‘आदर्श समाज’ लाई फकेर्र हेर्दा

सन्दर्भः २३ औं वार्षिकोत्सव

विष्णुप्रसाद श्रेष्ठ
वैशाख १, २०७६

वि.सं.२०५३ सालतिरको कुरा हो। त्यसवेला आदर्श समाज पत्रिका पहिला पाक्षिक रुपमा प्रकाशित हुन्थ्यो र २०५४ वैशाखदेखि साप्ताहिक रुपमा प्रकाशन हुन लाग्यो। त्यसवेला आदर्श समाज पोखरा नयाँबजारस्थित सुदीप अफ्सेट प्रेसबाट छापिन्थ्यो।

एक दिन म आफ्नो निवासमा वसिरहेको वेलामा रवीन्द्र माकाजु आए। हामी दाजुभाइको सम्वोधन गर्ने गर्दछौ। उनीसगं मेरो सम्वन्ध नातेदारका कारणले भन्दा सनातन धर्म सेवा समितिको कारणले नजिक भएको हो। पोखरामा सनातन धर्म सेवा समिति स्थापना गर्ने हामी दुवै संस्थापक हौं।

रवीन्द्र माकाजुसंग अन्य समसामयिक विषयको कुरा हुँदै थियो, उनले एक्कासी एउटा प्रस्ताव राखे –“दाइ, म एउटा प्रस्ताव राख्छु स्वीकार गर्नुहोस् है” मैले भने कि राम्रो र भलो हुने कुरा हो भने स्वीकार्छु। यसै सिलसिलामा उनले आदर्श समाज पत्रिकाको कुरा उठान गरे। सनातन धर्म सेवा समिति कास्कीबाट प्रकाशन भएको पत्रिका ‘स्वधर्म’ को सम्पादन प्राय मैले गर्दथे। त्यसै गरी लेख रचनाहरु मेरा प्रकाशित भइरहन्थे। त्यसै भएर होला उनले भने “दाइ, आदर्श समाजलाई हामी मिलेर दैनिक रुपमा प्रकाशन गरौ। ” मैले भने “विचार त राम्रो हो, तर त्यसको लगानी कसले गर्छ नि? ” उनले भने “लगानी गर्नका लागि, कृष्णप्रसाद बास्तोला, कल्याण पालिखे र मसमेतको एउटा टीम बन्ने कुरा भएको छ, त्यसकारण यसमा तपाइले चिन्ता लिन पदैर्न ” मैले प्रश्न गरेँ ‘सम्पादक’ को जिम्मेवारी कसले लिन्छ त? ” उनले भने ‘सम्पादकमा कृष्णप्रसाद बास्तोला रहनु हुन्छ। बरु दाइले व्यवस्थापनको जिम्मेवारी लिन पर्यो र साथै आवश्यकतानुसार लेख रचनाको सम्पादन गर्ने काममा पनि सहयोग पुर्याउन पर्ला’ मैले पनि विचार गरे कि यो काम राम्रो काम हो। निरन्तर रुपमा चलेको पत्रिका बन्द भए यस क्षेत्रकै लागि नोक्सान हो, त्यसकारण जसरी भए पनि चलाउन पर्छ, भन्ने लाग्यो र मैले ‘हुन्छ’ भने। यसरी सवैतिर सरसल्लाह मिलेपछि ‘मुनाल प्रेस, पालिखे चोकमा आदर्श समाजको कार्यालय खुल्यो। पत्रिका छपाइको काम पनि सोही प्रेसबाट गर्ने व्यवस्था मिलाइयो। यसरी सो पत्रिका दैनिक रुपमा पुनः प्रकाशन गर्न थालिएको हो।

२०५५ साल सम्म पोखरामा पत्र पत्रिका चलाउन भनेको ‘घाटाको व्यापार मानिन्थ्यो। पत्रिकाको वार्षिक ग्राहक बन्ने र पत्रिकामा विज्ञापन दिने त्यति चलन थिएन। हामीले सर्वप्रथम वार्षिक ग्राहक वनाउने अभियान चलायौँ। यसका लागि प्राय रवीन्द्र माकाजु र म संगसंगै हिडथ्यौ। पोखरामा रवीन्द्र माकाजुका नातेदार एंव शुभचिन्तकहरु धेरै भएकाले वार्षिक ग्राहक बनाउने कामले तीव्रता पायो। हामीले ग्राहक बनाउने काम तीव्रता पार्यौ। हामी त्यसवेला करीव १ हजार जनालाई वार्षिक ग्राहक बनाएको जस्तो संझना छ।

त्यसवेलासम्म पोखरामा व्यापारिक प्रयोजनका लागि वा बधाईज्ञापन गर्न विज्ञापन दिने चलन थिएन। भएपनि ज्यादै थोरै थियो। घर घरमा पसल पसलमा गएर विज्ञापनका लागि अनुरोध गर्नु पर्दथ्यो। यस कामका लागि पनि रवीन्द्र माकाजु, कल्याण पालिखे र कृष्णप्रसाद बास्तोलाको सक्रिय योगदान रहयो। पोखरामा बधाई दिने तथा ‘शोक व्यक्त गर्न विज्ञापन दिने चलन आदर्श समाजको प्रकाशन पछि नै बढेको जस्तो लाग्छ। आदर्श समाज प्रकाशन हुन थालेपछि समाचारको निष्पक्षता खोज मूलक समाचार र स्तरीय लेख रचाना तथा स्तम्भले पनि पत्रिकाको लोक प्रियता वढ्यो। आदर्श समाज त्यसवेला देखि निरन्तर रुपमा प्रकाशित हुँदैआइरहेको छ र यसले आफ्नै विश्वसनीयतामा कुनै सम्झौता गरेको जस्तो लाग्दैन।

यसरी संयुक्त लागानीमा आदर्श समाज करीब २ वर्ष चल्यो। पछि गएर संचालक वा लगानीकर्ताहरुमा कुनै समस्या आएर होला कृष्णप्रसाद बास्तोलाको निजी प्रयासमा पत्रिकाको प्रकाशन हुन थाल्यो।, हामी अलग भयौं। रवीन्द्र माकाजु र मेरो प्रयासबाट पोखरापत्र दैनिक जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी सो पत्रिका प्रकाशन भयो। सो पत्रिकाको प्रधान सम्पादकको जिम्मेवारी मैले सम्हालेको थिएँ र सम्पादकद्वयमा यज्ञप्रसाद बास्तोला र माधव वियोगी थिए।

पोखरामा पत्रपत्रिकाको प्रकाशन एंव संचालनको अनुभवलाई दृष्टिगत गर्दा पत्रिका प्रकाशन गर्ने आर्थिक दृष्टिले जोखिमपूर्ण देखिन्छ। पोखरापत्र प्रकाशित भएपछि पोखरेली प्रकाशन हुन थाल्यो र जनमत पुनः प्रकाशित भयो। पोखरापत्र, जनमत र पोखरेली गरी तीनओटा पत्रिका एकैसाथ संचालन हुन कठिन हुने भनेर यी तीन ओटै पत्रिकाका प्रकाशकले फेवा प्रकाशन प्रा.ली गठन गरी तीनओटा पत्रिकाको स्वामित्व सो प्रकाशनलाई सुम्पिएको संझना छ। पोखरामा १/२ वर्ष प्रकाशित हुने, त्यस पछि हराउने पत्रिकाको संख्या थुप्रै छन्।

पत्रिकाको समाचारमा निष्पक्षता, खोजमूलक समाचार, स्तरीय लेखरचना उपयोगी स्थायी स्तम्भ, चुस्त र प्रभावकारी व्यवस्थापन हुने हो भने पत्रिका निरन्तर रुपमा चल्न सक्छ भन्ने उदाहरणमा आदर्श समाज पत्रिकालाई लिन सकिन्छ। यस पत्रिकाले लेख रचनाका लेखकहरुको सम्मान गर्दै उचित पारिश्रमिक समेत दिने गरेको र पत्रिकामा कार्यरत पत्रकार एवं कर्मचारी हरुलाई नियमित रुपमा उचित पारिश्रमिक दिने गरेबाट पनि पत्रिकाले लामो यात्रा गर्न सफल भएको मान्न सकिन्छ।

आजकल बजारमा आएका पत्रिका हात पर्न नपाउँदै पाठकहरु प्रश्न गर्न थाल्छन “यो पत्रिका कुन पक्षको हो। ” भनेर। हाल पत्रिकाहरुले कुनै न कुनै राजनैतिक पार्टीको विचार वा दर्शन वोकेर हिँडने भएकाले यस्तो प्रश्न गरिएको हुन सक्छ। तर यस विषयमा आदर्श सामाज भने फरक भएको लाग्छ। यस पत्रिकाले राजनैतिक पार्टीको विचार भन्दा सत्य, तथ्य समाचार र विचारलाई सम्प्रेषण गर्छ। त्यस कारण यो पत्रिकाले पाठकको मन जित्न सफल भएको छ। यो पत्रिका निरन्तररुपमा संचालन भई सफलताको चुचुरोमा पुग्न सकोस् भन्ने कामना छ। अस्तु

Related News

सम्बन्धित समाचार

hero news full width