आदिदेव विश्वकर्माद्वारा नव निर्माण

आदर्श समाज सम्वाददाता
असाेज १, २०७०

सृष्टिको रचना हाम्रा धार्मिक ग्रन्थहरूको अध्ययनअनुसार हजारौं वर्ष पहिले भएको कुरा थाहा पाउन सकिन्छ। तर युगको परिवर्तन केही हजार वर्षको अन्तरमा भइरन्छ। हामीले सुन्दैआएका छौं कि, सत्य युग, त्रेतायुग, द्वापरयुग, र कलियुग। यी युगहरूको परिवर्तन हुँदा पृथ्वीमा विभिन्न किसिमका प्रलयहरू आउँछन्। तिनै प्रलयपश्चात् युगको नवनिर्माण हुन्छ। ती युगको परिवर्तन र प्रलयपछि निर्माणको आवश्यकता हुन्छ। एकातिर प्रलयले ठूलो जन, धन तथा भूमिकै क्षति भएको हुन्छ। केही बचेखुचेका महान् प्राणीहरूका लागि सबै कुराको आवश्यकता त हुन्छ नै। तर ती पूरा गर्न सामान्य मानिसको हैसियतले हुँदैन। ती प्रलयलाई रूपान्तरण गर्नका लागि अलौकिक शक्तिको आवश्यकता पर्दछ। हामीले जन्मजात सुन्दैआएका भगवान देवी-देवताहरूबाटै यी कार्यहरू सम्पन्न र सम्पूर्ण हुन सक्छन्।

प्रलय वा विनाशपछि के हुन्छ ? विनाशको पछाडि अन्त त छैन। विनाशपछिको विकासका लागि भगवानले श्री विश्वकर्मालाई निर्माणका रूपमा यस्ता हरेक युगमा पठाइरहनु हुन्छ। उहाँले प्रत्येक युगअनुसारका निर्माण कार्य अगाडि बढाउनु हुन्छ। हामीले सुन्दैआएका छौं। “सत्ययुग” सत्ययुगमा सबै चिज सत्य हुन्छन् वा सम्पूर्ण सृष्टि नै सत्यप्रधान हुन्छ। त्यसैले त्यहाँको निर्माण नै नम्बर एक हुन्छ। सम्पूर्ण भवनहरू सुन, चाँदी, बहुमूल्य रत्न, पत्थरहरूद्वारा बनाइएका हुन्छन्। ती सबै निर्माण डिजाइन देवशिल्पी, विश्वकर्माद्वारा गरिएको हामी सुन्दछौं। त्यसै गरी त्रेतायुगमा लंकाको राजमहलको बढी चर्चा छ। असाध्यै ठूलो खर्चमा बहुमूल्य धातू र रत्नहरू जडेर बनाइएको थियो। प्रलयपश्चात् त्यो दरबार समुन्द्रमा भासिन पुग्यो। आजसम्म पनि वैज्ञानिकहरूको अनुसन्धानबाट उक्त दरबार टुटफुट नभै समुद्रमै रहेको कुरा पत्ता लागेको छ। हिरा, माणिक, पन्ना, क्रिष्टल, स्फटिकजस्ता महत्त्वपूर्ण धातुबाट भगवान विश्वकर्माले निर्माण गर्नुभएको थियो। त्यसैगरी द्वापरयुगमा थुप्रै निर्माणका साथसाथै लगभग अन्तिम निर्माण इन्द्रप्रस्थमा पाण्डवहरू बस्ने दरबार बनाइएका थिए। जहाँ विचित्र अलौकिक थिए। वायुयान, दिब्य हतियार, पुष्पक विमान विश्वकर्माका निर्माण थिए। निर्माण सँगसँगै वहाँको महिमा र अलौकिक कार्यका केही कुराहरू यहाँहरूसमक्ष राख्न चाहन्छु।

पृथु राजाले आफ्नो राजदरबार बनाउने इच्छा गर्नुभयो। एकपटक देवता र राक्षसहरूको लर्डाईमा देवताहरूको साथ लिएर इन्द्रको दरबारमा पुग्दा त्यहाँको निर्माण देखेर दङ्ग परेका राजा पृथु राम्रो दरबार बनाउने लक्ष्यमा थिए। उनले सम्पूर्ण निर्माणमा ज्ञाता परम कृपालु विराट विश्वकर्माको स्तुति गर्न लागे। तव देवाधिदेवको प्रार्थना गर्दै-“हे जगत कृपालु जगत पिता, तपाईं आफ्नो भक्तको कल्याण गरी नै रहनुभएको छ, हामी सबैको उपकार गरिरहनुभएको छ, हे सदा उपकारी प्रभु, हे दयाकासागर, त्रिलोक निर्माणकर्ता मेरो राज्यमा आवश्यक एउटा नमुना शहरको निर्माण गरिदिनुपर्‍यो” भनि गरेको प्रार्थना भगवान विश्वकर्माले सुनी वहाँको पाँच मानस पुत्रहरूलाई लिई राजा पृथुको दरबारमा पुग्नुभयो र आफ्ना पुत्रहरूलाई आज्ञा दिनुभयो। देवाधिदेव विश्वकर्मा प्रभुले राजा पृथुको इच्छाअनुसार मुख्य राजदरबार एक सय आठ हात लम्बाई भएको, दोस्रो एक सय, तेस्रो ९२ हात, चौथा ८५, पाँचौ ७६ हात लम्बाई भएको भवनहरूमा सबै सुविधा भएको सात तले भवन बनाइदिनु भयो। त्यसैगरी मन्त्रीको लागि ६० हात मुख्य र अन्य ४ वटा भवन रचना गर्नुभयो। ८० हात लम्बाई भएको युवराजको भवन, अन्य मुख्य अधिकारीहरूको लागि ४८ हात लम्बाई भएको पण्डित पुरोहितहरूको राजगुरुको लागि ४० हात लम्बाई भएको, ब्राहृमणहरूको लागि ३६ हात लम्बाई भएको, चार-चार भवनहरू शिल्पशास्त्रअनुसार हरेक नाप प्रमाण लिएर अथाहा कला, कालीगढी, चित्रकारीयुक्त अति सुन्दर शोभायमान भवनहरू निर्माण गरिदिनुभयो। राज्यमा हरेक योग्यता अनुसारको लागि निवास गृह, अग्निशाला, आश्रम, अनाज भण्डार, शस्त्र भण्डार, उपवन, उद्यान, जलासय, रंगशाला, आवश्यकता नुसार ध्वजापताका शृङ्गार एवं रंग-रोगन गरी निर्माण सम्पन्न गरिदिनु भइ त्यहाँबाट फिर्ता हुनुभयो। नगरका हरेक ठाउँमा देवालय, तीथस्थान, आवास मन्दिर निर्माण सम्पन्न पश्चातमुहूत उद्घाटन समारोह, आनन्द गृह प्रवेश कार्य, नगर प्रवेश कार्य, उत्सव साइत जुराएर गर्नको लागि राज्यका विद्वत व्यक्तित्वहरू मन्त्री, राजगुरु एवं राज्यसभा बोलाइयो र परामर्श पश्चात् सबैको कुरा सुनिसकेपछि पृथु राजाले कृपालु परमात्मा श्री विश्वकर्माको पूजा गर्नुपर्‍यो भनी पुरोहितलाई असल साईत हेर्न भनी आज्ञा दिनुभयो। पुरोहितले राजन्,  आश्विन १ गते त्रयोदशीका दिन भगवान विश्वकर्माको पूजन गर्नु राम्रो हुन्छ भनी भन्नुभयो र राजाले उक्त दिनमा परमप्रभुको पूजनोत्सव भव्यताका साथ गर्नका लागि सबै प्रजाजनलाई हुकुम दिनुभयो। राज्यमा विश्वकर्मा पुजनोत्सव मनाउन जोडदार तयारी सुरु भयो। नगरलाई भव्यताकासाथ सजावट गरियो। मन्दिरमा शङ्ख, घण्ट, नगडा, ढोल, सहनाई, मृदङ्ग बजाई राज्यका मन्त्री तथा अधिकारीहरूसँगै राजा पृथु नगरभन्दा बाहिर विराजमान प्रभुको पूजन ग्रहणका लागि निमन्त्रणा गर्दै भन्नुभयो-हजूरले बनाएका सारा निर्माणमा हजूरले पाऊ टेकी पवित्र बनाइदिनुपर्‍यो यस्तो राजाको विन्तीलाई स्वीकृति दिनुभयो। विभिन्न हषोर्ल्लोसका साथ नगरको परिक्रम गर्दै उत्तम रत्न जडित सुनको छाना भएको शोभायमान सिंहासनमा प्रभु विश्वकर्मालाई राजदरबारमा विराजमान गराइयो।

राजा-रानीले सुगन्धित जलले प्रभुको चरण धोर्इ चरणामृत पान गरी- हे देव मेरो एवम् कुलका निरन्तर स्वामीस्वरूप हजुरले दिएको अर्घ्याको ग्रहण गर्नुहओस्। यसो भन्दै राजाले सुगन्धित गंगा जल, उत्तम पुष्प, पञ्चामृत, गरम-ठण्डा जलले स्नान गराई सुगन्धित धूप-दीप बालेर उत्तम वस्त्र एवं अलङ्कार भगवानलाई अर्पण गर्नुभयो। नैवेद्य एवम् हरेक प्रकारका मिष्ठान्न पकवानद्वारा रानीले प्रभुलाइ भोजन ग्रहण गराउनुभयो। भगवानले भोजन ग्रहण गरेपछि सारा जगत नै तृप्त भयो। सारा नगरवासीले नगर नै प्रकाशमय भएको अनुभव गरे। नगरका स्त्रीहरू, व्यापारीहरू तथा अन्य जनले प्रभुलाई वस्त्र-अलङ्कार एवम् पुष्प आदि भेट गरे। राजा-रानीले भगवानको आरति उतारी सबैजनाले प्रभुको परिक्रमा गरे। प्रभुलाई विदाई गर्न पूरोहित सहित, राजा-रानी, युवराज, मन्त्री, अधिकारी प्रभुको प्रार्थना गर्न लागे। हे भगवान तपाईं सम्पूर्ण विश्वको रचना निर्माण गर्नेवाला, सबको पालना गर्नेवाला, सौर्यशक्ति, कार्यशक्ति, माया आदि सबैमा अलौकिक हुनुहुन्छ, निराकार हुनुहुन्छ, देव पूज्य हुनुहुन्छ एवम् प्रकारले प्रार्थना गरे। प्रभुले सबैलाई वरदान दिनुभयो। भगवानको वचन सुनेर सबैजना हर्षविभोर भए। सबैले विस्तारै आँखा बन्द गर्दै प्रभुको लिलाको स्मरण गर्न लागे। भगवान आफ्ना पाँच पुत्रसहित अन्तरध्यान हुनुभयो। नगरबासी र उनका वंशजलाई एकैक्षणमा शिल्प विद्याको अनेक प्रकार ज्ञान विज्ञानको प्रेरणा  मिल्यो। त्यही दिनदेखि आश्विन १ गतेका दिन भगवान विश्वकर्माको पूजनोत्सव मनाउन सुरु गरिएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width