पुनहरूको सूचीकृत एक सन्दर्भ

आदर्श समाज सम्वाददाता
असार ९, २०७०

नेपाल आदिवासी जनजातिमध्ये मुख्य रूपमा पुन जाति नेपालको धौलागिरि अञ्चलको म्याग्दी जिल्लामा बसोबास गर्दै आएको जाति हो। सामाजिक, राजनीतिक, आर्थिक, भाषिक, धार्मिक, शैक्षिक रूपमा शोषित एवं उत्पीडित भई आफ्नो विशुद्ध मौलिक पहिचान गुमाइसकेको पुन जातिको उत्थानको लागि कहीँकतैबाट पहल भएको पाइँदैन। पुन जाति अहिलेसम्म आदिवासी जनजातिमा सूचीकृत हुन सकिरहेको छैन। पुन जातिलाई मगरभित्र राखिँदै आए तापनि मौलिक भाषा, कुल, धर्म, थर, गोप, भेषभूषा, संस्कार इत्यादि फरक पहिचान भएको पुन जातिको गुम्न लागेको पहिचानसहितको अधिकार आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलको निम्न विशेषता तथा आधारको परिधिभित्र रही सूचीकृतको लागि स्वस्फूत महाधिवेशन, अधिवेशन सफलताका साथ पोखरा, काठमाडौंमा भव्यताका साथ गर्न सफल भयौं।

१.     हाल सूचीकृत भएका आदिवासी जनजातिमध्ये पनि कसैले आफ्नो जातिको मौलिक नाम राख्न चाहने।

२. अलग-अलग सूचीकृत भएकाले एउटै जातिमा सूचीकृत हुन चाहने।

३.     एकै जातिमा सूचीकृत भएकाले अलग-अलग सूचीकृत हुन चाहने।

४.     हालको सूचीमा यथावत रहन चाहने वा सूचीकृतबाट हट्न चाहने।

मूल मुद्दाः

१. एकै जातिका सूचीकृत भएकाले अलग-अलग सूचीकृत हुन चाहने।

२. हालको सूचीमा यथावत रहने।

उपरोक्त दुर्इ बुँदामा एकथरि आफ्नो अलग मौलिक पहिचानसहित सूचीकृत हुन चाहने, अर्काथरि हालको सूचीमा यथावत रहने चाहने। यी दुर्इ बुँदामा जुँगाको लडाइँ छ।

पुन समाज नेपालले उठाएको सुरु मुद्दा आफ्नो विशुद्ध मौलिक जातीय पहिचानालाई हामी आफैले संरक्षण र सर्म्बर्द्धन गर्नुपर्ने अति आवश्यक ठहर गरी नेपाल आदिवासी जनजातिमा सूचीकृत गर्ने निर्णयसहितको आवश्यक कागजात प्रस्तुत भइसकेको छ। तर हाल आएर यहाँ भ्रमको खेती गरी व्यक्तिगत स्वार्थतिर लागेर धेरै दुःख मेहनत गरी आर्ज्याका पहिचानलाई समाप्त पार्न खोजिरहेका छौं। यसमा पछाडि कुनै पार्टीविशेषताको भूमिका त छैन – गम्भीर प्रश्न छ। हामी भावी पुस्ताको छातिमा लात मारिरहेका छौं। हाम्रा पूर्वजहरूले पहिचान नराखिदिएकै कारण आजका पुस्तासम्मलाई धक्का परिरहेको छ। यो कुरालाई किन यति छिट्टै भुलिदियौं –

हामीले आफ्नो पहिचान नराखेकै कारण, आफ्नो पहिचान गुमाएकै कारण, अर्काको पठू लड भएर लुरुलुरु झोला बोकी हिँडिरहेछौं। अर्काको अधिनमा रहेर आफ्नो अस्तित्व, आफ्नो पहिचान कहिल्यै पनि प्राप्त गर्न सक्दैनौं। यसरी नै गुमाइरहनेछौं। अझै पनि नबुझी आफ्नो अस्तित्व नखोजी, आफ्नो पहिचान नखोजी बस्ने हो भने ‘पुन वीरताहरूले’ राखेका इतिहास गुमाउन पुग्ने छौं। यो ध्रुव सत्य छ। अहिले पनि ‘पुनहरूको’ अस्तित्व कहाँ छ – खोज्ने हो नेपाल राज्यमा पाउन सकिन्न। पाइन्छ भारत राज्य कि वृटिश राज्यमा। अझै पनि ‘पुन’ भन्नाले मात्र पनि ठूलो इज्जतका साथ सम्मान गर्दछन्। जसको कारण प्रथम विश्व युद्ध र दोस्रो युद्ध। आफ्नो ज्यानको बाजी लगाएर देशको इज्जतका लागि लडे।

आज यो इज्जत, यो वीरता, यो बहादुरी भेटाउन एकथरि लागिपरेका छन्। यस्ता दुश्कार्य कतैबाट पनि हुनुहुँदैन। यस्ता कार्य गर्नेप्रति पूर्वजको राखेका सपना माटोमा मिलाउन नखोजौं। पूर्वजले मात्र होइन कि भावी पुस्ताहरूले पनि श्राप दिनेछन्। धिक्कार्ने छन्।

रह्यो कुरा ‘पुन’ जातिलाई सूचीकृत गराउने। नारा यी नै थियो होइन र – अहिले के कुराको व्यापक प्रचार-प्रसार भइराखेको छ भने जाति होइन समुदाय। जाति र समुदायमा प्रष्ट रहनेछौं। यहाँ हामीले परिभाषा बुझ्न सकेनौं भने – मैले पनि बुझ्न नसकेको कुरा, जाति केलाई भन्दछन् समुदाय केलाई भन्दछन्। जाति भनेका एउटा जात विशेषलाई जनाउने होइन र ? यसमा मलाई ज्ञान नहुन पनि सक्छ। समुदाय भनेको विभिन्न जातजातिको समूहलाई, जमातलाई जनाउँदैन र ? ठूल-ठूला सभा जुलुसमा आदरणीय जनसमुदाय भनी सम्बोधन गरेको पाइन्छ। यसरी बुझौं जात र समुदाय फरक हुन आज हामी यही नबुझ्नाले यो अवस्था सिर्जना भएको छ।

हामी समुदायलाई जातिमा परिणत गरी सूचीकृत गर्न खोजिरहेछौं। के यो सम्भव होला। जब कि जातिलाई सूचीकृत भनिसकेको अवस्थालाई हामी समुदाय भनी सूचीकृत गर्न खोज्दैछौं। जातिलाई सूचीकृत गर्ने प्रावधान हो वा समुदायलाई तर पनि हाम्रो मागलाई अगाडि बढाउँदै, निरन्तरता दिँदै जानुपर्छ। ताकि दुर्इ-चार व्यक्तिले यो होइन, यो गर्नु हुँदैन भनी अवरोध खडा गर्न खोजे पनि यसलाई सामना गर्दै हाम्रो मिसन के हो, हाम्रो उद्देश्य के थियो, हामीलाई चाहेको के हो ? पछि नहटी अगाडि बढेमा अवश्य पनि ढिलो छिटो यसको प्रतिफल पाउनेछौं।

भावी पुस्ताहरूले पनि पूर्वजहरूले गरेका थालनीलाई निरन्तरता दिँदै अगाडि बढ्नेछन्। विचलनको अवस्था सिर्जना नगरी होस्टेमा हैसे गरी अगाडि बढौं। यो स्थितिलाई त्यसै छोड्यौं भने आजको केही वर्ष पनि ‘पुन’ भनेर खोजी हिँड्ने अवस्था आउनेछ। जनतामा भ्रमको अवस्था सिर्जना नगरौं, फुटको भवना सिर्जना नगरौं। एक जुट भएर अगाडि बढौं। भगवान भन्नुहुन्छ तँ आँट म पुर्‍याइदिन्छु। अवश्य पनि हाम्रो कुल देवता करपाके बाबाले सतबुद्धि दिउन्। वैचारिक भावनालाई एउटै गरी अगाडि बढौं। ‘जय करपाके बाबा’

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts