौट गर्नुपर्दछ। विकास भन्ने कुरा सदैव व्यक्तिगत हुन्छ। यो व्यक्तिगत तत्वले निर्धारण गर्ने कुरा हो। किनकि प्रत्येक व्यक्ति एक अर्कामा फरक हुन्छ। एउटा व्यक्तिमा परिवर्तन ल्याउनु अथवा योजनालाई कार्यान्वयनमा ल्याउनु एकदम कठिन कार्य हो। मानिसहरु सगँ शतप्रतिशत क्षमता हुन्छ तर सूचनाको अभावका कारणले २५ प्रतिशत मात्र क्षमताको प्रयोग भएको हुन्छ। ७५ प्रतिशत क्षमता सुषुप्त रुपमा रहेको हुन्छ जसलाई उजागर गर्न र प्रयोगमा ल्याउनका लागि नियमित तालिम, शिक्षा र सूचना सञ्चारको आवश्यकता पर्दछ। जुन सहकारीको अभिन्न अंगको रुपमा रहेको छ।

प्रत्येक व्यवसायको सफलता ५ वर्षमा दोब्बर हुनुपर्दछ। यो व्यक्तिगत जीवनमा पनि लागु हुन सक्दछ। आफ्नो व्यक्तिगत योजना निर्माण गर्दा पनि ५ वर्षमा दोब्बर हुने गरी योजना निर्माण गर्ने र सो अवधिमा आफूले तय गरेको योजना पूरा भए नभएको मापन गर्नुपर्दछ। मानव संसाधन को बीचमा भावनात्मक सम्बन्ध हुनु जरुरी छ यदि भावनात्मक सम्बन्ध भएन भने संस्थागत लक्ष्य प्राप्त गर्नमा बाधक बनिरहेको हुन्छ। काम भईरहेको देखिन्छ, कर्मचारीहरु पनि व्यवस्थापनको निदेर्शन अनुसार काम गरेको अनुभव गर्दछन तर हामीहरुको संस्थामा काम लगाउने र गर्ने बीच तादात्म्यता छैन जसको कारण हामी परिणाम निकाल्न सकिरहेका छैनौ।

कर्मचारीको जीवनको लक्ष्य जस्ता विषयलाई सस्थाले गौण सोच्दछन् परिणामस्वरुपम व्यवस्थापनले कर्मचारीहरु मेशिन जस्तै काम गरिरहून् भन्ने चाहन्छन्, त्यस्तै कर्मचारीहरु पनि कामको गुणस्तर, लक्ष्यप्राप्ति भन्दा पनि तलबमुखी हुन्छन्। व्यवसायको सफलताको लागि उनीहरुको योगदान कति महत्वपूर्ण छ भन्ने ख्याल गदैर्नन्। हो यही नै अहिलेको विद्यमान व्यावसायिक सम्बन्ध जुन व्यावसायिक सफलता प्राप्त गर्ने कुरामा अदृष्य तवरबाट बाधक बनेको छ र आजको अवस्थामा आई पुग्दा हामीले यही कुरालाई मिलाउनु पर्ने टडकारो आवश्यकता भएको छ।

संस्थागत विकासका लागि मानव संसाधन विकासलाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ। आवश्यक तालिम र व्यक्तित्व विकास सँगसँगै भावनात्मक सम्बन्धको पनि विकास गर्नुपर्दछ। जसले व्यावसायमा भएको यान्त्रिक सम्बन्धलाई जीवन प्रदान गर्दछ। हामीले चाहेको पनि प्राण विहीन होईन जीवित व्यावसाय हो अर्थात प्राण भएको व्यवसाय हो। सहकारीमा कार्यरत कर्मचारी बीच पारिवारिक सम्बन्ध कायम गरेर व्यवस्थापनले लगेमा कर्मचारीहरुको हौसला बढन गई सवल र सक्षम सहकारी संस्था निर्माण हुने कुरामा विमति छैन। आज हामले बनाउन खोजेको मानव संसाधन वास्तवमै नमूना मानव संसाधन हो जसको परिणाम सवल र सक्षम सहकारी संस्था निर्माण हुनु हो।

यस अवधि सम्म आई पुग्दा हामी बीच सहकारीको विकासको लागि थुप्रै छाता संगठनहरु स्थापित भएका छन अव यिनीहरुले के गरे के गरेनन् भनेर विगतलाई हेर्नु भन्दा अव के गर्नुपर्छ भन्ने विषय अहिलेको आवश्यकता हो। हिजोका कमीकमजोरीलाई शिक्षाको रुपमा लिएर आगामी दिनमा संस्थामा कार्यरत कर्मचारीको क्षमता वृद्धि गर्ने र गुणस्तरीय संस्था निर्माण गर्न सवैले हातमा हात मिलाएर अगाडि बढनु पर्ने देखिन्छ। विद्यमान कानूनको परिपालना गर्दै सम्पूर्ण सहकारी संस्थामा एकरुपता कायम गर्नुपर्ने देखिएकोले यस अभियानमा सम्पूर्ण सहकारीकर्मी एकचित्त भएर लाग्नको लागि पनि हामीलाई आजको दिनले प्रेरणा मिल्ने छ।

जय सहकारी।

(लेखक कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीका अध्यक्ष हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width