आर्थिक तथा सामाजिक रुपान्तरणका लागि पर्यटन

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७३

नेपालमा ऐतिहासिक जनआन्दोलन २०४६ मार्फत् प्रजातन्त्र पुनस्र्थापना भइसकेपछि समाज विकासका विविध आयमसमेत गतिशील भएका छन्। प्रजातन्त्र पुनस्र्थापनापछिको यस अवधिमा उत्साहजनक प्रगति देखिएको क्षेत्र भनेको नागरिक चेतनाको स्तर हो। राजनैतिक चेतना, संघ, संगठनमा आवद्ध भई आफ्नो पेशागत एवं वर्गीय हकहितका सवालमा अधिकांश समुदायको क्षमता अभिवृद्धिसमेत भएको छ। यद्यपि सिमान्तकृत समुदाय, जनजाति र व्यक्ति विशेषमा यस्तो लहरको प्रत्यक्ष प्रभाव अपेक्षाकृत परेको छैन। बढ्दो सहरीकरण, शिक्षाप्रतिको जागरुकता र स्वास्थ्य सेवाप्रतिको जनचेतनाबाट शिक्षा, स्वास्थ्य, आमसञ्चार, यातायात क्षेत्रमा पूर्वाधार निर्माण र विकासका प्रयासमा उल्लेखनीय प्रगति भएका छन्। यद्यपि वर्तमान समयमा भूकम्पपछिको पुनर्निर्माण कामको गति र संविधान कार्यान्वयनका सर्न्दर्भमा देखिएको उदासिनताले हाम्रो व्यवस्थापकीय क्षमता र इमान्दारितामा प्रश्न उठेको छ।

ऐतिहासिक राजनीतिक परिवर्तनपश्चात् आम नेपालीले अनुभूत गर्न चाहेको विषय भनेको आफ्नो जीवनस्तरमा प्रगति नै थियो। न्यूनतम वेतनमानसहितको रोजगारीको अवसर, शारीरिक एवं मानसिक क्षमता विकासका लागि शिक्षा तथा तालिम, सर्वसुलभ स्वास्थ्य सुविधा, उपभोग्य वस्तुको सर्वसुलभ उपलब्धता र सुरक्षित जीवनयापनको वातावरण आदि आम सरोकारका विषय थिए। तर अफसोस हामीले नेपालीको आर्थिक तथा सामाजिक क्षेत्रको सरकारात्मक रुपान्तरण गर्ने गरी राजनीतिक घटनाक्रमलाई समाल्न वा व्यवस्थित गर्न सकेनौं। हरेक राजनीतिक पार्टीले आफ्नो सरकार भएको समयमा कृषि, जलस्रोत र पर्यटनलाई प्राथमिकताका क्षेत्र तोकेर बजेट निर्माण एवं कार्यक्रम बनाए पनि आम नेपालीले परिवर्तनको अनुभूति गर्ने गरी कार्यक्रम कार्यान्वायन हुन सकेको छैन।  यसर्थ राज्यले आर्थिक तथा सामाजिक रुपान्तरणका क्षेत्र पहिचान गरी तदनुरुपको योजना निर्माण तथा कार्यान्वयनमा ध्यान दिनुपर्ने देखिन्छ।

नेपालको सर्न्दर्भमा आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रलाई अपेक्षाकृत आधुनिक प्रविधिको प्रयोग गरी उत्पादकत्व वृद्धि गर्न सकिएको छैन। नेपालमा कृषि क्षेत्रले कूल ग्राहस्थ उत्पादनको लगभग ३२ प्रतिशत हिस्सा ओगट्दछ तर पनि भौगोलिक विषमता, खेतीयोग्य जमिनको अभाव, सिंचाइको असुविधा, उन्नत बिउ, मल एवं कृषि औजारको कमी, बढ्दो सहरीकरण र भू-माफियाको चलखेलबाट समेत खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै उत्पादनमा नकरात्मक असर परिरहेको छ। सरकारको सम्बन्धित निकायदेखि स्थानीय नागरिक समाजसमेत बेखबर रहने प्रवृत्ति अन्त्य गर्दै उपयुक्त नीति एवं प्रभावकारी कार्यान्वयनमार्फत् कृषि उत्पादनमा ध्यान दिनु जरुरी देखिन्छ। उपलब्ध स्रोत, सम्पदाको आधारमा देशको आर्थिक विकासमा प्रत्यक्ष सहयोग पुर्‍याउन सक्ने अन्य प्रमुख क्षेत्र जलस्रोत र पर्यटन हुन्।

विशेषगरी विकट भौगोलिक परिवेश, पूर्वाधार विकासको कमी एवं आवश्यक पुँजी तथा प्रविधिको अभावमा जलस्रोतलाई अपेक्षाकृत विकास गर्न सकिएको छैन। कतिपय सवालमा छिमेकी राष्ट्र भारतसँग भएका असमान सन्धि, सम्झौताका कारण जलस्रोतलाई बहुपक्षीय रुपमा उपयोग गर्न समेत कठिनाइ भइरहेको छ। जलस्रोत विकासले अपेक्षा गर्ने ठूलो परिमाणको पुँजी  आधुनिक एवं उच्च स्तरको प्रविधि र दक्ष जनशक्तिको आवश्यकताका आधारमा पनि जलस्रोतलाई अपेक्षाकृत उपयोगमा ल्याउन सकिएको छैन। जसको दुष्परिणाम बाढीले जलमग्न भएर बस्तीहरू डुबिरहेको अवस्थामा समेत लोडसेडिङको मार खेप्न हामी बाध्य भएका छौं।

सम्भावित प्राकृतिक स्रोत, साधनका आधारमा आर्थिक विकासको क्षेत्रमाथि विचरण गर्दा अको महत्वपूर्ण क्षेत्र भनेको पर्यटन हो। पर्यटन विकासका लागि आवश्यक पूर्वाधार एवं पर्यटकीय सम्पदाबारे विश्लेषण गर्दा हामी नेपाली अनुकूल अवस्थामा छौं। संसारकै छानो वा तेस्रो धु्रवको रुपमा सम्बोधित सगरमाथा हाम्रो देशमा भएकाले हामी गौरवान्वितमात्र भएका छैनौं, विश्व परिवेशमा हाम्रो पहिचानको माध्यमसमेत भएको छ। नेपाल संसारमै अग्ला हिमशैलाहरूको देश भनेर परिचित छ। यहाँ संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये आठ हिमचुचुरा पर्दछन्। दक्षिण एसिया वा भारतीय उपमहाद्धिपको माथि शीरमा टोपी लगाएजस्तै गरी पूर्व-पश्चिम फैलिएर रहेको हिमालय पर्वतमालाको मध्य भागको २४०० किमी खण्ड नेपालमा पर्दछ। विश्वकै सुन्दर र अग्ला हिमचुलीले सजिएको नेपालमा पर्वतीय पर्यटनको बलियो सम्भावना छ। हिमाल आरोहण एवं अग्ला हिमशिखरका आधारक्षेत्रसम्मको पदयात्राले गर्दा नेपाललाई पर्वतीय पर्यटनमा प्राकृतिक एकाधिकार नै कायम रहेको छ। हिमालय पर्वतमालाका आधार क्षेत्रमा रहेका बेंसी, उपत्यका, नदी किनार एवं पहाडी भूधरातलमा पाइने जैविक एवं सांस्कृतिक विविधताले गर्दा पर्यटकका लागि थप रुचि र आकर्षणका विषय बनेका छन्।

विशेषगरी सन् १९९० को दशकसँगै व्यवहारिक अभ्यास शुरु भएको पर्यावरणीय पर्यटनप्रतिको रुचि र चासोले नेपालको पर्यटन गतविधिमा झन् उत्साह पैदा गरेको छ। सहरी रहनसहन र कृत्रिम मनोरञ्जनबाट पट्यारिलो बनेका पर्यटक प्रकृतिको वास्तविक रुप र अवस्थालाई नजिकैबाट अनुभूति गर्न नेपाल आउन लालयित देखिन्छन्। त्यसमा पनि अन्नपूर्ण क्षेत्र वा पोखरा आउने अधिकांश पर्यटक (६० प्रतिशत) पदयात्रा पर्यटनतर्फ आकषिर्त भएको देखिन्छ। यसरी विश्व पर्यटन बजारको मागलाई सम्बोधन गर्न सक्ने प्राकृतिक स्रोत, सम्पदाका रुपमा हामीसँग हिमाल, नदी, झरना, ताल, प्राकृति गुफालगायत जीवजन्तु एवं वनस्पतिमा पाइने जैविक विविधता रहेका छन्। हाम्रा पुर्खाले नासोका रुपमा हामीलाई हस्तान्तरण गरेका हाम्रा सामाजिक मूल्य, मान्यता एवं सांस्कृतिक गतिविधिसमेत बाहृय तथा आन्तरिक पर्यटन बजारका आकर्षक वस्तु हुन्। उल्लिखित सम्पदाहरू हामीसँगै रहेको अवस्थामा नेपालमा पर्यटन विकासको माध्यमबाट सकारात्मक आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने बलियो सम्भावना देखिन्छ।

दोस्रो विश्वयुद्धपछि व्यवसायिक सुरुवातमा गति लिएको पर्यटनले विगत ६५ वर्षमा दु्रत वृद्धिदर भएको उद्योगको रुपमा स्थापित भएको छ। विश्वको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओग्टन सफल यो उद्योगमार्फत् मानिसमा आय, रोजगारी तथा जीवनस्तरमा समेत उल्लेख्य परिवर्तन भएको छ। विश्वव्यापीरुपमा वाषिर्क लगभग एक अर्ब २० करोड मानिस पर्यटकका रुपमा बाहिर भ्रमण गर्न निस्कने गर्दछन्। जसका कारण पर्यटन उद्योगको विकास र विस्तार हुँदै आएको छ। कठिन भूराजनैतिक अवस्था एवं भूपरिवेष्ठित समस्याका बाबजूद नेपाल विश्व पर्यटन बजारको यस्तो रणनीतिक अवस्थितिमा छ, जसले देशलाई आवश्यक वैदेशिक मुद्राको आर्जन गर्नुका साथै आय तथा रोजगारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने देखिन्छ। छिमेकी देश भारत तथा चीनबाट मात्रै करोडौं अन्तर्राष्ट्रिय पर्यटन बजारमा पर्यटक जाने गर्दछन्। हवाइ दूरीका हिसाबले सुगमता रहेको एसिया प्रशान्त क्षेत्रमा समेत विश्व पर्यटन बजारका करोडौं पर्यटक आवगमन गर्ने हुँदा उल्लिखित माहोललाई प्रभाव पार्ने गरी प्रवर्द्धनात्मक गतिविधि सुरु गरेमा नेपालले पर्यटन क्षेत्रबाट उल्लेख्य सफलता हासिल गर्न सक्ने देखिन्छ।

राजनीतिक स्थिरता, बन्द, हड्ताल र चक्काजामको अन्त्य तथा शान्तिपूर्ण सामाजिक जनजीवन पर्यटनलाई प्रत्यक्ष असर पुर्‍याउने महत्वपूर्ण विषय हुन्। हाम्रो देशको वास्तविकता यस्तो छ, जहाँ राजनीतिक स्वार्थमा विकासका मुद्दा ओझेल परेका छन्। विकासका साझा मुद्दामा समेत देशभित्र सहमति हुन सकिरहेको अवस्थ्ाा छैन। जुन क्षेत्र एवं स्रोत र सम्पदाको यथोचित सदुपयोगबाट देशले सकारात्मक परिवर्तन गर्नुपर्ने हो, नागरिकले जीवनस्तर सुधारको महसुस गर्नुपर्ने हो, त्यसैलाई प्रत्यक्ष प्रभावित पार्ने गरी देशको राजनीतिले अस्ितरताको मोड लिइरहेको छ। परिणाम स्वरुप आँधी, तुफानमा हराएको समुन्द्री डुंगाजस्तै दिशाविहीन छ देशको राजनीति र डामाडोल बन्दैछ देशको अर्थतन्त्र। यसर्थमा आज हामी नेपाली हुनुको गौरव र पीडा एकैचोटी भोगिरहेका छौं। प्रजातन्त्र पुनस्र्थापनापश्चात् सुरु भएको खुला र प्रतिस्पर्धात्मक व्यवसायिक अभ्यासलाई व्यवस्थितमात्र गर्न सकेको भए २० औं वर्षपछि आएर पनि १० लाख पर्यटक संख्याका लागि राष्ट्रिय लक्ष्य किटान गर्नुपर्ने दयनीय अवस्था शायद हुने थिएन। समय अझै र्घर्किसकेको छैन। सफल कार्यको सुरुवात आफैमा एउटा ऐतिहासिक राम्रो घटना हो। यसर्थमा नेपालको सकरात्मक परिवर्तनको बाहकका रुपमा रहेको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै प्राथमिकताका साथ पर्यटन विकासको सर्न्दर्भमा सम्बन्धित सबै पक्षको सहयोग र सहभागितामा अगाडि बढ्नु आजको अनिवार्य आवश्यकता हो। पर्यटन क्षेत्रको विकासमार्फत् आम समुदायकोे जीवनस्तर सुधार गर्दै देश विकासको पाइलामा अगाडि बढ्न सक्ने सम्भावना देखिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width