योग जीवन सुन्दर

सीता पौडेल
मंसिर १०, २०७६

शारीरिक परिश्रम नगर्ने व्यक्तिहरुलाई योगको झनै खाँचो छ। विना योग मानिसको कुनैपनि कार्य, दिनचर्या सहज बन्न सक्दैन। रोग लागेर औषधि खानुभन्दा रोग लाग्नै नदिनु उत्तम हो।

हिजो आज मानिसहरुको दिनचर्या लथालिङ्ग छ। मानिसहरुले आफ्नो दैनिकीलाई अनुशासित र मर्यादित बनाउन सकिरहेका छैनन्। आफ्नो जीवनलाई आफैले खतरामा पारिराखेका छन्। बिहान ढिला उठ्ने, शरीरलाई तन्दुरुस्त बनाउनतर्फ नलाग्ने, चिया पिउने, हतारमा नास्ता वा खाना लिने, दूषित र असन्तुलित आहार एवं खानपानमा बढी आशक्ति देखाउने, दिनभरीको कामको तनावलाई सही व्यवस्थापन नगर्ने, अपवित्र र शंकालु विचार लिने, पारिवारिक छलफल र भलाकुसारी नगर्ने, राती अबेरसम्म कम्युटर र मोबाइलमा रहने, परिवारका सबै सदस्यले जतिखेरपनि घोसेमुन्टो बनाइरहने (मोबाइल चलाइरने), आम मानिसको दिनचर्या जस्तो बनेको छ। जसको कारणले आम मानिसहरुमा चिन्ता, निराशा, डिप्रेसन, एकाग्रता, रिस, राग, द्वेष, ईष्र्या, घमण्ड, निर्बलता बढिरहेको छ। जसले शरीरमा विभिन्न प्रकारको रोग निम्त्याइरहेको छ। चिन्ता र डिप्रेसनको कारण आत्महत्या गर्ने मानिसहरुको संख्या बढेको छ। लथालिङ्ग, अनुशासनहीन र अनियन्त्रित जीवन शैलीले मानिसहरुलाई सभ्यता र संस्कृतिबाट टाढा बनाउदै लगेको छ। घर परिवार भित्रको वातावरण र सामाजिक सद्भावलाई खलबल्याएको छ। शरीर, मन र आत्मालाई एक अर्काबाट अलग्याएको छ। अझै भन्नुपर्दा आत्मालाई परमात्माबाट टाढा बनाउँदैछ।

मनमा चिन्ता बढे रोग बढ्छ। शरीरमा रोग निम्त्याउने मुख्यकारण अनियन्त्रित खानपान र जीवनशैली नै हो। जीवन शैलीमा परिवर्तन ल्याउन र शरीरमा रोग लाग्न नदिनको लागि योग अति आवश्यक छ। योगको अर्थ जोड्नु हो। शरीर, मन र आत्मालाई जोड्ने काम योगले गर्दछ। नराम्रा र खराब कुराहरुलाई छोड्दै राम्रा र सकारात्मक कुराहरुलाई जोड्दै जानु नै योग हो। योग रोगीका लागि औषधि हो भने निरोगीका लागि जीवन जिउने पद्धति हो। योग नियमित रुपमा गर्न सक्यो भने मात्रै पनि जीवन सहज बन्दै जान्छ।

हाम्रा गुरुहरु हामीहरुलाई यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान एवं समाधि गरी योगका आठ अंग छन् भन्नुहुन्छ। वास्तवमा यी सबै हामीले अरुलाई गर्ने व्यवहार, दिनचर्या, खानपान एवं जीवनशैलीसंग नै सबन्धित छन्। अरुलाई दुखी नबनाउनु, एवं शरीर र मन शुद्ध राखी परमात्मामा लगाउनु नै योग हो। अझ छोटकरीमा भन्नु पर्दा चित्तलाई एकाग्र बनाउने विधि नै योग हो। सूयोर्दयभन्दा २ घन्टा अगाडि ब्रह्म मुहूर्तमा उठ्ने, पानी पिउने तरीका, मलमुत्रको त्याग, शरीर शुद्दी, ध्यान, जपतप, धार्मिक बिषयको अध्ययन श्रवण, खानपानको बिषय, सयन र निद्रा पनि योग अन्तर्गत नै पर्दछन्। यी सबैको नियमितता र शुद्दताले मात्रै पनि हामीले हाम्रो शरीर र मनलाई सुन्दर बनाई पुरा शरीरमा आभा ल्याउन सक्दछौं।

योगको इतिहास पुरानो छ। प्राचीन कालमा ऋषिमुनिहरुले पनि योगको सिद्धान्तलाई स्वास्थ रहनको लागि प्रयोगमा ल्याएका थिए। विहान उठेदेखि राति सुत्ने बेलासम्मका नियम बनाएका थिए। उनीहरुका सारा कुरा नियमबद्ध थिए। अहिले त सबैकुरा लथालिङ्ग देखिन्छ। उहिलेका ऋषिमुनिहरुले अनेक अध्ययन र अनुसन्धान गरी हामीलाई आयुवेर्द र योगको ज्ञान दिए। हामीलाई औषधि, आहार विहार र शारीरिक अभ्यासको जानकारी दिलाए।

वास्तवमा योग, शरीरलाई क्रियाशील बनाउने साधन मात्र हैन यो त शरीरमा, स्वस्थ मन, भावना र संस्कार उमार्ने कच्चा पदार्थ पनि हो। योगको कारण नै ऋषिमुनिहरुले हरेक कुरामा सिद्धि प्राप्त गरे। जीवनलाई दीर्घायु, स्वस्थ र तेजिलो बनाउन सफल भए। तर आजका मानिसले यसलाइ बुझ्न नसक्दा उनीहरुको जीवन कष्टपूर्ण र रोगी बनिरहेको छ।

अहिले योग सिकाउने संस्था धेरै छन्। योग सिकाउने र गराउने होड चलेको छ। योग सिकाउने धेरै गुरुहरु जन्मेका छन् र ठाउँ ठाँउमा योग केन्द्रहरु खोलिएको अवस्था पनि छ। योगका पद्धतिहरु पनि फरक फरक हुनसक्छन्। जे भए पनि सकारात्मक सोचका साथ सादा जिन्दगी र पूर्णरुपमा स्वस्थ जीवन बिताउनका लागि योग आवश्यक छ।

तर सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो लागि कस्तो प्रकारको शारीरिक अभ्यास, आहारबिहार, दिनचर्या र अनुशासनका नियम उपयुक्त हुन्छन् भन्ने कुरा आफैले र योग गुरुहरुको राय सल्लाहबाट निक्रयोल गर्ने विषय हो। यसमा ध्यान दिन सकिएन भने योगबाट फाइदाभन्दा बेफाइदा बढी हुन सक्छ। यस्तै योग सिकाउने ब्यक्तिहरुले पनि योगमा पूर्णरुपमा पारङ्गत नभै योग सिकाउन हुँदैन। योग गर्दा आफ्नो शरीर, प्रकृति र उमेर अनुसारको योग गर्नु आवश्यक हुन्छ। मन र चित्तलाई एकाग्रमा राखी शरीरलाई पवित्र पारी गरिएको योगबाट परिणामको अनुभुति छिटो प्राप्त गर्न सकिन्छ।

एकान्त स्थानमा गरिएको योग अझ बढी प्रभावकारी हुन्छ। एक दुई वर्षसम्म लगातार मन, चित्त र दिमागलाई एकाग्र राखी गरिएको योगले जिन्दगी मै परिवर्तन आउन थाल्दछ। अरुप्रति मित्रभाव, करूणा, पवित्रता, खानपानमा संयम, अरुले आँफुप्रति गरेको नकारात्मक टिप्पणीलाई पनि सहस्र हाँसीहाँसी स्वीकार गर्न सक्ने शक्ति मन भित्रैबाट प्रकट भएर आउँछ। स्वास्थ्यमा परिवर्तन गर्न सकिन्छ। यी सबै म स्वयं ले अनुभूति गरेका विषयहरु पनि हुन्।

तर अहिले योगको माध्मबाट शरीरलाइ स्िलम बनाउने, भुँडी घटाउने, राम्रो बन्ने भन्दै देखासिकी र लहैलहैमा योग गर्ने र योग शिक्षकको तालिम भनेर पन्ध्र दिनको तालीम गराएर उनीहरुलाई प्रमाणपत्र प्रदान गरी योग केन्द्र खोल्न लगाउने जुन कार्य हुने गरेको छ त्यसले योगको महत्वलाई अवमूल्यन गरेको छ जस्तो मलाई लाग्दछ। किनभने पन्ध्र दिनको तालिमले मात्र ऊ योगमा पारङ्गत हुनै सक्दैन।

योग शिक्षकको लागि अगाडि देखिको अनुभव र विषयवस्तुमा सैद्धान्तिक ज्ञान हुनु अति जरुरी छ। मानिसको शारीरिक र मानसिक अवस्था र प्रकृति अनुसारको योग आवश्यक हुने हुँदा ती सबै कुराहरुको ख्याल योग शिक्षकले गर्नु जरुरी छ। सबैजना निरोगी, सबल र एकै उमेर अवस्था एवं प्रकृतिका हुन्छन् भन्ने पनि हुँदैन। अरुको शरीर माथि खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन। योग हतारमा गर्ने विषय पनि होइन। जोसमा हैन होसमा विस्तारै विस्तारै शरीरमा अनुभूति गर्दै गरेको योगबाट मात्र परिणाम राम्रो पाउन सकिन्छ। शरीरलाइ दुःख कष्ट दिएर गर्ने अभ्यासलाई योग भनिदैन। श्वासलाई गतिशील बनाई बडा आनन्दका साथ प्रत्येक स्वासमा स्वस्थ अनुभूति गर्नु योगको परिणाम हो, परिचय हो।

निष्कर्षमा भन्नु पर्दा आज सबै लिङ्ग, उमेर अवस्थाका ब्यक्तिहरुलाई योग शिक्षा अति आवश्यक रहेको छ। बाल्य अवस्थामा जसले जस्तो ज्ञान हाँसील गर्दछ त्यो छाप अन्तिम अवस्थासम्म पनि उसको मनमा गडेर बसेको हुन्छ। त्यसैले बालबालिकालाई स्कूल जाने उमेरबाट नै योगको साधारण ज्ञान दिनु आवश्यक छ। शारीरिक परिश्रम नगर्ने व्यक्तिहरुलाई योगको झनै खाँचो छ। विना योग मानिसको कुनैपनि कार्य, दिनचर्या सहज बन्न सक्दैन। रोग लागेर औषधि खानुभन्दा रोग लाग्नै नदिनु उत्तम हो। त्यसैले आउनुहोस् सबैले आजैदेखि योगलाई अंगालेर जीवन सहज बनाउँ। तन्दुरुस्त, निरोगी र दीर्घजीबी बनौं। शरीर, मन र आत्मालाई परमात्मासंग जोडौं, जीवन सुन्दर बनाऔं।

Related News

सम्बन्धित समाचार

hero news full width