मेरो हुम्दी गाउँ

धर्मराज लामिछाने
श्रावण १४, २०७६

युवाशक्ति सबै बाहिर मुलुकमा छन्। शिक्षित, पढे लेखेका व्यक्ति शहरबजारमा जागीर तथा विद्यालयमा अध्यापन गर्छन्। गाउँमा बुढापाका, महिला, बालबालिका मात्र छन्। खेतीवाली लगाउन मान्छे पाइँदैन। पाखावारी सबै बा“झै छन्। यो देख्दा चसक्क मन दुख्छ।

पहिले मेरो जन्मस्थान हुम्दीलाई डाँडा गाउँ भनिन्थ्यो। म हुम्दी गाउँमै जन्मेको हुँदा मेरो जन्मस्थल हुम्दी नै भन्न मन लागिरहन्छ। २०१७ साल पछि यो गाउँलाई रिभान गाउँ पञ्चायत वडा नं ९ हुम्दी डाँडागाउँ भन्न थालियो। त्यस पछि २०४६ सालमा पञ्चायती व्यवस्था खारेज भएपछि रिभान गा.वि.स. वडा नं. ७ हुम्दी नै स्थापित रह्यो। लोकतन्त्रको स्थापनादेखि यो श्री माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ रिभान हुम्दी हुनगयो। राजनीतिक परिवर्तन भएपनि यो गाउँलाई हुम्दी भन्ने सवैले चिन्दछन्। अथवा मर्दि खोला हुम्दी प्रख्यातै छ।

हाल माछापुच्छ्रे गाउँपालिकाका वडाहरुः– १ नं. माछापुच्छ्रे, २ नं शारदीखोला, ३ नं. घाचोक, ४ नं लाहाचोक, ५ नं रिभानहुम्दी, ६ नं. धिताल, ७ नं. धम्पुस, ८ नं ल्वाङ, ९ नं घलेल यति ९ वटा गाविसलाई समेटेर एउटै माछापुच्छ्रे गाउँपालिका बन्यो। यस रिभान हुम्दीको चार किल्ला सीमा यसप्रकार छ। जस्तै पूर्व वडा नं. ४ लाहाचोक पातिखोला, दक्षिण धिताल भिँडावारी÷मर्दी खोला, पश्चिम मर्दि खोला ल्वाङ घलेल, र उत्तर माछापुच्छ्रे हिमाल आदि मर्दीखोला कास्की जिल्लाको प्रख्यात ठाउँ हो। किनभने मर्दी खोलाको चिसो र स्वच्छ पानी आज पोखरा महानगरमा खानेपानीको मूलस्रोत बनेको छ। यदि मर्दी खोला नहुने थियो भने शायद पोखरामा खाने पानीको हाहाकार नै हुने थियो होला। अर्को कुरा मर्दी खोलाको माछा, असला माछा भन्ने कुरा कास्की जिल्ला मात्र नभएर देश विदेशमा पनि प्रख्यात भइसकेको छ। यो मर्दीखोलाले माछापुच्छ्रे गाउँपालिका अन्तर्गत ल्वाङ घलेल र रिभान हुम्दीलाई बढी समेटर बगेको छ।

मर्दीखोलामा जलविद्युत पनि छ। यो पावर हाउस रिभानको हुम्दी गाउँमा नै संचालित छ। यो संचालित भएको ठाउँलाई गोरुखर्क हुम्दी पनि भनिन्छ। गोरुखर्क भन्ने ठाउँmमा ट्राउट माछा पालन व्यवसाय पनि छ। मर्दीखोलाको चिसो पानीमा ट्राउट माछा पाल्नु धेरै उपयुक्त छ। मर्दी खोलाको पानीबाट हुम्दीगाउँका किसानहरुलाई सिंचाईको लागि प्रर्याप्त मात्रामा सुविधा छ। यहाँ वर्षा मौसम मात्र नभई हिउँद वर्षा बाह्रै महिना सिंचाईको लागि पर्याप्त सुविधा छ साथै खानेपानीको लागि धाँदीखोलाको पानीले गाउँको घर घरमा खाने पानीको धारा सुविधा पर्याप्त छ।

वस्ती हुम्दी गाउँका मानिसहरु अहिले दिन पर दिन तल बेँसीतिर घोरखानीमा बस्ती बसाल्दै छन्। पहिले माथि पाखातिर बस्ती थियो। अहिले यातायातको सुविधाले गर्दा दिन पर दिन धेरै मानिस फाँटमा झरी घर बस्ती बसाल्दै छन्। गत २०७२ सालको भूकम्पले गाउँका पुराना घर भत्किए त्यसै कारणले पनि भूकम्प पीडितहरु समथर ठाउँमा सर्ने र आबास बनाउन बाध्यभएको कुरा सर्वविदितै छ।

हुम्दी गाउँको क्षेत्रफल र खेतवारी वन पैदावार सुविधाजनक छ। यहाँ खेतवारी जति कम भए पनि उब्जाउ हुने माटो सिंचाईको सुविधा, धान, मकै, कोदो, गहुँ, तोरी, आलु तथा तरकारी खेती गर्न योग्य बलौटे कालो माटो भएको हुँदा थोरै जमिन भएता पनि उब्जाउ राम्रो हुनाले खानसम्म पुगेको छ।

यो हुम्दी गाउँमा प्रायः ब्राह्मण गुरुङ, गिरी, क्षेत्री, कामी, दमै आदिको संयुक्त बसोबास छ। वडामा हिन्दु धर्म मान्ने र बुद्ध मार्गी पनि छन्। पशुपालनमा गाई, भैसी, बाख्रा, कुखुरा, हाँस पाल्ने गर्छन् मुख्य पेशा कृषि नै हो। अन्य व्यापार, मजदुर, ज्यामी हुन्। गाउँमा रोजगारी नहुँदा धेरै युवाहरु विदेश तिर छन्। युवाशक्ति सबै बाहिर मुलुकमा छन्। शिक्षित, पढे लेखेका व्यक्ति शहरबजारमा जागीर तथा विद्यालयमा अध्यापन गर्छन्। गाउँमा बुढापाका, महिला, बालबालिका मात्र छन्। खेतीवाली लगाउन मान्छे पाइँदैन। पाखावारी सबै बा“झै छन्। यो देख्दा चसक्क मन दुख्छ।

शिक्षातर्फ यस रिभान वार्ड नं. ५ अन्तर्गत हुम्दी गाउँमा एउटा मा.वि. तहको विद्यालय छ श्री निष्पक्षमा.वि. हुम्दी। यसमा अध्यनरत विद्यार्थी ३५० को हाराहारीमा छन्। मा.वि. कै नजिक बोर्डिङ स्कुल हुँदा सरकारी विद्यालयमा विद्यार्थी कम हुनगएको छ। यो निष्पक्षमा.वि. २०६६ सालमा कार्तिक ६ गतेका दिन ४८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा नवनिर्मित १४ कोठे पक्की भवनको समुद्घाटन गरिएको थियो। सो विद्यालय नेपाल सेक्रोस अफ बेल्जीयमद्वारा निर्मित भएको हो संयोजक रामप्रसाद तिमिल्सीना सहित स्थानीय समाजसेवी तथा धर्मराज लामिछानेको सक्रियतामा भवन निर्माण सम्पन्न भएको थियो। ५० वर्षको “स्वर्णजयन्ती महोत्सव २०६८” पनि धर्मराज लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो।

यस हुम्दी गाउँलाई हुम्दी भन्नुको एउटा दन्त्यकथा भनु“ या सत्य कथा भनु यस्तो छ :– आजभन्दा करिब १६ पुस्ता अगाडितिरको कुरा हो। मेरो बुबाले भन्नु भएको कुरा त्यतिखेर बाइसे चौबीसे राजाको पालामा हाम्रा लामिछाने बन्धुका बाजे (प्रपितामह) पुर्खा दुई भाइ बाग्लुङ वल्याहाबाट आई हालको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ काउरे भन्ने ठाउँमा आएर बस्नु भएको र अनि ती दुवै दाजु भाइका छोरा छोरी नभएका कारण काउरे पनि छाडेर अलिमाथि सरेछन्।

त्यहाँ गएर बसे पछि एकदिन राजा शिकार खेल्दै आएर बूढा हजुरबाको छाप्रामा पसेछन्। चैतको महिना एकदम गर्मी भएकोले बूढा हजुरबासंग सोधेछन्। बुबा चिसो चीज के खान पाइन्छ? भनेर सोध्दा बाजेले भन्नु भएछ : सरकारको जो मर्जी म टक्रयाउँला भन्नु भएछ। त्यसो भए बर्फ खान दिन सक्नु हुन्छ? बाजेले सक्छु भन्नु भएछ। बाजेले आँगनमा गाईको गोबरले लिपेर भकारी गोलो बनाएर आफुले नै मास, बेसार, जौ, तिल, कुश यी पा“च चिजलाई मन्त्रद्वारा फुकेर ३ पटक आकाशतिर फ्याँके छन्। अनि १ मिनेटमै असिना बर्सेछ र भकारी भरिभएछ।

राजा खुब खुशी भएर असिना (वर्फ) खाई बाजेलाई सोधेछन्। तपाईले के माग्न चाहनु भएको छ? बाजेले जग्गा खेत चाहियो। लौ हुन्छ ऊ त्यो पूर्वपट्टिको लामो पाटा तिमीलाई विर्ता भो भने छन्। त्यस जग्गालाई अहिले हामी ठूला खेत भन्दछौं।

जग्गा विर्ता पाएपछि बाजेले भन्नुभएछ हामीलाई सरकारबाट जग्गा त प्राप्त भयो तर सन्तान बिना धन सम्पत्तिले के गर्ने? दुइ दाजुभाइको सल्लाहमा यज्ञ गर्ने राय भएछ। अब एकाह रुद्री गरेछन्। होम यज्ञ गरे पछि १ वर्षभित्र (पुत्र) जन्मेछन् दुवै भाइका १÷१ छोरा जन्मेछन्। त्यसरी होम दिएर छोरा जन्मेको हुँदा यस ठाउँलाइ (होमदी) हुम्दी भनिएको हो। अहिले हामी उनै बाजे (जिजु) का सन्तान (लामिछाने बन्धु) वल्लो–पल्लो हुम्दी गाउँमा १३५ घर अन्य बाहिर छरिएर बसेकासमेत गरी १९० घर भएका छन्।

म भने २०६३ सालमा पोखरा–५, मालेपाटन ज नप्रिय मार्गमा बसेको छु। तापनि मेरो जग्गा जमीन सबै हुम्दीमा छ। म त्यही हुम्दीमा जन्मेँ हुर्किएँ, त्यहीँको निष्पक्ष प्रा.वि.मा पढें। त्यहीँको वातावरणमा हुर्किएँ। त्यहीँ हुम्दीकै खेतवारीमा काम गरें। त्यहीँ कै वनपाखा कन्दरामा घा“स दाउरा काटेँ, गाई भैंसी चराउने गोठ सार्ने बनाउने र गोठको काम पनि गरेँ। युवा विद्यार्थी जीवन र शिक्षक जीवन पनि यहीँ विताएँ। २५ वर्ष शिक्षक पेशामा रही सेवागर्ने र गाउँको सामाजिक सेवामा पनि समर्पित भई काम गरेको हुँदा मलाई हुम्दी गाउँको दिनरात सम्झना आइरहन्छ। म हाल पोखराको घरमा बस्छु तर पनि राति सपनामा देख्छु, हुम्दी गाउँकै घरमा खाइरहेको हुन्छु। म जहाँ गए पनि हुम्दी मेरो आँखामा घुमिरहेको हुन्छ । त्यसैले मलाई मेरो प्राणभन्दा प्यारो लाग्छ मलाई हुम्दी गाउँ।

Related News

सम्बन्धित समाचार

hero news full width