धार्मिक आस्था र आचरण

उपप्रा. रामप्रसाद सुवेदी
माघ २३, २०८०

व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण वा मूल वृत्ति, प्रवृत्ति वा स्वभावलार्ई धर्म भनिन्छ । यसलाई स्वर्ग प्राप्त गर्ने लोकविश्वासका रूपमा पनि लिइएको हुन्छ । त्यस्तै शास्त्रविरुद्ध नभएको र आफ्नो मनले यसो गर्छु भनी निधो गरिएको कर्मलाई धर्म भनिन्छ । यसरी धर्मलाई नेपाली र संस्कृत शब्दकोशले परिभाषित गरेको छ । धर्म व्यक्तिमा रहेको विश्वास हो । यो स्वाभाविक क्रियाकलाप वा आचरणमा पर्दछ । धर्म कसैको करकापमा अँगालिने वा अपनाइने कार्य नभएर व्यक्तिले परम्परादेखि अपनाउँदै आएको विश्वास मानिन्छ । व्यक्तिले कुनै धर्म मान्ने वा नमान्ने करकापमा नभएर उसको इच्छा चाहना तथा स्वभावमा भर पर्दछ । नेपाल एउटा बहुधर्म मान्ने मुलुक भएकाले यहाँ धेरै किसिमका धर्म मान्ने सम्प्रदायहरू बसोबास गर्ने मुलुकमा परेको छ । अहिले यहाँ जम्मा १० धर्म, १ सय ४२ जातजाति र १ सय २४ मातृभाषा रहेको विभिन्न तथ्यांकले देखाएको छ ।

अहिले नेपालमा विशेषतः हिन्दु, बौद्व, क्रिश्चियन र मुसलमान धर्म बढी चर्चामा रहेका छन् यी धर्मभन्दा अरुको त्यति चर्चा भएको पाइँदैन । यी तीन किसिमका धर्ममा हिन्दु धर्म सनातन तथा पुरानो त्यसपछि बौद्व धर्म र अरु क्रिश्चियन तथा मुस्लिम धर्म तुलनात्मकरुपमा नयाँ धर्म हुन् । बौद्व धर्मको इतिहास आजभन्दा २५सय वर्ष पुरानो हिसाब गर्दा इसाको ५ सय वर्ष पुरानो हो भने हिन्दु धर्मको निश्चित अवधि स्पष्ट नभए पनि त्योभन्दा धेरै नै पुरानो मानिएको छ । तर क्रिश्चियन धर्म इसाको सुरु र मुस्लिम धर्म सन् ६२२ मा मात्र सुरु भएको मानिन्छ । नेपालमा यीबाहेक पूर्वमा किरात धर्मको पनि उत्तिकै चर्चा वा प्रचलन रहेको छ । किराँत धर्मलाई पनि पुरानो धर्मका रूपमा लिएको छ किनकि महाभारतको युद्धमा किराँतीहरू पाण्डवको पक्षमा लडेको इतिहास पाइन्छ ।

नेपालमा अरु धर्मको तुलनामा हिन्दु र बौद्व धर्ममार्गीबीच सहिष्णुता पाइन्छ । यसको उदाहरण कतिपय हिन्दु र बौद्धका दर्शनस्थल साझा छन् । बुढानीलकण्ठ, स्वयम्भु, मुक्तिनाथ र कैलाशलाई दुवैमार्गीले साझा धार्मिकस्थलका रूपमा लिएका छन् । फेरि कहीँकहीँ नित्य कर्म तथा जीवन संस्कार अपनाउने क्रममा पनि यी दुई धर्मावलम्बीहरूबीच संस्कार र संस्कृतिमा अन्तरघुलन देखिएको छ । कतिपय बौद्धमार्गीले दसैं, तिहारलगायत चाडपर्व र विवाहवारी जस्ता कार्यमा हिन्दुका संस्कार अपनाएको पाइएको छ भने अरु धर्मावलम्बीले भने हिन्दु धर्मसँग पानी बाराबारको अवस्था र एक आपसमा धार्मिक असहिष्णुताको अवस्था पाइएको र धर्मका कारणले कलझगडाको वातावरण पनि सिर्जना भएको देखिन्छ ।

पुरानो तथा सनातन हिन्दुधर्मलाई अरु धर्मले प्रतिस्पर्धी मानेर चुनौती दिन खोज्नु बाटामा डिङ्गो हिँडेको ईष्र्या गरेर झिङ्गाले भुनभुनाउनु जस्तै हो । अहिले सनातन हिन्दु धर्मावलम्बीहरू जो दलित नाम दिएर किनारा लगाइएका उनीहरूको धर्म परिवर्तन गर्ने संख्या बढी देखिएको छ । जसले धर्म परिवर्तन गरेर अर्काे धर्ममा लागेका छन्, उनीहरूले नै हिन्दु धर्मबारे बिषवमन गरेको पाइन्छ । फेरि हिन्दु धर्म मान्ने जो उच्च जातिका छन्, उनीहरूले नै जबर्जस्ती धर्म परिवर्तनमा बाध्य पारेको पनि देखिएको छ । हिन्दु संस्कारमा अझै पनि जातीय, लिंगीय विभेद छ । धार्मिक स्थलहरूमा अझै तल्ला जात भनेर किनारा लगाएकालाई पस्न बञ्चित गरिएको छ । कतिपय ठाउँमा तल्लो र माथिल्लो जातका व्यक्तिहरूले पानी भर्ने पँधेरो, धारोसमेत छुट्टाइएको छ । राज्यको सुविधा उपयोग गर्ने माथिल्लो जातका भनेका नै बढी देखिएको छ । माथिल्लो हिन्दुले तल्लो जातको केटी वा केटा विवाह स्वीकार्दैन । भर्खरै बारामा दलितसँग विवाह गरेको आरोपमा बाउले नै १५ वर्षीया छोरीको हत्या गरे । रुकुमको घटना पनि अर्काे उदाहरणका रूपमा लिन सकिन्छ । जातीय विभेद स्वयं दलितहरूबीच पनि रहेको छ । पर्वतमा विकको भान्सा छोएको आरोपमा परियारलाई कुटीकुटी मारिएको थियो । यसैले जातीय विभेदको जालो नेपालमा छताछुल्ल रहेको छ ।

नेपालमा अरु धर्मको तुलनामा हिन्दु र बौद्व धर्ममार्गीबीच सहिष्णुता पाइन्छ

अझै पनि केही धार्मिक संघसंस्थामा गर्वका साथ जातीय र लिंगीय विभेद गरेका छन् । मैले सानो अनुसन्धानको क्रममा केही ठाउँमा जाँदा त्यस्तो अनुभूति गरेको थिए । परम्परादेखि चलेको प्रचलन नै यथावत् राख्ने कुरा उनीहरूले निर्धक्कासाथ भनेको पनि पाइयो । अनि एउटा हिन्दुले अर्काे हिन्दुलाई किरानामा पारेर बञ्चन गरेपछि सुविधाको उपयोग गर्न नपाउनेले सहाराका रूपमा धर्म परिवर्तनको आश्रय लिएर गएको छ र जो गएको छ उसैले नै आफ्नो सनातन हिन्दु धर्मलाई प्रहार गरेको देखिएको छ । हिन्दु धर्मले मनुस्मृतिको वर्णाश्रमलाई जीवनयापनको मार्ग अपनाएको देखिन्छ । मनुस्मृतिअनुसार सुद्रलाई ब्रह्मको खुट्टाबाट जन्मिएका र उनीहरू उच्च जातका सेवकका रूपमा परिभाषित गरेर दिएको खाने तथा सम्पत्तिको कुनै अधिकार नभएका भनेर परिभाषित ग¥यो । यो प्रथा नेपाल र भारतमा प्रचलनमा देखिन्छ । भारतको तामिलनाडुमा चलेको अन्ना डिएमके पार्टी यही मनुस्मृतिविरुद्वमा जन्मेको मानिन्छ । भारतमा पनि नेपालमा जस्तै दलितहरूलाई अति नै किनारामा पारिएको छ, त्यसको मुख्य उपज पनि मनुस्मृतिको ग्रन्थलाई नै मानिन्छ । भीमराव अम्बेडेकर जो भारतीय संविधानको लेखक तथा परिकल्पनकार थिए उनी जातीयताका विरोध गर्ने सामाजिक तथा मानववादी अभियन्ता थिए ।

धर्म व्यक्तिले अपनाउने आस्था तथा उसको आचरण अनुसारको कार्य हो । धर्मले ठूलो र सानो भनेर विभेद गर्ने मान्यता राख्दैन । जब मानव जीवनको सुरु भयो, सामन्तवादी युगमा सामन्तहरूले आफूलाई अरुभन्दा ठूलो देखाउन धर्मको सहारा लिएर कमजोर व्यक्तिलाई किनारामा पार्नका लागि यसको प्रयोग गर्न थाले र शास्त्रमा उल्लेख गरिएका कुराको अपव्याख्या गरेर केहीलाई बञ्चनमा पारे । यो कालान्तरमा झन् बढ्दै जान थाल्यो । धर्मको सहारामा नै पुरेत्याइँ, पण्डित्याइँ प्रचलनले झन् यो कार्यलाई प्रश्रय दियो । आफू सही आचरणमा नबसी अरुलाई आदर्शको शिक्षा दिएर होच्याउने र जातीय विभेदको संस्थागत विकास गर्नमा पुरेत्याइँ प्रथा सफल भयो । नेपालमा पूर्वमा कम भए पनि सभ्यता र शिक्षाको कमीले पश्चिममा अझै पनि धर्मको आडमा भएका जातीय र लिंगीय विभेद अत्यधिक रहेको पाइन्छ । यही विभेदले गर्दा समाजमा द्वन्द्व र मारकाटजस्ता घटना अत्यधिक देखिन्छन् ।

अहिले धार्मिक सहिष्णुता कि हिन्दु राष्ट्रको घोषणाको बहस चलिरहेको छ । यो कुनै ठुलो कुरा हैन । यति धेरै हिन्दु भएको देशमा यो धर्मले नचाहँदा नचाहँदै केही परम्परावादीका कारणले यसमा रहेको विभदकारी प्रचनलाई हटाउने हो भने यो जति उदार धर्म अरू छैन । तर हिन्दु धर्मका पुरातनवादी ऐजेरुले आफूलाई अरुभन्दा उत्तम सावित गर्नका लागि मञ्चमा जातीय विभेद र मुलुकी ऐनको कुरा गर्दछन् तर जब दलित उनको घरमा जान्छ उसलाई घरभित्र पस्न नदिएर बाहिर बसालेर खुवाउने र उसले खाएको भाँडा माझ्न लगाएर र छिटो हालेर भित्र लाने प्रचलन अझै रहेको छ । कोही उच्च जातको हिन्दुले आफ्नी छोरी वा छोरा तल्लो जातसँग विवाह गर्न चाहँदैन । भारतको दार्जलिङ, मिजोरम जस्ता नेपाली बसोबास गर्ने सहरमा यो प्रचलन हटेर गएको छ । त्यहाँ केटा र केटीको मन मिलेमा कुनै छेकबार देखिँदैन । नेपालमा अन्तरजातीय विवाह आत्महत्या, घरेलु हिंसाको कारण बनेको छ । यो प्रचलन पहाडी क्षेत्रमा भन्दा तराईमा अझ बढी रहेको छ । यसकारण हिन्दु धर्मले जातीय, लिंगीय तथा वर्णको विभेद हटाउनुपर्दछ । कोही बौद्वमार्गी तथा क्रिश्चियन धर्म मान्नेले धर्म परिवर्तन गरेको सुनिँदैन, केवल हिन्दु धर्म मान्नेलेमात्र धर्म परिवर्तन गरेर अर्काे धर्म अपनाउने गर्छन् अनि हिन्दु धर्ममा प्रहार गर्ने गरेको पाइन्छ । यसको कारण केही नभएर हिन्दु धर्मको विभेदकारी नीति नै हो । यसैले कथित हिन्दुका ठालुले यो विभेदकारी नीति वा प्रचलन हटाएर सबैलाई आफूसमान देख्न सक्नुपर्दछ, यसो गरे नेपालमा हिन्दु धर्म अनुयायीको संख्या बढ्छ, घट्दैन । जब हिन्दुको संख्या बढ्दै जान्छ राष्ट्र स्वतः हिन्दुराष्ट्र भइहाल्छ, अरु धर्म तल पर्दछन् अनि उनीहरूले पनि यही धर्म अपनाउँछन् धर्म परिवर्तनको कुनै गुञ्जायस रहँदैन र धार्मिक बहसको आवश्यक पनि पर्दैन ।

Related News

सम्बन्धित समाचार

hero news full width