ओझेलमा परेको थाप्ले टाइगर हिल

भीमनाथ बराल
वैशाख १८, २०७६

हाम्रो मातृभूमि प्रकृतिको अनुपम उपहार हो। हिमालदेखि तराई र मेचीदेखि महाकालीसम्म फैलिएको विविधतायुतm भू–बनोट, सदावहार जङ्गलदेखि पतझर, कोणधारी, लेकाली रु टुन्ड्राजस्ता वनस्पति, एक सिंगे गैँडा लगायत विविध वन्यजन्तुको वासस्थान, डाँफे, मुनालजस्ता दुर्लभ पंक्षीहरुको क्रीडास्थल, देशलाई नै झलमल्ल पानेर्गरी पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेका हिम–शिखरजस्ता प्राकृतिक उपहारले देश सुन्दर मात्र होइन, हरेक राष्ट्रभक्त नेपाललाई आफैमा गर्व गर्ने साम्रथ्य प्रदान गरेको छ। अनादिकालदेखि दैवीशक्तिको संरक्षणमा रहँदै आएको यो भूमि देवाधी देव महादेव लगायतका ईश्वरको तपोभूमि समेत रहँदै आएको छ। यही पुण्यभूमिमा जनक, सीता, भृकुटी, वेदव्यास, बुद्धजस्ता आदर्श निधिले समेत जन्म लिएर हाम्रा आदरणीय क्रषिमुनि र वैदिक साम्रथ्यले संरक्षित यो राष्ट्र विभिन्न जाति, भाषा, धर्म, सम्प्रदाय आदिको साझा फूलवारी पनि हो। भूगोल र साम्रथ्यले सानो भए तापनि इतिहासमा कुनै शक्ति राष्ट्रको उपनिवेश हुनबाट जोगाउने विश्वयोद्धा वीर गोर्खालीहरुको रगतले सुशोभित नेपाल राज्य साँच्चीकै ईश्वरको अनुपम सृजना हो।

यी आम विशेषताका वावजुद पनि मुलुकको करिव मध्यभागमा रहेको पोखरा शहर विश्वकै सुन्दर शहरहरु मध्येको एक हो भनेर दावा गरिरहनु नपर्ला। यो शहर र यस आसपासको क्षेत्रलाई प्रकृतिले यति ठूलो साम्रथ्य दिएको छ कि प्रकृतिप्रतिको आक्रमण र यसको संरक्षणमा देखिएको उदासीनताका वावजुद पनि यो क्षेत्रले आफ्नो सुन्दरता गुमाइसकेको छैन। उसो त राज्य र समुदायको सीधा सम्पर्कभन्दा बाहिर रहेका केही यस्ता गन्तव्यहरु छन् जुन प्रकृतिका दुर्लभ उपहार हुँदाहुदै पनि पहिचान र संरक्षणको अभावमा ओझेलमा परेका छन। तीनै गन्तव्यहरु मध्येको एक हो, थाप्ले टाइगर हिल।

नव वर्ष २०७६ को दोश्रो शनिवार यस क्षेत्रको भ्रमण गर्ने अवसर मलाई प्राप्त भयो। आफ्नो जन्म थलो भएर पनि यसवारे सुनेको तर अजसम्म यो गन्तव्यमा नपुगेकोमा मलाई पश्चाताप पनि भयो। जव म त्यहाँ पुगें, मैले आजसम्म घुमे–हेरेका स्थानहरुमध्येको साँच्चिकै उत्कृष्ठ स्थान भएको मलाई अनुभूति भयो र संक्षिप्त भएपनि यसवारे आम रुपमा जानकारी होस् भन्ने उद्देश्यले यो लेख तयार गरेको हु।

भौगोलिक अवस्थिति

नेपालको गण्डकी प्रदेश, पोखरा महानगरपालिका वडा नं.२२, पुम्दी–भुम्दी अन्तरगत भुम्दी क्षेत्रको प्रसिद्ध डाँडाको नाम हो थाप्ले डाँडा। यो डाँडा साविकमा पुम्दी–भुम्दी गा.वि.स. अन्तर्गत वडा नं ९ मा रहेको थियो। झण्डै १० वर्ग किलोमिटरको आधार भूमिमा उभिएको थाप्लेको सिरानको भाग समुद्र सतहदेखि २०५६ मिटरको उचाईमा रहेको छ। भौगोलिक हिसावले पहाडी क्षेत्रमा अवस्थित यो क्षेत्र स्थानीय ब्याडेचौर सामुदायिक वनसँग सटेको छ। स्थानीय ढावा–उल्लेरी गाउँ–वस्तीसँग सटेको यो डाँडा र आसपासको क्षेत्रमा समशीतोष्ण खालको हावापानी पाइन्छ।

मुलुकका अन्य भागमा जस्तै यो पनि मौसमी हावापानीको क्षेत्रमा पर्दछ र पुम्दी भुम्दी लगायत यस क्षेत्रको मौसमको संकेत यही डाँडामा देखिने वादल र घामको उपस्थितिले गर्दछ। वर्षामा गर्मी र पानी पर्ने अनि हिउँदमा ठण्डा र सुख्खा रहने मौसमी हावापानीको प्रमुख विशेषता हो। मूलतः वर्षामा यो डाँडामा बादलको घेरा (काँठा) वस्ने र त्यहीवाट पानी पर्न शुरु भई विस्तारै पूर्वतीर वर्षाको प्रवाह बढ्ने गर्दछ भने हिउदमा पश्चिमी वायुको प्रभावले पानी पर्ने हाम्रो क्षेत्रमा यही थाप्लेडाँडावाट पानी पर्न शुरु हुन्छ। कहिलेकाही यो क्षेत्र हिउँले समेत ढाकिन्छ।

धार्मिक गन्तव्यको रुपमा थाप्ले हिल

पुम्दी–भुम्दी क्षेत्र सनातनदेखि नै एक धार्मिक क्षेत्रको रुपमा रहिआएको छ। पुम्दीकोट र भूम्दीकोट यहाँको धार्मिक क्षेत्रमा ऐतिहासिक महत्व बोकेका स्थानहरु हुन्। पछिल्लो समय यस वडाको पूर्वतर्फ स्थापित विश्वशान्ति स्तुप विश्वकै धार्मिक गन्तव्य वन्न पुगेको छ भने पुम्दीकोटमा विशाल महादेव मूर्ति स्थापनार्थ युद्धस्तरमा संरचना निर्माणको काम भइरहेको छ। यस अतिरिक्त यहाँका डाँडा, खोल्सामा रहेका भूमे, देउराली, नाग, झाँक्री, माइ, देवी, विष्णु, शंकर, कालिका आदिका मन्दिरहरु धार्मिक आकर्षणका रुपमा रहेका छन्। यी सवैका अतिरिक्त यसै थाप्ले डाँडामा अवस्थित, सिद्दवावा को दर्शन गर्ने र यस वरिपरिको मनमोहक प्राकृतिक सौन्दर्य अवलोकन गर्ने पहिलो अवसर मलाई प्राप्त भयो।

आजभन्दा करिव २५० वर्ष अगाडि स्थापना भएको यो मन्दिर करिव १० वर्गफिट क्षेत्रफलमा रहेको छ। यस मन्दिरमा गैर “पौडेल” थरका जातिले पुजारी बन्न नहुने किंवदन्ती रहेकाले पहिलादेखिनै पौडेलहरुले पुजारीको रुपमा काम गर्दै आएको र चण्डी पूर्णिमा (बुद्ध पुर्णिमा) र कोजाग्रत पूर्णिमाको दिनमा विशेष कार्यक्रमसहित सिद्दबावाको पूजा–आजा गरिने जानकारी स्थानीय पुजारी होमनाथ पौडेलले दिनु भयो। तर परम्परागत ढुङगा–माटो जडाइको गाह्रो, टिनको छाना र सामान्य पर्खालद्वारा घेरिएको उक्त मन्दिर निक्कै जीर्ण अवस्थामा रहेको भेटियो। साथै मन्दिरको ऐतिहासिक र धार्मिक महत्व हुँदाहुदै पनि आम्दानीको स्थायी स्रोत नभएकाले जिर्णोद्धार गर्न नसकिएको र स्थानीय सरकारबाट समेत यसको संरक्षणमा दृष्टि नपुगेको गुनासो पुजारीले गरे।

प्रकृतिको विशिष्ट उपहार

हामीकहाँ डाँडा र पाखाको कमी छैन। आम रुपमा डाँडालाई सामान्य ढंगले बुझ्ने चलन छ। तर थाप्ले हिल केवल डाँडामात्र रहेनछ। स्वाभाविक रुपमा डाँडाको चुचुरोबाट अपेक्षित दृष्यावलोकन हुने गर्दछ। यहाँवाट दृष्यावलोकन गर्न सकिने प्रशस्त स्थान र वस्तुहरु छन्। डाँडाको उत्तरतर्फ धौलागिरी, माछापुच्छ्रे, गणेश लगायत गौरिशंकर हिमालसम्मको लामो र सुन्दर हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ। पूवतर्फ फेवाताल, बेगनासताल, रुपाताल लगायत सुन्दर पोखराको दृष्य देखिन्छ। सूयोर्दय अवलोकनका लागि त यो भन्दा अर्को कुनै उपयुक्त स्थान होला जस्तो लाग्दैन। पोखरा अन्तराष्ट्रिय विमानस्थल त नाकै अगाडि रहेजस्तो अनुभूति हुन्छ। दक्षिणतर्फ ऐतिहासिक नुवाकोट लगायत पाल्पाको श्रीनगर डाँडासम्मको दृष्य कैद गर्न सकिन्छ भने पश्चिमतर्फ स्याङ्जाको विभिन्न स्थान लगायत राम्चे देवी मन्दिर समेत एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ।

थाप्ले हिल र यस वरिपरिको अर्को आकर्षण हो, यहाँको वनस्पति र जैविक उपलब्धता। यहाँ पाइने सुनाखरी, बाटो–बाटोमा कानसम्म लत्रने गुराँस, टुसे निगाला तथा लोप हुदै गएका काफल र दमौराका फलहरु साँच्चिकै आकर्षणका रुपमा रहेका छन्। पहाडी धरातलमा पाइने परम्परागत कटुस, चिलाउने जातका वनस्पति वाहेक हामीले पहिचान गर्न नसकेका जरा र लहरा सहितका जडिबुटीहरुको खानी नै रहेछ थाप्ले हिल क्षेत्र। यसका अलवा २० वर्ष अगाडि रोपिएका धूपि र सल्लाजातका रुखहरुले समेत उक्त क्षेत्रलाई वनस्पतिमा धनी बनाएका छन्।

थाप्ले हिलको दुर्लभ पक्ष यहाँको वन्यजन्तु रहेछ। यहाँको आसपासको वनमा बाघ, मृग, बाँदर लगायतका जनावरहरु निक्कै भेटिन्छन्। थोप्ले, खैरो–धर्के र निगाले जातका करिव २०–२५ ओटाको संख्यामा बाघ रहेका र ३०–३५ को संख्यामा मृग रहेका कुरा स्थानीय मानसिंह गुरुङ वताउनुहुन्छ। हामी बिहान ९ वजे जङ्गलबाट हिलतर्फ उक्लदै गर्दा २ ओटा मृगलेबाटो काटेको समेत हेर्न पाइयो। यस हिसावले यो जङगल मृगको वासस्थान रहेकोमा हामी विश्वस्त भयौँ। यस अतिरिक्त छ्याप–छयाप्ती भेटिने वन कुखुरा, कालिज, लामपुच्छ्रे, लैँचे, ढिकुर, न्याउली, तित्रा आदि चराहरु सामान्य रुपमा अवलोकन गर्न पाइन्छ। प्रकृतिको कुचिकार मानिने गिद्ध पनि यहाँको आकासमाथि घुमिरहन्छन्। परम्परादेखि गाई–वस्तु चराउने खर्क को रुपमा समेत यो क्षेत्र परिचित छ। तर अहिले खर्कमा लगेर गाईवस्तु छाड्ने चलन भने छैन।

प्रोतार (WhIte Rock) यहाँको दृष्यावलोकनका लागि अर्को आकर्षण हो। हिलको दक्षिण र पूर्वी आधारबाट सहजै अवलोकन हुने र धेरै टाढाबाट समेत चिन्न सकिने यो स्थल ढुङगे चट्टानले बनेको छ। उल्लेरी वस्तिबाट हिलतर्फ लाग्दा यही प्रोतार भएर गइन्छ। यस बाहेक फेदीबाट ठाडा–उकाला सिंढी हुँदै हिलसम्म पुग्दा पदयात्राको वास्तविक अनुभव जो कोहीले पनि गर्न सक्दछ।

समस्या

यी विविध तथ्यको प्राचुर्यता हुँदाहुँदै पनि थाप्ले हिलको महत्वलाई राज्य र समाजको हितमा प्रयोग गर्न सकिएको छैन। प्रथमतः यस क्षेत्रको पहिचान नै हुन नसकेको अवस्थामा छ। यहाँको विकासको चासो स्थानीयले धेरै पछिमात्र लिएका छन्। आन्तरिक एवम् वाÞय वसाइँ–सराइले गाउँका वस्ती खाली हुदै गएका छन् भने त्यहाँ पुग्ने पर्यटकका लागि होटल, गाइड, सुरक्षाजस्ता संरचनाको अभाव छ। वनमा पाइने दुर्लभ मृग, कुखुरा आदिको चोरी–शिकारीको समस्या छ। उल्लेरी –ढावा लगायतका यस वरपरका वस्तीमा खानेपानीको समस्या छ। पदमार्गको रुपमा रहेका यहाँका ठाडा–उकाला बाटाहरु चिप्ला र झाडीयुक्त रहेका छन्। पदयात्रा गर्दा शीतल बस्ने चौतारीका साथै आकस्मिक रुपमा पर्न सक्ने झरी र घाममा शीतलपाटीको अभाव छ।

धार्मिक रुपले ठूलो महत्व हुँदाहुदै पनि सिद्धबाबाको मूर्ति, मन्दिर र वरपरको पर्खाल अति नै जीर्ण अवस्थामा छ। कोषको अभावमा मन्दिर क्षेत्रको पुनः निर्माण त परै जाओस, खास दिन र पर्वमा न्यूनतम कार्यक्रम समेत गर्न नसकिएको गुनासो पूजारी होमनाथ पौडेलको छ। समग्र क्षेत्रको विकाशका निम्ति स्थानीय पर्यटन व्यवसायी मानसिंह गुरुङको अध्यक्षतामा थाप्ले डाँडा धार्मिक तथा पर्यटकीय स्थल विकास समिति गठन भए तापनि रकम र जनशक्तिको अभावले उक्त समितिले अपेक्षित काम गर्न नसकेको बताइएको छ। खुल्ला दिसा–पिसाव मुक्त क्षेत्र घोषित वडा भए तापनि सार्वजनिक शौचालयको अभावले उक्त घोषणा कार्यान्वयन हुन सकेको छैन भने स्वयं विकास गर्न खोजिएको क्षेत्रमा विजुली, खानेपानी तथा सरसफाइको अभाव छ।

हालसम्मका प्रयासहरु

केही वर्ष अघिसम्म थाप्ले हिल केवल वरपरका डाँडाहरु मध्येको एक भन्दा केही थिएन। देशमा पर्यटन व्यवसायको महत्व वढ्दै गएको सन्दर्भमा स्थानीय पर्यटन व्यवसायी मानबहादुर गुरुङ (मानसिंह गुरुङ)ले यस क्षेत्रलाई धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा विकसित गराउनुपर्ने कुरामा जोड दिइ २०६८ सालमा “थाप्ले डाँडा धार्मिक तथा पर्यटकीय स्थल विकास समिति” गठन भई यसको प्रवद्र्धनमा लागको पाइन्छ। तथापि स्थानीय युवा विदेश पलायन हुने, आन्तरिक वसाई–सहराई आदिका कारण उक्त अभियानले गति लिन सकेन। देशमा स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधिहरु वसी यस विषयमा चासो बढ्न थाल्यो।

यसै क्रममा वडा सदस्य मातृकाप्रसाद बरालको पहलमा गण्डकी प्रदेशका उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री माननीय विकास लम्सालले यही २०७५ साल चैत २३ गते यस क्षेत्रको स्थलगत भ्रमण गर्नुभयो। मोटर जानेसम्मको बाटो छाडेर करिव २ घण्टाको साहसिक पैदलयात्रा पछि माननीय मन्त्रीज्यू समेतको टोली थाप्ले हिल पुगेको र उक्त क्षेत्रको वास्तविक सम्भावनाको मूल्यांकन गरी यसको विकासमा प्रदेश सरकार लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको कुरा विकास समितिका अध्यक्ष मान सिंह गुरुङले भन्नुभयो। साथै इतिहासमै पहिलोपटक उच्चस्तरीय सरकारी अधिकारी (प्रदेश मन्त्री) बाट भएको यस भ्रमणले यस क्षेत्रको विकासको सम्भावनालाई खोलिएको छ। मन्त्रीज्यू स्वयंले यहाँको पदयात्रा गरेकाले उक्त पदमार्गको नाम मिनिष्टर ट्रयाक राखिएको र झण्डै २०–२५ ओटा बाघको वासस्थान भएकाले यसलाई थाप्ले हिल मात्र नभनी “थाप्ले टाइगर हिल” नामाकरण गर्न माननीय मन्त्रीज्यूको सुझाव रहेको कुरा स्थानीय जनप्रतिनिधि मातृकाप्रसाद बरालले बताउनुभयो। यस अतिरिक्त स्थानीय समितिको पहल र वडा नं. २२ कार्यालयको ३ लाख रुपैंयाको सहयोगमा थाप्ले डाँडामा ट्रसको निर्माण हुँदैछ।

भावी कार्यक्रम

थाप्ले डाँडाको विकास र यहाँको धार्मिक क्षेत्रलाई प्रवद्र्धन गर्ने सन्दर्भमा गण्डकी प्रदेशका माननीय मन्त्रीको स्थलगत भ्रमणबाट हौसिएका स्थानीयहरुले समग्र क्षेत्रको विकास हुने आशा वोकेका छन्। माननीय मन्त्रीबाट यसै वर्ष २० लाख रुपैंया सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त भए अनुसार यस क्षेत्रको विकाशका निम्ति गठित समितिले यही २०७६ साल वैशाख ३ गते बैठक वसी यस क्षेत्रको अल्पकालीन र दीर्घकालीन उद्देश्य सहितको योजना तय गरेको छ। डाँडाबाट हुने दृष्यावलोकनलाई अझ आकर्षक र सुन्दर बनाउन भ्यु–टावर निर्माण गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, तत्काल विद्युत जडान गरी हिललाई उज्यालो पार्ने र ठाउँ–ठाउँमा होर्डिङ बोर्ड राखी प्रचार–प्रसारलाई तीव्रता दिनेजस्ता विषयहरु अल्पकालीन योजनामा समेटिएका छन्।

यसैगरी स्थानीयसँग व्यापक छलफल गरी होमस्टे सञ्चालन गर्न तत्काल पहल गर्ने बताइएको छ। साच्चै स्थानीय अगुवा र जनप्रतिनिधिको रोहवरमा बैठक बसी दक्षिण मोहोडा (उल्लेरी) बाट मिनिष्टर ट्रयाक निर्माण गर्ने, प्रोतार (हवाइट रक) मा पार्क निर्माण गर्ने, रक क्लाइमिङको व्यवस्था गर्ने, वन्यजन्तुको संरक्षणमा विशेष कार्यक्रम लागु गर्ने, थाप्ले डाँडा, प्रोतार र तल्लो भेगमा कम्तिमा १/१ ओटा पोखरी निर्माण गर्ने, सिद्धबाबा थाननेर योगकेन्द्र निर्माण गर्ने, सिद्धबाबा मन्दिर जिर्णाेद्धार गरी नियमित पूजापाठको व्यवस्था गर्ने, ट्रस सहितको वनभोज स्थल निर्माण गर्ने, हेलिप्याडको निर्माण, सिद्धबाबा मन्दिरसँगै धार्मिक सहिष्णुता देखाउने गुम्वाको निर्माण गर्ने, होमस्टेलाई सुविधायुक्त र प्रभावकारी बनाउने तथा स्टेशन–स्टेशनमा कटेजहरु निर्माण गरी अतिथिको आगमनलाई सुविधायुक्त बनाउने दीर्घकालीन लक्ष्य तय गरिएको कुरा विकास समितिका अध्यक्ष मान सिंह गुरुङले बताए।

कसरी पुग्ने?

थाप्ले टाइगर हिल पुग्न त्यति कठिन छैन। भ्रमण गर्न इच्छुक हरेक पर्यटकले १ दिनको समय दिँदामात्र पनि यहाँको स्वर्गीय अनुभूति लिन सकिन्छ। पहिलो मार्ग पोखरा–१७, छोरेपाटनदेखि शान्ति स्तुप, लुकुन्स्वाँरा, काहुलेपानी, कालावाङ, भुम्दी–पैँयू चौतारी हुदै ग्रामीण कच्ची सडक मार्गबाट थाप्ले हिल पुग्न सकिन्छ। यो मार्गबाट जाँदा दृष्यावलोकन लगायत गुप्तेश्वर गुफा, शान्ति स्तुप, विशाल महादेव मूर्ती, देउराली र भुम्दीकोट जस्ता धार्मिक क्षेत्र समेत अवलोकन गर्न सकिन्छ। दोस्रो, कोही पनि इच्छुक पर्यटकले पोखराबाट करिव १४ किलोमिटर पश्चिमतर्फ लागेपछि कास्की र स्याङजाको सिमाना, कुभिण्डेमा पुगिन्छ। सिद्धार्थ राजमार्ग छाडेर दाहिने तर्फको सोलिङ गरिएको ग्रामीण सडकबाट उकालो लागेपछि गाउँ पुगिन्छ। सोही उल्लेरी गाउँमा सवारी साधन पार्किङ गरी करिव २ घण्टाको साहसिक पैदल यात्रापछि थाप्ले हिलमा पुग्न सकिन्छ। तुलनात्मक रुपमा थाप्ले हिलमा मात्र पुग्ने प्रयोजनका लागि यो नै उपयुक्त मार्ग हो।

अन्त्यमा, नेपालका सुन्दर र सम्भावना बोकेका स्थलहरु मध्ये थाप्ले टाइगर हिल एक आकर्षक स्थल हो। पर्यटन प्रवद्र्धन मार्फत समाज र देशकै समृद्धिमा यो गन्तव्य सहयोगी हुने कुरामा दुईमत छैन। पदयात्रा, प्रकृति, वातावरण, धार्मिक एवम् वनस्पति र जीवजन्तु जस्ता वहुविषयको अनुभव र ज्ञान बटुल्न सकिने यो क्षेत्र पोखरा शहरको निकट पनि रहेकाले निश्चयनै भविष्यमा आकर्षक गन्तव्य हुने विषयमा द्विविधा छैन। आवश्यक संरचनाको अभाव, असुरक्षा, स्थानीय सहभागीतामा कमी तथा प्रचार–प्रसारको कमीले यसको विकासले तीव्रता पाउन सकेको छैन। यहाँको आकर्षणले मलाई आफ्नो भ्रमण लम्ब्याउन भनिरहेको थियो तर भ्रमणलाई व्यवस्थित गर्ने संरचनाको अभावले त्यो केवल चाहनामा मात्रै सीमित भयो। तथापि अव स्थानीय तथा प्रदेश सरकार र स्वयम् स्थानीयमा यस क्षेत्रको विकासप्रति जागरुकता र सक्रियता बढ्दै गएको छ। पोखरा नजिकैको आकर्षक पर्यटकीय गन्तव्यको रुपमा “थाप्ले टाइगर हिल”लाई स्थापित गर्न यो क्रियाशीलता पक्कै पनि कामयावी हुनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width