आवश्यकता गुणस्तरीय पर्यटकको

आदर्श समाज सम्वाददाता
असार २८, २०७०

पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा बिहानको समयमा एउटा सामान्य चिया खाजा पसलमा चिया पिइरहेको थिएँ। एक जोडी विदेशी पर्यटक आए, नास्तामा चाउमिनको मूल्य सोधे। प्लेटको पचास रूपैयाँ रहेछ, पचासको दरले जम्मा सय रूपैयाँ भयो दुर्इ प्लेटको। मोलतोल गरे साहुजीले मूल्य घटाएनन् उनीहरू फर्के। केही समयपछि अरु पसलमा उनीहरू बुझ्नसम्म बुझेर फेरि फर्केर आए दुर्इ प्लेट चाउमिन भने सय रूपैयाँ तिरेर गए। मलाई अजीव लाग्यो। एक जनालाई भरपूर पुग्ने चाउमिनको प्लेटको पचास रूपैयाँको लागि पनि चर्कै मोलटोल हुँदोरहेछ।

केही वर्ष अगाडि पोखरा नजिकैको धम्पुस गएको थिएँ। साथीहरूको सानो झुण्ड थियो। एउटा राम्रो टुरिष्ट स्टार्ण्र्डडको होटलमा बसाई भयो। खाना, बसाई, मनोरञ्जनको व्यवस्था सबै राम्रो थियो। र्फकने बेलामा बिल तिर्दा मैले साहुनी आमालाई सोधेँ -‘टुरिष्टले त राम्रै खर्च होला नि ?’ उहाँले भन्नुभयो -‘कहाँको खर्च गर्नु बावु एउटा कोक मगाउँछ कुर्सीहिमालतिर फर्काएर बस्छ वन्डरफुल वन्डरफुल भन्छ त्यत्ति हो। खान त पर्‍यो नि – झोलामा के के पोको पारेर ल्याएको हुन्छ त्यही खान्छ। बस्न नि ? धेरै मोलमलाई गर्छ सस्तोमा कोठा खोज्छ।’

कतिपय पर्यटकीय क्षेत्रका अलि अपत्यारिला र अनौठा व्यवहार व्यापारीहरूले भोग्दै आएका रहेछन्। पोखरा लेकसाइडका कतिपय डिपार्टमेण्टल स्टोरहरूमा कतिपय विदेशी पर्यटकले बास्केट वा ट्रलीमा सामान भरेर काउण्टरमा ल्याएपछि ठूलो मात्रामा डिस्काउण्ट माग्ने गर्दा रहेछन्। अनि भनेजस्तो नभए छोडेर जाने गर्दा रहेछन्। पहिला केही नसोध्ने पछि छनौट गरेर लिएको सामान अलपत्र छोडेर हिँड्ने त्यहाँको पुरानै प्रवृत्तिमा पर्ने रहेछ। त्यसमा पनि यी देशका पर्यटक भनेर व्यापारीले किटेरै भन्दारहेछन्। व्यापारीलाई ति सामानलाई पहिलेकै ठाउँमा मिलाएर राख्न हैरानी मात्र हुने गरेको रहेछ।

पोखराका साथै लुम्बिनी भ्रमणमा आउने कतिपय भारतिय पर्यटकहरूले बस नै रिर्जर्व गरेर आउने गर्दछन्। जसमा ग्याँस, चुल्हो पकाउने भाँडावर्तन तथा खाद्यान्नका साथै कुक हेल्पर पनि साथमै ल्याउने गर्दछन्। घुम्नु पर्ने जति घुम्छन्, खुला ठाउँमा गाडी पार्किङ गर्छन् पकाउँछन् खान्छन् जान्छन्।

नेपाल आउने बाह्य पर्यटकमध्यको एक अंश हो यो। अहिले सरकार र निजी क्षेत्र दुवैले पर्यटनमा निकै जोड बल गरेको देखिन्छ। तथापि सरकारी तवरबाट पर्यटकको कुनै स्तर निर्धारण गरेको छैन। एक दिनमा कति खर्च गर्नुपर्ने हो ? यसको कुनै निर्धारण छैन। जबकि भूटान, माल्दिभ्सजस्ता देशमा जाने पर्यटकले दिनको दुर्इसय डलर खर्चिनुपर्ने हुन्छ। हामी नेपालीले कतै युरोप अमेरिका जानुपर्‍यो भने पर्याप्त नगद मौज्दात छ कि छैन भनेर हेर्ने गरिन्छ। अनि हाम्रो देशमा आउनका लागि कुनै मापदण्ड नै नहुनु अजीवको कुरा हो।

विदेशी पर्यटक आउदैमा मात्र अर्थ सड्ढलन हुन्छ र आर्थिक वृद्धि हुन्छ भन्नु किमार्थ सत्य होइन। सवल अर्थतन्त्रको लागि आवस्यक भनेको गुणस्तरीय पर्यटक पनि हो। जसले केही बढी खर्च गर्ने हैसियत राख्छन्। सस्तो गन्तव्यको खोजी गर्ने पर्यटकले के पो खर्च गर्ने हैसियत राख्छन् र ? एउटा सामान्य चिया खाजा पसलमा दुर्इ जनाको लागि सय रूपैयाँ खर्च गर्न डराउनेले नेपालको बसाई अवधि भर कति पो खर्च गर्लान् ? जसोतसो गुजारा चलाउने श्रेणीका पर्यटकले देश भित्रिने पर्यटकको सङ्ख्यामा मात्र थप अड्ढ प्रदान गर्लान् तर आर्थिक विकास र टेवा मिल्ने भन्ने कुरा मिथ्या मात्र हो।

पर्यटनको मूल आधार नै पर्यटक हो। ट्याक्सी छोडेर स्थानीय नगर बसमा चढ्ने त्यसमा पनि मोलमलाइ गरे भने त्यस्ता पर्यटकलाई कुन श्रेणीमा राख्ने ? होटलको कम्पाउण्डबाट अघाउन्जेल हिमाल हेर्ने, फोटो खिच्ने अनि अघाउन्जेल खानु पर्ने खाना खाजा त्यही होटलबाट नखाइदिँदा होटलबालालाई के पो फाइदा हुन्छ ? एक त खर्च गर्न सक्ने पर्यटक हुनुपर्‍यो भने अर्को तर्फ त्यहि अनुसारको पर्यटकीय पूर्वाधार हुनुपर्‍यो।

छोटो समयमा नै नेपालीहरूलाई देश विदेशको भ्रमण गर्ने लहर चलेको छ। यो समय भनेको नेपाली पर्यटन उद्योगको लागि स्वणिर्म युग हो। आन्तरिक पर्यटन अहिले प्रशस्त फैलिँदै गएको छ। विभिन्न टेलिभिजन च्यानलमा दिइने पर्यटन गन्तव्यसम्बन्धी कार्यक्रमका साथै विभिन्न सञ्चार माध्ययमबाट आन्तरिक पर्यटन ठूलो उद्योगको रूपमा फस्ताउदै गएको छ। एक टुरिष्ट बस व्यवसायीको भनाइ अनुसार पर्यटक बसको कुल यात्रुको असी प्रतिशत भार नेपाली यात्रुहरूले पूर्र्ति गरिरहेको बुझिएको छ। विदेशी पर्यटकहरू नेपाल आउने विशेष सिजनमा धेरै हुन्छ तथापि आन्तरिक पर्यटकलाई वर्षको बाहै मास चलाउन सकिन्छ। क्रय शक्ति हेर्ने हो भने पनि विदेशी पर्यटकले गर्ने खर्च भन्दा आन्तरिक पर्यटकले गर्ने खर्च कम छैन। नेपालीहरूको आम्दानीको सार्थ खर्च गर्ने क्षमता क्रमशः विकसित हुँदै गएको छ।

नेपालीहरू खर्चिला हुँदै गएका छन्। वर्षैपिच्छे घुम्नका लागि विदेश जानेको सङ्ख्या वृद्धि हुँदै गएको छ। खासगरी थाइल्याण्ड, सिंगापुर, मलेशिया, दुर्वई लगायतका देशमा नेपालीहरू पर्यटकको रूपमा जाने सङ्ख्या बढ्दो छ। नेपालीहरू विदेशमा पर्यटकको रूपमा जाँदा त्यहाँको सिस्टम अनुसार चल्नुपर्ने स्थिति भनेको स्वभाविक हो, जसमा खान बस्नको स्टार्ण्र्डडदेखि लिएर भिसा अवधि भरको खर्च गर्ने क्षमताको मापन त्यो देशको सरकारले गरेको हुन्छ। विदेश सयर गर्न जाने भएपछि पूँजी पलायनकालगायतका विषय आफ्ना ठाउँमा होलान् तर त्यहाँ गएपछि गर्नैपर्ने निश्चित रकमको खर्चको कारणले जो कोही नेपाली विदेश सयर गर्ने सपना देख्दैनन्। घुमफिर गर्नु स्वभाविक नै भएपछि विदेश गएपछि घरका लागि वा कोसेलीका लागि केही सामान ल्याउनु हाम्रो चलिआएको परम्परा हो। यसमा सघाउनु भनेको पनि नेपालीको कमाई विदेशीको पोल्टामा पर्नु हो।

हालै सार्वजनिक गरिएको एक तथ्याड्ढले नेपाल आउने विदेशी पर्यटकले दिनमा औसत तीन हजार रूपैयाँ खर्च गरेको देखिएको छ। त्यो भनेको लगभग तीस डलर मात्र हो। यस्तो नगन्य खर्चले हाम्रो अर्थतन्त्रमा खासै टेवा दिँदैन। एक त विश्व गन्तव्यमा हाम्रो देश सस्तो गन्तव्यमा पर्दछ अनि यस्तो सस्तो गन्तव्यमा कमसल पर्यटक भित्रिएपछि गन्दा मात्र सङ्ख्या धेरै देखिने तर कमाई नगन्य भएपछि सोच्नै पर्ने समय आएको छ।

यो तथ्याड्ढले नेपालको पर्यटक व्यवसायलाई खासै उत्साहजनक सन्देश दिँदैन। सङ्ख्यात्मक रूपमा नेपाल आउने बाह्य पर्यटकहरूको सङ्ख्या वृद्धि भएको देखिए पनि गर्ने खर्च खासै आकर्षक देखिएन। किन पर्यटन व्यवसायबाट पर्याप्त लाभ हुन सकेन ? यसमा पर्यटन व्यवसायी, सरकार तथा सरोकारवाला सबैले सोच्नैपर्ने समय आएको छ। जब सरकारले राजमार्गको होटलहरूमा सेवा सुविधाको गुणस्तर मापन गरेर फरक-फरक र·का स्टीकर टाँस्ने व्यवस्था गर्न सक्छ भने देशको एक प्रमुख आम्दानीको स्रोतको रूपमा रहेको पर्यटन उद्योगको विषयमा पनि एउटा मापदण्ड निर्धारण गरिनुपर्दछ र त्यो मापदण्ड व्यवसायी र पर्यटक दुवैको लागि लागू गरिनुपर्दछ।

राजधानीकै कतिपय स्टार होटल व्यवसायीले होटल बन्द गरेर सपिङ कम्प्लेक्सको रूपमा चलाइरहेका छन्। कतिपय स्टार होटलले स्टारको पगरी छोडेका छन्। भन्दा, पढ्दा, सुन्दा होटल व्यवसायी र मजदुरका विभिन्न कारणले भनिए पनि केही हदसम्म यी कारण पनि हुन सक्लान् तथापि एक प्रमुख कारण पर्यटक तथा पाहुनाको कारणले पनि हो। राम्रो होटलले आफ्नो स्टार्ण्र्डड मेन्टेन गर्न सस्तो दरमा सेवा दिन सक्दैन, बढी सुविधा भएको होटलमा पूर्वाधार, कामदारलगायतका कारणले लागत मूल्य नै बढी हुन्छ। त्यसैले पनि राम्रो भौतिक पूर्वाधार, श्रमिक हुनु मात्र पर्याप्त छैन यसको लागि त सोही अनुसारको खर्च गर्न सक्ने पर्यटकको पनि आवस्यकता छ। विश्वभरको सस्तो गन्तव्यमा नेपाल पर्दछ, यस्तो सस्तो गन्तब्यमा कमसल पर्यटकको मात्र सङ्ख्या बढेपछि हाम्रो अर्थतन्त्रलाई के पो टेवा मिल्छ – अब यसको सीमा र गुणस्तरको निर्धारण गर्ने पर्ने समय आइसकेको छ।

(लेखक अधिवक्ता हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width