‘माघे जात्रा’ अर्थात सहस्त्रधारा

आदर्श समाज सम्वाददाता
फागुन १०, २०६९

“ए मस्त दाङ दाङ, मिखा ङ्यओ काङ काङ,” पौष, माघ महिनाको कठ्याङ्ग्रिने जाडोको समय र न्यानो ओछ्यानमा मस्त सुतेको बेलामा यो शव्द एक्कासी कानमा पर्दा वा घरका कुनै सदस्यले एकाबिहानै करिब ३/४ बजेको समयमा सुनेर जराकजुरुक उठी चुपचाप एउटा रुमाल भिरेर अन्नपूर्ण हिमाल र माछापुच्छ्रे हिमालको चिसो सिरेटोलाई वास्ता नगरि यी माथि उल्लेखित आवाजको शङ्ख फुक्दै नेपाली भाषामा “ए केटाकेटी उठ उठ, दुइटा आँखा खोल खोल” उठ भन्दै २६ कुरिया (त्यसबेला पोखराको भैरबटोलको सा“धदेखि गणेशटोल तेर्सापट्टि रामकृष्ण टोलको साँधसम्म) भित्र आजभन्दा करिव २५/३० वर्ष अघिसम्म पनि घन्किने शब्द हो। के बच्चा बूढा ठिटा सबै यो शङ्खको आवाज सुन्ने वित्तिकै न्यानो ओछ्यान छोडेर जर्‍याकजुरुक उठी घरबाट निस्की हुलका हुल बाँधी शङ्ख फुक्ने व्यक्ति सँगै अन्नपूर्ण हिमालदेखि बग्दै आएको नदीपुर नारायणस्थान मुनिको सेती नदीको किनारमा पुग्ने गर्दथेँ। घरमा बस्दा त स्यू स्यू हुँदा न्यानो लुगा र पछ्यौरा अथवा डोलै ओडि बस्नुपर्ने बेलामा सेती नदीमा पुगेका सबै जसोले चिसो पानीले नुहाई व्रत वस्ने अथवा सहस्रधारा बोक्नेले त्यहीँबाट कछाड मात्र लगाई भजन टोलीका साथमा सहस्रधारा बोकेर पोखरा बजार घुम्ने गर्दथे। त्यो सहस्रधारा आजभोलिका युवाहरूले नदेखेको यो संस्कृति हेर्दैमा अनौठो र साहै्र कठिन देखिन्छ।

साँखुमा यो संस्कृति माघेनारायणको नामले मनाउने गरिन्छ भने पोखरामा माघ महिनामा निकालिने भएको हुनाले यसलाई “माघेयात्रा” र सहस्रप्वाल भएको घडाबाट जल चढाउने र थाप्ने भएको हुनाले “सहस्रधारा” भनिएको हो। भर्‍याङ जस्तै देखिने प्रत्येक खटमा माटो अथवा पित्तल र तामाको घडामा सहस्र प्वाल बनाइएको हुन्छ त्यो प्वालमा गहुँको डाँठ छिराएर त्यस डाँठबाट पानी निस्कने भएको हुनाले त्यसलाई सहस्रधारा भनिन्छ। अन्तमा पशुपतिको मन्दिरसहितको हरहर महादेव भोलेबाबाको मूर्ति राखि फूलमाला र अन्य र· विर·का कागज अथवा कपडाले सजाइएका वस्तु बोकेर ठूलो छाता ओढाएर ठूलो टोलिका साथ शिव, पार्वती, गणेश, सरस्वती माता, विन्ध्यवासिनी सम्बन्धी भजन समेत गाएर बजारका प्रत्येक मन्दिर मन्दिर परिक्रमा गर्ने गरिन्छ। आजकल त्यो निकै गाह्रो भएर एउटा माटोको घडा मात्र बोकेर जात्रा निकाल्ने गरिन्छ। प्रत्येक टोल टोलका मठ मन्दिरमा आइपुग्दा बजारमा वस्ने प्रत्येक घरबाट ठूलो भक्तिभावनाका साथ सहस्रधारा सहितको हरहर महादेवलाई एक गाग्री अथवा एक करुवा पानी चढाएर पूजा आजा गर्ने गरिन्छ।

यो जात्रा पौष शुल्क पूणिर्मा अर्थात् स्वस्थानी व्रतआरम्भको दिन देखि स्वस्थानी साङ्गेको दिनसम्म प्रत्येक दिन माथि उल्लेखित शङ्ख फुक्ने व्यक्ति सँगै गंगाजीमा जाने नुहाउने र भजन कीतन गर्दै नगरका मठ मन्दिरको परिक्रमा गर्ने चलन रहेको छ भने श्रीपञ्चमीको दिन, भीम एकादशी र स्वस्थानी साङ्गे पूणिर्मा गरी तीन पटक सहस्रधाराको जात्रा निकालिने परम्परा रहेको छ। पूणिर्माको भोलिपल्ट आरती धुपबाली सहस्रधारा लगिएको ठाउँहरूमा भएका मठ मन्दिरमा क्षमा याचनाको लागि दर्शनार्थ गएपछि अन्तमा नालामुखको शिव मन्दिरमा पुगेपछि विसर्जन गर्ने परम्परा रहेको छ।

यो संस्कृतिको मुख्य स्रोत स्वस्थानी कथा नै हो भने माघ माहात्यको पुस्तकमा माघे स्नान, दान र मोक्ष प्राप्ति सम्बन्धी वर्णन गरिएको पाइन्छ। माता ग·ाको महिमाहरूको वर्णन नै मुख्य रहेछ। यसैलाई मुख्य आधार बनाएर संस्कृतिको सुरुआत गरेको देखिन्छ। यो कथाका मुख्य पात्रहरू महादेव, पार्वती, गणेश, कुमार र अन्य देवी देवताहरूलाई सिँगारेर निकाल्ने गर्दछन्।

यो संस्कृति २६ कुरियाभित्र वसोवास गर्ने संस्कृतिमा चाख राख्ने उपत्यकाको तिनै शहरबाट बसाइ सराइ भएर आएका व्यक्तिहरूले पोखरामा निकाल्ने परम्परा बसाएका हुन्। उपत्यकाबाट पोखरा आई तेर्सापट्ट िबसोवास गरेका बैठकलाल श्रेष्ठलाई यो संस्कृति स्थापना गर्ने मध्येका प्रमुख भनेर धेरैको मुखबाट सुनिने गर्दछ भने वहाँलाई साथदिने मुख्यतया तेर्सापट्ट िनिवासी रत्नमान खर्दार र सुखराम वैद्यले सघाएका थिए भन्ने सुनिन्छ। उहाँहरूले १९८० या १९८२ सालदेखि प्रत्येक वर्षको स्वस्थानी कथा प्रारम्भदेखि समापनसम्म निकाल्ने गरेका रहेछन्। उहाँहरूको निधन पश्चात हामीहरूलाई थाहा हुँदा सम्म २०४३, २०४६, २०५०, २०६३, २०६५ र यसवर्ष २०६९ मा प्रस्तुत गरिंदैछ।

माघेयात्राका गीतहरूमा शिव पार्वती, विष्णु र गणेश भगवानको आराधनाका गीत गाउंदै बजार परिक्रमा गर्दै भक्ति भावनापूर्वक आनन्दपूर्वक मनाउँदै माघ महिनाको महत्वका साथ यो पर्व अथवा जात्रा मनाइन्छ। स्वस्थानी कथामा महादेवको शिरबाट पवित्र गंगा जल बगेको हुनाले ग·ामाइको दर्शन साथै भगवानको भक्ति आराधना गरी मनलाई सुखी र आनन्द बनाउनको लागि पनि गाएको देखिन्छ।

यो संस्कृतिको बारेमा विभिन्न धार्मिक ग्रन्थमा विभिन्न वर्णन गरिएको छ। बराह पुराण अनुसार – दैत्य र देवताहरूको महासँग्राम हुँदा दैत्यहरूले मर्त्यलोकलाई समुन्द्रको पिँधमा लगेर लुकाएको रहेछ। भगवान विष्णुले थाहा पाएर बराहको रुप धारण गरी समुन्द्रको पिंधबाट आफ्नो टाउकोमा राखी समुन्द्रबाट बाहिर ल्याई मर्त्यलोकको उद्धार गरेको चर्चा गरिएको छ भने महाभारतको बनपर्वमा भगिरथ राजाले महानदी ग·ाजीको तपस्या गरी स्र्वर्गदेखि गङ्गालाई अवतरण गरार्ई आफ्ना पितृहरूको उद्धार गरेको सविस्तार वर्णन गरिएको छ भने माघमहात्म्य पुस्तकमा पनि वैशाखमा होम र दान, कार्तिकमा तप र पूजा एवं महिनाहरूमा उत्तम महिना माघमा तप, होम र दान यी तीन कुरा गर्नु अति उत्तम मानिएको कुरा उल्लेख छ। यही माघ महिनामा मकर संक्रान्ति पनि पर्ने र सूर्य उत्तरायण पनि हुने गर्दछ। यही माघ महिनामा सरस्वती पूजाको दिन देखि बसन्त ऋतु पनि सुरु हुन्छ। यसैले यो माघ महिनामा विभिन्न तीथस्थलहरूमा गई नुहाउने, व्रत वस्ने परम्परा सदियौ वर्षदेखि चल्दै आइरहेको हामीहरूले देख्दै आइरहेका छौं।

माघ महात्म्यको ग्रन्थ अनुसार माघ महिना भरि सूर्य उदाउने वेलामा जस्ले नुहाउँछ उसको सारा पाप नाश हुन्छ भनेर वर्णन गरिएको छ भने माघ स्नानको महत्व बारेमा पार्वती र महादेवको विचमा भएको संवादनै माघ माहात्म्यको एउटा धर्मग्रन्थ हो। माघ महिनामा स्नान गरी गाइ, भूमि, तिल, वस्त्र, सुवर्णनर धनधान्य व्राम्हणलाई दान गरेमा यस लोकको सुख र परलोकमा मुक्ति पाइने पुन यस लोकमा जन्म मरणको भोग गर्नु पर्दैन भनेर पनि वर्णन गरिएको छ।

हाम्रा पितृ पुखाहरूले गरेका गुणहरू कहिल्यै विर्सदैनौं भन्ने एउटा ज्वलन्त प्रमाणको लागि काठमाण्डौ उपत्यकामा रहेको प्रत्येक ढुङ्गे धाराहरूको तल एउटा मूर्ति रहेको छ। त्यो मूर्तिमा दुइटा हात माथितिर उचालेको देखिन्छ। त्यो उचालेको मूर्ति भगिरथ राजाको रहेछ। यसले के देखाउँदछ भने भगिरथ राजाले भगिरथ प्रयत्न गरेर स्र्वर्गबाट गङ्गा नदी ल्याएको र त्यो गङ्गा नदीको जल मानव मात्रको लागि मुक्ति र प्राण संचारको रुपमा रहेको हुनाले यो कुरा नबिर्सनु भनेर ढुङ्गे धाराको मूर्तिमा राजा भगिरथको मूर्ति राखेको देखिन्छ।

तर आजकल व्यवहारमा घरघरमा धारा पुगेको छ घर-घरमा ट्वाइलेट वाथरुम बनेका छन्। मुख धुँदा धारा ह्वालाल्ल छोडेर मुख धुने गर्दछौ भने कतिपय व्यक्तिहरूले नुहाँउदा पनि पानीको सही सदुपयोग गरेको देखिँदैन। त्यसैले पोखरा जस्तो ठाउँमा पानीको दुरुपयोग नहुने हो भने पानी जताततै पुग्ने गरी खानेपानी संस्थानले पुर्‍याएको देखिन्छ। खानेपानी संस्थानले भगिरथ राजाले गंगामातालाई खुशि बनाएर ल्याएको पानीको दुरुपयोग नगर्न स्थानिय संघ संस्थासँग मिलेर घर घरमा सचेतना अभियान संचालन गर्न सकेमा केही हदसम्म पानीको दुःख भोगिरहेका केही व्यक्तिहरूको धाराबाट पानी सजिलै उपलव्ध हुन सक्ने थियो र जनताले राहत पाउथ्यो कि भन्ने सुझाव राख्न चाहन्छु। अझ कतिपय ठाउँमा बाटो बाटोमा पाइप फुट्दा समेत त्यही वरिपरिका व्यक्तिहरू हेरेर बसेका हुन्छन् तर संस्थानलाई खवर गर्नुपर्दछ भनेर महसुस गर्दैनन्। सार्वजनिक धाराहरूबाट पनि पानी दुरुपयोग भइरहेको छ भने कतिपय व्यक्तिहरूको घरमा मिटर नभएकाहरूले पानी बन्द नगरि त्यसै खुल्ला छोडेर पानीको दुरुपयोग गरिरहेको छ। कतिपय व्यक्तिहरूले पानीको सदुपयोग गरिसकेपछि बन्द गर्नुभन्दा त्यसै खुल्ला छोडिरहेका हुन्छन्। कतिपय व्यक्तिहरूले सानो तरकारी बारीमा पानी लगाउन घण्टौँसम्म त्यसै छोडिरहेका हुन्छन् भने २४ सै घण्टा धारा आउनेहरूले पनि त्यत्तिकै धारा खुल्ला राखेका हुन्छन्। यसैले पनि पोखरामा पानीको सदुपयोग भन्दा दुरुपयोग भइरहेको छ। यो हाहाकारको बेलामा दुरुपयोग गर्नेहरूलाई लाज लाग्नु पर्ने हो।

यसैले भगीरथ राजाले ल्याएको पानीको मूल्य अमूल्य छ, पानी हाम्रो मात्र होइन अर्काको लागि पनि अमूल्य छ भनेर सोचिदिनु हुन र दुरुपयोग भएकाहरूबाट रोक्न सकेमा धेरै राम्रो हुने थियो।

पानीको सही सदुपयोगबाट उपचार

हामीहरू धेरैले सुनेका छौ वाथरुममा नुहाउँदा नुहाउँदै मानिसको मृत्यु भएको छ। र हामीहरूले भन्दछौँ कि सावुनको फि“जले चिप्लेर लडेर ठोक्किएर मृत्यू भयो। के यो सत्य हो, होइन विलकुल असत्य हो। के हो त सत्य, म तपाईहरूलाई परम्परामा ऋषिमुनिहरूले खोलामा गएर कसरी नुहाउँथे त्यो बताउन चाहन्छु। ऋषिमुनिहरू खोलामा नुहाउन जाँदा केही पर आफ्नो घुँडा अथवा त्रि्रासम्म गहिरोमा पुगेपछि वल्ल थचक्क बस्थे, जिउ मिच्थे र बल्ल टाउकोमा दुर्इ हातले पानी राख्ने गर्दथे र साबुन जिउमा दलेर पुनः त्यसैगरी नुहाउने गर्दथे। यो तरिका एकदम सही रहेछ। हामीलाई थाहा हुँदा सम्म पनि बुढाहरू पनि यसैगरी खोलामा नुहाउने गरेको हामीले देखेका छौ। नुहाउने तरिका नै यो प्राकृतिक एवं वैज्ञानिक रहेछ। आजकल मानिसहरूको व्यस्तता यति छ कि भनेर साध्य नै छैन। २४ सै घण्टा व्यस्त र दगुरादगुर दिमागलाई आराम नै छैन। आजकलको आधुनिक घरमा सावर राख्नै पर्‍यो। सावर राखिएन भने त्यो घरको शोभा नै भएन। नुहाउन वाथरुममा पस्यो पहिलो पल्ट टाउको नै भिजाएर जिउ हुंदै खुट्टा वल्ल सफा गर्ने गर्दछौं। माथि वर्णन गरिए अनुसार ऋषिमुनिहरूको नुहाउने तरिका र आजकलको आधुनिक नुहाउने तरिका विलुकुल उल्टो। खतरा कहाँनेर रहेछ भने व्लड प्रेसर भएका व्यक्तिहरूले कहिले पनि टाउको शुरुमै भिजाएर नुहाउने नहुने रहेछ किनभने जिउभन्दा पनि टाउको विभिन्न कारणले गर्दा तातो नै हुने रहेछ। त्यसमा पनि शुरुमै टाउकोमा पानी पर्दा शरीरको तापक्रम असन्तुलन हुने रहेछ र रक्तसंचारमा गडबडी भई नशा फुटी मृत्यवरण हुँदोरहेछ। ऋृषिमुनिहरूले नुहाएजस्तै खुट्टादेखि जिउ भिजाए जस्तै वाथरुममा हामीहरूले नुहाउन बाल्टीमा पानी भर्ने मगले खुट्टा र जिउ भिजाइ सकेपछि बल्ल टाउकोमा पानी हाली नुहाउने परम्मपरा सबैले थाल्यौ भने पानीको केहीकदसम्म सदुपयोग हुनेथियो र वाथरुममा अकाल मृत्यु वरण हुने थिएन। धन्यवाद।

Related News

सम्बन्धित समाचार

hero news full width