क्यान्सरसँगको मेरो जीवन यात्रा : एक चर्चाचूडामणि खनाल

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७०

क्यान्सर के हो ?

क्यान्सर अङ्ग्रेजी शब्द हो। यो प्राणघातक रोग हो। यस रोगको परिभाषा यसरी गरेको पाइन्छ : हाड, मासु, रगत आदिमा असर गरेर विस्तारै बढ्दै जाने वा शरीरबाहिरको मासुमा खटिराका रूपमा निस्की काउलीको फूलजस्तै बढेर अन्तमा मृत्यु गराउने भयङ्कर रोग हो (नेपाली वृहत् शब्दकोश, पृ. २५८ : २०६०)।

उक्त रोगबाट पीडित अनिता शर्मा काफ्लेद्वारा विरचित ‘क्यान्सरसँगको मेरो जीवन यात्रा’ नामक पुस्तक भरखरै प्रकाशित भएको छ। यस पुस्तकमा लेखिएकाले आफूले भोगेका पीडालाई वा दुःखलाई जीवन्त रूपमा उतार गरेको पाइन्छ। विशेषतः यस रोगको लक्षण र उपचारका लागि विश्वसनीय अस्पतालको उल्लेख गरिएको छ र समयमा नै उपचार गर्ने हो भने  क्यान्सरलाई सजिलै जित्न सकिन्छ र बाँच्न सकिन्छ भन्ने पुस्तकको आशय छ। यस पुस्तकको सामान्य परिचय यसरी दिन सकिन्छः

१.     कृतिको नाम : क्यान्सरसँगको मेरो जीवन यात्रा

२.     विधा : आत्मानुभव, आत्मकथा, जीवन यात्रा पनि भन्न सकिने आत्मवृत्तान्त

३.     लेखिका : अनिता शर्मा काफ्ले, तनहुँ सुखौराबाट गैँडाकोट नवलपरासीमा, बसाइँ सरेका जानकीदत्त भट्टराई एवं निर्मला भट्टटराईकी जेठी छोरी। जामुने गा.वि.स. वडा नं. ८ निवासी वेदनाथ काफ्ले र श्यामकुमारी काफ्लेकी कान्छी बुहारी, महेन्द्रराज काफ्लेकी धर्मपत्नी एवं यशस्वी, मनस्वी काफ्लेकी ममतामयी माता।

शिक्षाशास्त्र र व्यवस्थापन विषयकी स्नातक, करुणानिधि उच्च माध्यमिक विद्यालय, पोखराकी शिक्षिका र विभिन्न सामाजिक संस्थासँग आवद्ध ४० वर्षीया (२०३०।३।१६) मा जन्मिएकी।

४.     पुस्तकको प्रकाशन गर्ने संस्था ‘तनहुँ पोखरा सर्म्पर्क समाज’, पोखरा, प्रकाशन मिति २०७०। पुस्तकको मूल्य रु. २५०।- सजावट सोनम थापा, जसमा क्यान्सरका गिर्खाहरू देखाइएको छ। पृष्ठ सङ्ख्या १६४।

५.     विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि समर्पण, प्रकाशकीय, हार्दिक शुभेच्छा, भूमिका, ‘भन्नै पर्ने केही थप कुरा’, ‘मेरो वास्तविकता’ कवितात्मक परिचय।

क)     कृति लेखिकाको मातापिताप्रति समर्पण गरिएको छ।

ख)     ‘तनहूँ सर्म्पर्क समाज’ का अध्यक्षको हैसियतले प्रकाशकीय लेखिएको छ र उक्त कृति छाप्न दिएकामा लेखिकाप्रति आभार व्यक्त गरिएको छ अनि क्यान्सर पीडित अनिताप्रति आत्मबल बढोस् भन्ने शुभकामना दिइएको छ।

ग)     हार्दिक शुभेच्छा : प्रा.डा. पशुपतिनाथ तिमिल्सिनाको हार्दिक शुभेच्छामा ‘आत्मानुभवको पाण्डुलिपि मैले पढें र फेरि पनि पढें’ भन्ने वाक्य छ। यस वाक्यले के सङ्केत गरेको छ भने प्रस्तुत पुस्तकको लेखनमा र भाषा सम्पादनमा समेत तिमल्सेनाको पर्याप्त सल्लाह लेखिकालाई प्राप्त भएको छ। शुभेच्छाको दोस्रो अनुच्छेदमा ‘अनिता शर्माको प्रस्तुत कृति स्वयं उहाँको जीवनमा क्यान्सरजस्तो प्राणघातक रोग लागेपछि उपचारका क्रममा भएका जटिलता र व्यक्तिगत रूपमा उहाँले भोग्नुपरेका पीडाजन्य अनुभवहरूको रिपोर्टमा आधारित छ। खास गरी आफूलाई क्यान्सर रोग लागेको थाहा पाएदेखि अहिलेसम्म पोखरा, भरतपुर, काठमाडौं र मुर्म्बईका अनेकांै क्लिनिकमा र अस्पतालहरूमा गरिएका पटकौं पटकका उपचारहरूका क्रममा प्राप्त अनुभव र सहनुपरेका मानसिक र शारीरिक पीडाहरूलाई नै उहाँले यसमा अभिव्यक्ति दिने काम गर्नुभएको छ।’ प्रा.डा. तिमिल्सेनाको यस अभिव्यक्तिलाई महाकवि श्री हर्षले ‘नैषधीय चरितम्’ मा मितञ्च सारञ्च वचो हि वाग्मिता’ (थोरै तर सारपूर्ण कुरा बोल्ने व्यक्ति नै कुशल वक्ता हो) भनेझैं सटिक मान्नुपर्छ। वस्तुतः १६४ पृष्ठको यस पुस्तकको सार पनि यही नै हो।

घ)     ‘भन्नैपर्ने केही थप कुरा’ मा लेखिकाले ‘यो त मेरो वास्तविक जीवन  हो। मेरो वास्तविक जीवनको दपण हो। मैले जे भोगेकी छु, जे देखेकी छु, जे सोचेकी छु र जे गरेकी छु, ती सबैको वृत्तान्त हो यो’ भनेको पाइन्छ, त्यसैले यस कृतिलाई आत्मवृत्तान्त भनिएको हो।

ङ)     ‘मेरो वास्तविकता’ नामक चार पाउका दशवटा श्लोककल्प कविता हो लेखिकाको जसमा क्यान्सरजस्तो प्राणघातक रोगसँग लडेर आत्मबलका साथ बाँचेको कुरा भनिएको छ।

६.     पुस्तकको चुरो : क्यान्सरसँगको मेरो जीवन यात्रा नामक यस पुस्तकको तेस्रो अध्यायको ‘अन्त्यमा’ शीष्ाकको तेस्रो अनुच्छेदमा (पृ. १६४) मा यस पुस्तकको कथ्य अभिव्यक्त भएको छ। यहाँ  क्यान्सरलाई यसरी चिनाइएको छ। “शरीरको तौल घट्तै जानु लगातार खोकी लागिरहनु, ज्वरो आइरहनु, लगातार दिसापिसाब लागिरहनु, शरीरमा गिर्खागिर्खी आउनु, पुराना कोठीहरू बढ्दै जानु, खाना नरुच्नु, शरीर कमजोर भएको महसुस हुनु, अनि महिलाहरूको हकमा तल्लो पेट दुख्नु, सेतो गनाउने पानी बग्नु, महिनावारी हुँदा धेरै रगत बग्नु, धेरै दिनसम्म रगत देखा परिरहनु, तल्लो कोखाहरूमा मन्दमन्द दुखिरहनु आदि क्यान्सरका लक्षण हुन्। यदि यस्तो आफूलाई अनुभव भएमा तुरुन्तै सम्बन्धित डाक्टर कहाँ गएर स्वास्थ्य परीक्षण गर्नुपर्छ।’

७.     पुस्तकको कलेवर : क्यान्सरसँगको मेरो जीवनयात्रा स्थूल रूपमा तीन अध्यायमा विभक्त छ। पहिलो अध्याय पृष्ठ १ देखि पृष्ठ ४० सम्मको छ। पृष्ठ ४१ देखि ६६ पृष्ठसम्ममा दोस्रो अध्यायका विभिन्न अनुच्छेद छन्, यस अध्यायमा कुनै उपशीष्ाक छैनन्। तेस्रो अध्याय पृष्ठ ६७ बाट पृष्ठ १६४ सम्ममा विस्तारित भएको छ। यस तेस्रो अध्यायमा ‘आफूजस्तै साथीको खोजी’ -पृ. १३२) ‘आफूलाई भाग्यमानी सम्झिन्थे’ -पृ. १३५), रोगले व्यक्ति चिन्दो रहेनछ -पृ. १३७), मन पापी हुँदो रहेछ -पृ. १२), सबैभन्दा ठूलो शत्रु रोग -पृ. १४१), मुर्म्बईबाट नेपाल आएपछि -पृ. १४२), आश्वासन पाउँदा -पृ. १४५), कपाल र्झने -पृ. १४८), दुःख पछि पाइने सुखको अनुभूति -पृ. १५१), बुबा/आमालाई सम्झि’दा -पृ. १५), आफूजस्तै एक साथी गुमाउँदा -पृ. १५७), फलोअप गर्न जाँदा -पृ. १६०), अन्तमा पृ. १६४)।

८.     जानकारीमूलक : यस पुस्तकको मुख्य उद्देश्य क्यान्सर रोगका बारेमा जानकारी दिनु हो। लेखिकाले क्यान्सर के हो -, नेपालमा क्यान्सरका लागि प्रसिद्ध डाक्टर को को हुन् -, क्यान्सरका अस्पताल कहाँ कहाँ छन् -, डाक्टर र नर्सहरूको व्यवहार विरामीप्रति कस्तो देखिन्छ। विश्व प्रसिद्ध टाटा अस्पतालमा क्यान्सर रोगको उपचार कसरी हुन्छ -, नेपालका अस्पतालहरू काठमाडौं, भरतपुर र पोखरामा कस्तो उपचार हुन्छ। नेपालमा उपचार नगराएर मुर्म्बईको टाटा अस्पतालमा नै किन जाने -, जस्ता अनेकौँ प्रश्नको उत्तर यहाँ पाइन्छ। क्यान्सर रोगमा प्रयोग हुने र्सुइ र औषधि के-के हुन् – इत्यादि इत्यादि प्रश्नको उत्तर पनि यस पुस्तकमा पाइन्छ।

९.     अभिव्यक्ति कला : अनिता शर्मा काफ्ले साहित्यकर्त्री हुन्। पुस्तकको प्रारम्भबाट अन्त्यसम्म एकनासको लेखन छ। विषय रोगको छ, क्यान्सरजस्तो रूखो विषय, तर लेखिकाको साहित्यिक अभिव्यक्तिले गर्दा चिकित्साविज्ञान पढेको अनुभव हुँदैन। आत्मकथा पढेको अनुभव हुन्छ। ‘सोचेजस्तो हुनन जीवन, सम्झे जस्तो हुन्न, जीवन’, ‘बेनीको बजार : जता माया उतै छ नजर’ जस्ता गीतहरू “विद्या नपाए काशी जानु न्याय नपाए गोरखा जानु, ‘आफू नमरी स्र्वर्ग देखिन्न’, ‘एकातिरको आँधी अर्कोतिरको झोलुङ्गो’, तँ आँट म पुर्‍याउँछु जस्तो नेपालीका उखान र विवाहविषयक संस्कृत वैदिक सूक्तहरूको पनि प्रयोग भएको छ।

१०.स्थान परिचय : यो कृति सफल यात्रा वृत्तान्त पनि हो। लेखिका हिमाल जाँदाको दृश्य होस् कि गोरखा जाँदाको दृश्य होस्, लुम्बिनी जाँदाको होस् कि जनकपुर जाँदाको होस्, मुर्म्बई जाँदाको दृश्य जीवन्त रूपमा आएको छ।

११.केही आदर्श (मार्मिक) वाक्यहरू

क)     जस जसलाई जे जे भोग्नु छ, अनि जजसले जेजे बेहोर्नु परेको छ त्यो त अवश्य नै भोग्नुपर्दछ।

ख)     यहाँका कतिपय डाक्टरहरूले विरामी आएको देख्नासाथ पैसाको थैलो आएको सम्झन्छन्।

ग)     जति टाढाको भए तापनि दुःखमा साथ दिने व्यक्ति नै सबैभन्दा नजिकको बन्न पुग्छ।

घ)     बालक कालमा बुबाआमाको डर, विवाहपश्चात् लोग्नेको डर अनि बुढेसकालमा छोराछोरीको बन्धन। कस्तो होला महिलाहरूको जुनी अचम्म लाग्छ।

ङ)     दुःख परे पनि यी आँसु आएकै छन्, फेरि सुखमा पनि अथवा खुसीमा पनि यी आँसु आएकै छन् कस्तो होला भन्ने कुरा अचम्म लाग्छ।

च)     दुःख पछि पाइने सुखको अनुभूति अचम्मको हुँदो रहेछ।

छ)     लोग्नेले जति विवाह गरे पनि हुने, जति ठाउँमा केटी राखे पनि हुने, तर स्वास्नी भने सधैँ पत्रि्रता भएर बसे पनि समाजले नदेख्ने कस्तो विडम्बना।

ज)     श्रीमान् र श्रीमती भनेको त रथका दुर्इ पाङ्ग्रा हुन्, एक पाङ्ग्रा बिग्रियो भने अर्को एकलेमात्रै कुनै पनि रथ चल्न मिल्दैन।

झ) जीवनको यात्रामा दुःख सुख त हुन्छ नै दुःख सहेर सुखसँग रमाएर बाँच्नु नै जीवन हो।

ञ)     मन सेतो हुनुपर्छ, कपडा सेतोमात्रै लगाएर के नै हुन्छ र ?

ट)     यो रोग भन्ने कुरा कस्तो रहेछ, जसले ठूलो पनि भन्दैन, सानो पनि भन्दैन, धनी एवं गरिब केही पनि।

ठ)     कसैको टाउकोमा त कसैको गोडामा त कसैको पेट अनि रगत जहाँ सुकै पनि लाग्न सक्ने कस्तो डरलाग्दो रोग रहेछ क्यान्सर।

ड)     जीवन दुःखै दुःखको सागर रहेछ, जीवनको महत्त्व जब दुःख पाइन्छ तबमात्र अनुभव हुँदो रहेछ।

ढ)     मबिनाको मेरो ओछ्यान सम्झिन्छु झनै सम्झन मन लाग्छ।

ण)     आत्मबलले नै ठूलो कुरो रहेछ। आत्मबललाई गिराउन कहिल्यै हुँदैन। आत्मबलले ठूलो औषधिको काम गर्छ।

त)     मायाले पनि विरामीको आत्मबल बढ्दो रहेछ।

थ)     दुःखसँग लडेर सुखको किरण खोज्नु पनि त जीवन नै रहेछ।

द)     जीवनमा अनुभव भने जेको पनि लिनुपर्दाेरहेछ, त्यस दिनको यात्रा पनि त्यस दिनको यात्रा पनि अविस्मरणीय नै भयो। हाम्रो जीवनमा।

ध)     छोरालाई भन्दा छोरीलाई आमाको आवश्यकता पछिसम्म खट्किरहँदो रहेछ।

न)     ऋद्य जाँच भनेको रगतमा भएको ध्द्यऋ युट्रोफिन प्लेट लेट हेरिने परीक्षण रहेछ।

पुस्तकमा केही अशुद्ध शब्दहरू पनि छन् जस्तै :

अनिभज्ञ, (अनभिज्ञ), विदुर (विधुर), मृतात्मा (अमरात्मा), सिता (सीता), असैहृय (असहृय) सौन्दर्यता (सुन्दरता), पीडा (पीडा), तिरैतिर (तीरैतिर), अपीरचित (अपरिचित) पुरा (पूरा), छिर्दै (र्छदै) श्रष्टा (स्रष्टा), तनहु (तनहूँ) इत्यादि।

१२.लेखिकाले पुस्तकलाई पठनीय बनाउन गीत एवं उखान टुक्काको पनि प्रयोग गरेको पाइन्छ। जस्तै : एकातिरको आँधी, अर्कातिरको झोलुङ्गो’ तँ आँट म पुर्‍याउँछु, विद्या नपाए काशी जानु, न्याय नपाए गोर्खा जानू’, सोचेजस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन’, ‘बेनीको बजार, जता माया उतै छ नजर’, जस्ता उखान र गीतका साथै विवाह विषयक अर्थवेदका सूक्तको पनि प्रयोग गरेकी छन्।

१३. क्यान्सरका बारेका लेखिकाका यी वाक्यहरू ‘मेरो आफ्नो अनुभव र विचारमा क्यान्सर रोग मानिसहरूले सोचेजस्तो डरलाग्दो रोग होइन रहेछ। यदि बेलैमा रोगको उपचार गर्‍यो भने यो रोगलाई निर्मूल नै पार्न सकिँदो रहेछ। यदि वास्ता नगर्ने हो र हेलचक्र्याइँ गर्ने हो भने अरू रोगहरूले पनि ज्यान लिएको हामी पाउँछौं’ भन्ने लेखिकाको सल्लाहलाई मनन गरी क्यान्सरबाट नआत्तिनू र सतर्क रहनू भन्ने आग्रह गर्दै यो परिचय टु·याउँछु। धन्यवाद।

Related News

सम्बन्धित समाचार

hero news full width