नेपाली कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास र क. पुष्पलालको भूमिका

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७०

नेपाली कम्युनिस्ट आन्दोलनको बारेमा चर्चा गर्दा क. पुष्पलालबाटै सुरु गर्नु पर्छ। नेपाली श्रमजीवी जनताको मुक्तिका लागि नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गर्ने, रणनीतिक लक्ष्य तय गर्ने, कार्यनीति र कार्यक्रम बनाउने, प्रचार-प्रसार गर्ने र जनतालाई सामन्ती र वैदेशिक शोषण-उत्पीडनको विरुद्धमा गोलबन्द गर्दै आन्दोलनको मार्गमा लाग्न बाटो देखाउने काम क. पुष्पलालले नै सुरु गर्नुभएको हो। अतः तिनै महान कम्युनिस्ट नेता क. पुष्पलालको … औँ स्मृति दिवसमा सर्वप्रथम म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।

माता लक्ष्मीमाया र पिता टीकाप्रसादका माहिँला छोरा क. पुष्पलालको जन्म वि.सं. १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा भएको थियो। कलिलै उमेरदेखि नै राजनीत्रि्रति झुकाव राख्ने पुष्पलाल १९९७ सालमा आफ्नै सहोदर दाजु सहिद गंगालाल श्रेष्ठलाई राणाशाहीले हत्या गरेपछि उनीहरूको कुदृष्टि क. पुष्पलालमा पनि पर्न सक्छ भन्ने ठानेर उहाँ कलकत्तातिर लाग्नुभयो र त्यहीँबाट सक्रिय राजनीतिक जीवन सुरु गर्नुभयो।

क. पुष्पलालले २००४ सालभन्दा पहिला काठमाडौँकै शान्ति निकुञ्ज विद्यालयमा पढाउनुभयो। त्यस समयमा उक्त विद्यालयलाई क्रान्तिकारीहरू उत्पादन गर्ने थलोको रूपमा बुझिन्थ्यो। त्यसपछि राजनीतिमा पूर्णकालीन भएर काम गर्ने क्रममा सुरुमा नेपाली राष्ट्रिय काङ्ग्रेसको केन्द्रीय सचिवालयको सचिव भएर काम गर्नुभयो। तर नेपाली राष्ट्रिय काङ्ग्रेसबाट आमूल परिवर्तनको सम्भावना नदेखेपछि क. पुष्पलाल त्यहाँ भएका बामपन्थी चरित्रका साथीहरू लिएर अलग हुनुभयो।

सन् १९४८ मा दार्जिलिङका रतनलाल ब्राÞमण, भारतीय कम्युनिस्ट नृपेन्द्र चक्रवर्तीलगायत थुप्रै भारतीय कम्युनिस्ट पार्टीमा नेताहरूसँग पुष्पलालले भेट गर्नुभयो र नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गर्ने तयारीमा लाग्नुभयो। यही अवधिमा उहाँले मार्क्सवादी दर्शनको गहिरो अध्ययन गर्नुभयो। कम्युनिस्ट पार्टीको घोषणापत्रलाई २००५ सालमा सर्वप्रथम नेपालीमा उल्था गरी प्रकाशन गराउनुभयो।

सन् १९४९ अप्रिल २२ तारीख तदनुसार २००६ साल वैशाख १० गतेका दिन नेपाल कम्युनिस्ट पार्टीस·ठक समितिको नामबाट क. पुष्पलालले पर्चा नं. १ (क) आफ्नो हस्तलिखित दस्तावेज प्रकाशमा ल्याउनुभयो। यस दस्तावेजले नेपाली जनताका बीचमा पहिलो पटक राणाशाही हुकुमी शासनका विरुद्ध सम्झौताविहीन सङ्र्घर्ष चलाउने, देशीय सामन्तवादलाई चकनाचुर पार्ने, विदेशी एकाधिकार पूँजीवाद तथा साम्राज्यवादबाट देशलाई मुक्त पार्ने, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसित एकता कायम गर्ने र नेपालमा नयाँ जनवादी गणतन्त्रात्मक राज्यव्यवस्था स्थापना गर्ने घोषणा गरिएको थियो। यसै दिनलाई नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवस मानिएको छ।

पछि १५ सेप्टेम्बर १९४९ (२००६ साल भदौ ३० गते) मा पार्टीको पहिलो भेला सम्पन्न भयो। यो भेलाले क. पुष्पलालद्वारा प्रस्तावित नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्रलाई पारित गर्‍यो र यसै भेलाबाट क. पुष्पलाल विधिवत महामन्त्रीमा छानिनुभयो।

नेपालमा राणाशाहीको जगजगी भएका कारण पार्टीको स्थापना भारतको कलकत्तामा भएको थियो। स्थापनाको समयमा पार्टीमा संस्थापक नेताहरूमध्ये क. पुष्पलाल, क. नरबहादुर कर्माचार्य, क. नारायणविलाश जोशी र निरञ्जनगोविन्द वैद्यको उपस्थिति थियो। मोतीदेवी भने पार्टीकै कामविशेषले उपस्थित हुन सक्नुभएको थिएन। यही प्रथम बैठकले पर्चा नं. १ -क) तयारी गरेको थियो। यसरी नेकपाका संस्थापक ५ जना र स्थापना दिवस २२ अप्रिल १९४९ -२००६ वैशाख १०) लाई मानिएको छ।

२००७ सालको राणाशाहीको विरुद्धमा भएको आन्दोलनमा क. पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी सक्रिय भूमिका निर्वाह गरेको थियो। दिल्ली सम्झौतापछि मोहन शमशेर नै प्रथम प्रधानमन्त्री बन्ने कुराको क. पुष्पलालले तीव्र विरोध गर्नुभयो।

नेपाल कम्युनिस्ट पार्टीअस्तित्वमा आउनासाथ भारतीय कम्युनिस्ट पार्टी मान्यता प्रदान गर्‍यो। थोरै समयपछि नै सोभियत सङ्घ र चीनबाट मान्यता प्राप्त भयो। त्यसपछि एसियाली र युरोपेली देशहरूका कम्युनिस्ट पार्टीहरूबाट मान्यता प्राप्त भयो। त्यति थोरै अवधिमा त्यति धेरै कम्युनिस्ट पार्टीहरूबाट मान्यता र सर्मर्थन प्राप्त भई सम्बन्ध स्थापित हुनुमा क. पुष्पलालकै सुझबुझ र सक्रियताले काम गरेको थियो।

२००८ सालमा क. पुष्पलालकै सक्रियतामा झन्डै भूमिगत शैलीमै ४५ जना प्रतिनिधिहरूको सहभागितामा कलकत्तामा प्रथम सम्मेलन सम्पन्न भयो। यस सम्मेलनले पनि क. पुष्पलाललाई नै महामन्त्रीमा चयन गरेको थियो। तर पछि पोलिट्ब्यूरोको बैठकले क. मनमोहनलाई महासचिव बनायो। यस घटनाबाट पुष्पलालमाथि अन्याय त भएको थियो तर पनि उहाँले कहिल्यै गुनासो गर्नु भएको पाइएन।

२००९ सालमा आन्दोलनलाई सशक्त पार्ने गरी संयुक्त मोर्चा गठन गर्न भूमिगत रूपमै पुष्पलाल नेपाल आउनुभयो। त्यसैबेला उहाँले क. साहना प्रधानसँग विवाहको प्रस्ताव राख्नुभयो। राजनीतिक व्यक्तिसँग विवाह गर्दा छोरीले दुःख पाउँछे भन्ने कुरा कमरेड सहानाका बुबाआमाले उठाउनुभएको थियो। उता साहना प्रधान पनि त्यसबेलासम्म राजनीतिमा सक्रिय भइसकेका कारण पार्टीको पहलमा उहाँहरूको विवाहको निधो भयो र २०१० साल माघमा पार्टीपद्धतिअनुसार उहाँहरूको विवाह सम्पन्न भयो। विवाहपछि २०१६ सालतिर ७/८ महिनाजति मात्रै सँगै बसेको र अरू समय भने उहाँहरूको बीच-बीचमा कहिलेकहीँ मात्र भेट हुने क्रम जीवनभरि नै चलिरह्यो। दाम्पत्य जीवनमा कुल मिलाएर मुस्िकलले ५ वर्षजति मात्रै सँगै बसेको अनुभव क. सहाना प्रधानले व्यक्त गर्नुभएको छ।

२०१० सालमा पार्टीको प्रथम महाधिवेशन भूमिगत रूपमै पाटन र काठमाडौँमा गरी सम्पन्न भयो। यस अधिवेशनले मूल रूपमा पुष्पलालकै लाइनबमोजिम स्थापना कालको रणनीतिक लक्ष्य नयाँ जनवादी क्रान्तिको बाटोलाई निरन्तरता दिने र कार्यक्रमिक रूपमा भने संविधानसभाको माग अघि सार्‍यो ; प्रजातान्त्रिक अधिकार बहालीको माग गर्‍यो ; दिल्ली सम्झौताको विरोध गर्‍यो। संसद् सार्वभौम हुनपर्छ, राज्यको प्रमुखलाई कुनै विशेष अधिकार हुनु हुँदैन भनेर पास गर्‍यो। महाधिवेशनबाट क. मनमोहनलाई पुनः महासचिवमा र पुष्पलाल, शम्भुराम श्रेष्ठ, डी.पी. अधिकारी र शैलेन्द्रकुमार उपाध्याय रहेको ५ सदस्यीय पोलिट्ब्यूरोको चयन गरियो।

२०१३ सालमा चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीनको आठौँ राष्ट्रिय सम्मेलनमा भाग लिन महासचिव मनमोहनको नेतृत्वमा ३ सदस्यीय टोली चीन गयो। यो टोलीमा क. पुष्पलाललाई सहभागी नगराएर अन्याय गरिएको पाइन्छ। महासचिव चीन जाने भएपछि पार्टीपोलिट्ब्यूरोमा समेत नभएका डा. केशरजंग रायमाझीलाई उनकै इच्छाबमोजिम सहायक महासचिव बनाइयो। यो निर्णय नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा अत्यन्तै हानिकारक र दूरगामी रहन पुग्यो। पछि डा. रायमाझीलाई का.वा. महासचिव बनाइयो। प्रथम महाधिवेशनले पारीत गरेको कार्यक्रम तथा कार्यनीतिबारे पार्टीमा विवाद सुरु भयो र २०१२ सालमा नेकपाको दोस्रो सम्मेलन सम्पन्न गरियो। यसमा पार्टीमा कतिपय पूर्वधारणाहरूको पुष्पलालको असहमती रहँदारहँदै पनि आलोचना गरियो।

नेपाल कम्युनिस्ट पार्टीप्रतिबन्धित भएकाले कमरेड मनमोहनले राजसंस्थालाई मान्ने र शान्तिपूर्ण बाटोबाट अघि बढ्ने भनी दरबारमा लेखेर पठाउनुभयो। पार्टीमाथिको प्रतिबन्ध पनि हट्यो। तर क. पुष्पलाल सङ्र्घर्षबाटै पार्टीमाथिको प्रतिबन्ध हटाउन बाध्य पार्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो।

टङ्कप्रसाद आचार्य प्रधानमन्त्री भएको समयमा पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरिएको थियो। यसै बेलादेखि दरबारप्रति पार्टीको रुझान नरम पारियो। यसखाले सुधारवादी दृष्टिकोणको नेतृत्व का.वा. महासचिव डा. रायमाझीले गरे जसको तीब्र आलोचना गर्दै पार्टीभत्र क्रान्तिकारी दृष्टिकोणको नेतृत्व क. पुष्पलालले गरिरहनुभयो। पार्टीरायमाझीको नेतृत्वमा रहुञ्जेल कुनै ठोस् कार्यक्रम अघि सारिएन। र, यस प्रवृत्तिका विरुद्ध पनि पुष्पलालले निरन्तर सङ्र्घर्ष गरिरहनुभयो।

२०१४ साल जेठमा काठमाडौँमा पहिलो पटक खुल्ला रूपमा दोस्रो महाधिवेशन सम्पन्न भयो। महासचिव क. मनमोहन उपचारको क्रममा चीनमा लामो समयसम्म बस्नुपरेकाले का.वा. महासचिव भई डा. रायमाझीको नेतृत्वमा दोस्रो महाधिवेशन सम्पन्न भएको थियो। उक्त महाधिवेशनमा क. पुष्पलाल अल्पमतमा पर्नुभयो। पुष्पलाल प्रथम महाधिवेशनले लिएको बाटोबाटै अगाडि बढ्ने पक्षमा हुनुहुन्थ्यो। तर का.वा. महासचिव रायमाझी पक्ष हावी भएपछि पार्टीसंशोधनवादको दलदलमा फँस्यो भने नेतृत्वका लागि भएको तीव्र विवादपछि डा. रायमाझीले नेतृत्व पुनः हत्याउन सफल भए। पार्टीमा सैद्धान्तिक रूपमा विचलन आएको भनी कैयौँ जिल्लाहरूले केन्द्रसँगको सर्म्पर्क विच्छेद गरे। उता पुष्पलाल अल्पमतमा परेर पनि पार्टीकेन्द्रमा बसी जिल्ला र केन्द्रसँगको सम्बन्ध विच्छेद गरेका जिल्ला र केन्द्रको सर्म्पर्क जोड्ने क्रममा सक्रिय रहनुभयो। २०१५ सालको आमनिर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गर्ने र निर्वाचनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने काम गर्नुभयो। उक्त निर्वाचनमा पार्टी कुल १०९ स्थानमध्ये ४८ स्थानमा आफ्नो उम्मेद्वारी खडा गरी ४ स्थानमा विजय हासिल गर्न सफल भएको थियो।

भारतसँगको सन् १९५० को सन्धि र उत्तरी चेकपोष्टमा भारतीय सेना रहेको बारेमा क. पुष्पलालले तीव्र आलोचना गर्नुभयो।

२०१७ साल पुस १ गते राजा महेन्द्रले संसद् विघटन गरी राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाए। नेपाल कम्युनिस्ट पार्टीपनि स्वाभाविक रूपमा प्रतिबन्धित भयो। केही नेताहरू गिरप्तारीमा परे। तत्कालीन अवस्थामा रुसमा रहेका पार्टीमा महासचिव डा. रायमाझीले पुस १ गतेको कदमलाई स्वागत गरे र प्रगतिशील कदमको रूपमा टिप्पणी गरे। तर क. पुष्पलालले उक्त कदमको कटु आलोचना गर्दै विघटित संसद्को पुनस्र्थापनाको माग गर्नुभयो। क. पुष्पलाल संसद्को पुनस्र्थापनाका लागि नेपाली काङ्ग्रेससँग संयुक्त मोर्चा बनाएर आन्दोलन गर्नु पर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो। तर यस्तो मान्यतालाई न काङ्ग्रेसले बुझन सक्यो न आफ्नै पार्टी सकार गर्‍यो। परिणामतः काङ्ग्रेस र कम्युनिस्टलाई विभाजित गरेर दरबारले ३० वर्षसम्म निरड्ढुश तानाशाही पञ्चायती व्यवस्था जनतामा लाद्न सफल भयो। जब कमरेड पुष्पलालले लिएको राजनीतिक लाइनअनुरूप नेपाली काङ्ग्रेस र कम्युनिस्टहरूका बीच संयुक्त मोर्चा बनी आन्दोलन सम्पन्न भयो तब पञ्चायत धरासायी भयो।

२०१७ सालको राजाको फौजी काण्डपछि फागुनमा भारतको दरभंगामा नेकपाको केन्द्रीय समितिको विस्तारित बैठक बस्यो। त्यो बैठकमा अब के गर्ने भन्ने विषयमा तीब्र विवाद भयो र बैठक एक महिनासम्म लम्बियो। त्यस बैठकमा क. पुष्पलालले विघटित संसद्को पुनस्र्थापना, नेपाली काङ्ग्रेससँगको संयुक्त मोर्चाको वकालत गर्नुभएको थियो। सो बैठकमा उहाँ अल्पमतमा मात्र पर्नु भएन कि बैठकले कुनै ठोस् कार्यक्रम नै तय गर्न सकेन। दरभंगा बैठकको समयमा क. मनमोहन चीनबाट र्फकनुभएको भए पनि उक्त समयमा उहाँ जेल परिसक्नुभएकाले दरभंगा बैठक -प्लेनम) मा उपस्थित हुन सक्नुभएन। उता रायमाझी पक्षधरहरूले दरबारलाई सजिलो हुने गरी मात्र आफ्ना गतिविधिहरू सञ्चालन गरिरहे। नेतृत्वको यस प्रकारको दरबारपरस्त नीतिको तीब्र विरोध गर्दै क. पुष्पलालसमेतको पहलमा तेस्रो महाधिवेशनको तयारी भयो। वि.सं. २०१९ साल वैशाखमा तेस्रो महाधिवेशन सम्पन्न भई क. तुलसीलाल अमात्य महासचिवमा छानिनुभयो। तेस्रो महाधिवेशनले नयाँ जनवादी कार्यक्रमकोसट्टा राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम अघि सार्‍यो। यस कार्यक्रममा पुष्पलालको असहमती रह्यो। तेस्रो महाधिवेशन पनि विवादरहित बन्न सकेन। रायमाझी पक्षधरहरूले उक्त महाधिवेशन भाँड्न निकै प्रयत्न गरेका थिए। तेस्रो महाधिवेशन पार्टीकेन्द्रले आयोजना गरेको नभई तलबाट माग गरेको आधारमा सम्पन्न भएको थियो। यस महाधिवेशनमा आवश्यक पर्ने ५१ प्रतिशतभन्दा बढी जिल्लाका प्रतिनिधिहरूको उपस्थिति भए पनि दोस्रो महाधिवेशनले छानेका थोरै नेताहरूको मात्र उपस्थिति थियो।

तेस्रो महाधिवशेनपछि क. पुष्पलाल र तत्कालीन महासचिव तुलसीलाल अमात्यका बीचमा सैद्धान्तिक मतभेद भयो र वि.सं. २०२४ साल भदौमा पुष्पलाल समूहबाट नेपाल कम्युनिस्ट पार्टीको पुनःसंयोजन गर्न एक कन्भेन्सनको आयोजना गरियो। त्यस कन्भेन्सनले राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमको सट्टा पुष्पलालको नयाँ जनवादी राजनीतिक लाइनलाई सही ठहर्‍यायो। यही समूहले वि.सं. २०२५ साल जेठमा भारतको गोरखपुरमा कम्युनिस्ट पार्टीको तेस्रो सम्मेलन गरी बेग्लै पार्टीस्थापनाको घोषणा गर्‍यो र क. पुष्पलाललाई महामन्त्रीमा चयन गरियो।

तेस्रो सम्मेलनले पुष्पलालले प्रस्तुत गर्नुभएको नयाँ जनवादी कार्यक्रम पास गर्‍यो जसमा जनवादी गणतन्त्र स्थापना गर्ने लक्ष्य रहेको छ। २०२९ असोजमा त्यस समूहले चौथो सम्मेलन गर्‍यो। त्यस अवधिमा उक्त समूहको पार्टीस·ठन नेपालका १० अञ्चल, ४२ जिल्ला र प्रवासका १० औँ  ठाउँमा फैलँदै गएको र लुम्बिनी अञ्चलमा मात्र किसान स·ठनका ३० हजार सदस्य पुगेका थिए भन्ने भनाइ रहेको छ। यद्यपि यो उत्साहले लामो समयसम्म निरन्तरता पाउन सकेन।

मध्यम वर्गीय परिवारमा जन्मनु भएका क. पुष्पलालले कक्षा १० सम्मको मात्र औपचारिक शिक्षा लिनुभएको भए पनि स्वाध्ययनबाट नेपाली भाषाका अतिरिक्त हिन्दी र अङ्ग्रेजी भाषामा राम्रो दखल राख्नुभयो। मार्क्सवादी दर्शन, अर्थशास्त्र, इतिहास, भूगोल, समाजशास्त्रको गहिरो अध्ययन गर्नुभएका क. पुष्पलालले ‘नेपालको मातृसत्तात्मक समाज’, ‘नेपालको नाम किन नेपाल रह्यो -’, ‘नेपाली जनआन्दोलनको एक समीक्षा’, ‘नेपाली क्रान्तिको मूल बाटो’, ‘नेपाली कम्युनिस्ट पार्टीको १८ वर्षको क्रान्तिकारी सिंहावलोकन एवं समीक्षा’, ‘नयाँ जनवादी कार्यक्रम’ लगायत थुप्रै रचना प्रकाशित गर्नुभयो।

उहाँको जीवन आर्थिक रूपमा अभावैअभावमा बित्यो। सातुका डल्ला र चना उसिनेर कयौँ छाक टार्नुभएका क. पुष्पलालले निजी धनलाई कहिल्यै महत्त्व दिनुभएन। उच्च विचार र सादा जीवन शैलीका धनी अत्यन्त मिलनसार, मिहिनेती क. पुष्पलालले राजनीतिक कामकै सिलसिलामा १८ वर्षको निर्वासित जीवन बिताउनुभएको थियो। क. पुष्पलालमा उच्च राजनीतिक संस्कार भएको कुरा उहाँका समकालीन प्रायः सबै नेताहरू स्वीकार्नु हुन्छ। राजनीतिक र सैद्धान्तिक रूपमा जतिसुकै तितो विवाद भए पनि व्यक्तिगत रूपमा सबैप्रति सद्भाव र उच्च सम्मान गर्ने शैली उहाँमा थियो। उहाँ वर्गीय आन्दोलनका विषयमा कहिल्यै चुक्नुभएन। अरूले बनाएको बाटो हिँड्न सजिलो हुन्छ तर आफैँले बाटो बनाउने र लाखौँलाख मानिसलाई युगयुगसम्म त्यही बाटोमा हिँडाउन सक्ने युगपुरुष हुनुहुन्थ्यो क. पुष्पलाल।

उहाँ मुटुको विमारले पटक-पटक थलिनुभएको थियो। आर्थिक अभावमा राम्रो उपचार हुन सकेको थिएन। पार्टीकामकै सिलसिलामा भारतको दरभंगामा गएको बेला उहाँलाई मुटुको विमारले चाप्यो। त्यहाँबाट दिल्ली लगी उहाँलाई अस्पताल भर्ना गरियो। झन्डै १ महिनापछि वि.सं. २०३५ साल साउन ७ गते ५४ वर्षको अल्पायुमै उहाँको दुखद् निधन भयो।

यसरी एउटा कम्युनिस्ट आन्दोलनका शिखर पुरुष नेपाली श्रमजीवी जनताका महान नेता नेकपाका संस्थापक महासचिव क. पुष्पलालको भौतिक उपस्थिति हामीबाट सदासदाका लागि बिदा भयो। जीवनको अन्तिम घडीसम्म पनि उहाँ नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने, कसरी सामन्तवादी शोषण र उत्पीडको जालोबाट नेपाली जनतालाई मुक्त पार्ने र वैदेशिक हस्तक्षेपबाट मुक्त नयाँ नेपालको निर्माण गर्ने भनेर चिन्तित हुनुहुन्थ्यो। राजाको नेतृत्वमा रहेको निरड्ढुश पञ्चायती तानाशाहीले देशलाई यति धेरै माया गर्ने क. पुष्पलालको पार्थिव शरीरसमेत नेपाल ल्याउने अनुमति दिएन। र, उहाँको अस्तु मात्र ल्याएर काठमाडौँमा लाखौँ श्रद्धालु जनताको उपस्थितिमा विर्सजन गरियो।

क. पुष्पलालको दृष्टिमा :

१.     राजनीतिक दरिद्रता-व्यक्तिवाद हो।

२.     वैज्ञानिक चिन्तनको दरिद्रता -पछौटेपन हो।

३.     विश्लेषणको दरिद्रता -भरौटेपन हो।

४.     ज्ञानको दरिद्रता-कुरौटेपन हो।

५.     नेतृत्व गर्नसक्ने क्षमताको दरिद्रता-अरौटेपन हो।

६.     सैद्धान्तिक दरिद्रता-व्यक्तिगत आक्षेप, प्रत्याक्षेप हो।

सर्न्दर्भ सामग्री :

१.     पौरख मासिक पत्रिका  वर्ष १७ अंक २ -पुष्पलाल स्मृति अंक)

२.     नेपालमा साम्यवादी आन्दोलन : उद्भव र विकास – क. भीम रावल

३.     क. पुष्पलालका छानिएका रचनाहरू भाग १

४.     विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखहरू।

Related News

सम्बन्धित समाचार

hero news full width