हाम्रो शिक्षा : न सीपमूलक, न प्रविधियुक्त

naendra raj poudel  नगेन्द्रराज पौडेल
कार्तिक १८, २०७६

लिंकनले अगाडि लेख्छन्‘ मेरो छोरो जतातिर हुल छ त्यतातिर लाग्ने प्रवृत्तिको नहोस्। उसलाई कहिलेकाँही आँखाबाट आँशु झार्न लाजमर्दो कुरो होईन भनीदिनुहोस। ऊ आफ्नो बाहुबल बुद्धि र सामथ्र्यमा विश्वास गरोस्।

चीनमा एउटा उखान छ ‘मलाई एक किलो माछा उपहार होइन माछा मार्नका लागि सीप देऊ, ताकि म आफैले मन लागेको बेला माछा मारेर खान सकूँ ’। तर आजकल हाम्रो पठन पाठनमा सैद्धान्तिक कुरा मात्र छ। सीप छैन। व्यावहारिक पक्ष उपेक्षित नै छ। कोरा ज्ञान, घोकन्ते विद्यामा नै हाम्रो शैक्षिक प्रणाली आजसम्म चलिरहेको छ। के सिक्यो हैन, कति अंक ल्यायो भन्ने नतिजाको पर्खाइमा रहेका अभिभावकलाई सन्तुष्ट पार्ने बाहेक गरिखाने शिक्षा पटक्कै दिन सकिएको छैन। यो आजको बिडम्बना नै हो। कोरा किताबी ज्ञानले आज कसैको पनि गुजारा हुने अवस्था छैन। गर्जो टार्न नसक्ने शिक्षा, शिक्षा नै होइन।

व्यवहारमा परिवर्तन खै?

शिक्षा आर्जन गर्नु भनेको घोक्नु मात्र होइन, सिकाइ उपलब्धि हुनु पनि हो। सिकाइ हुनु भनेको व्यवहारमा आएको स्थायी सकारात्मक परिवर्तन हो। यो परिवर्तन मापनीय हुनुपर्छ र यसका लागि व्यावहारिक शिक्षा नै चाहिन्छ। अमेरिका, युरोप, जापान, चीनलगायतका मुलकहरूको उन्नति र प्रगति व्यावहारिक शिक्षाको विकासको कारणले गर्दा नै भएको हो। शिक्षाले व्यक्तिलाई सत्य कुराको ज्ञान प्रदान गरेर मात्र पुग्दैन, कुनै पनि काम गर्न सक्ने सीप अर्थात् खुबी प्रदान गर्न सक्नुपर्छ। हामीकहाँ विद्यालय शिक्षाको सन्दर्भमा होस् वा विश्वविद्यालयको सन्दर्भमा, संख्यात्मक हिसाबमा शिक्षाको विकास धेरै नै भएको छ। तर गुणस्तरको पाटो कमजोर छ। पढेर देश नै छोडनु पर्ने शिक्षाको कुनै दरकार हुँदैन। शिक्षाले त देशमा टिकाउन सक्नु पर्छ। बजारमा बिकाउन सक्नुपर्छ। तर जति पढ्यो त्यति बेरोजगार हुने शिक्षा राष्ट्रका पक्षमा हुनै सक्दैन।

सिक्नैपर्ने कुरा

मेरो छोराले के सिकोस् भन्ने सवाल गर्दै अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिंकन आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई पत्र लेख्दै “मेरो छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस्। समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन्। स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान नेता पनि छन्। त्यस्तै शत्रु पनि छन् मित्र पनि छन् । उसलाई सित्तैमा पाएको हजारौँ डलरभन्दा परिश्रम गरी कमाएको एक डलरभन्दा बढी मूल्यवान हुन्छ भन्ने कुरा बताई दिनुहोस्” भनेका छन्।

लिंकनले अगाडि लेख्छन्‘ मेरो छोरो जतातिर हुल छ त्यतातिर लाग्ने प्रवृत्तिको नहोस्। उसलाई कहिलेकाँही आँखाबाट आँशु झार्न लाजमर्दो कुरो होईन भनीदिनुहोस। ऊ आफ्नो बाहुबल बुद्धि र सामथ्र्यमा विश्वास गरोस्। सम्झनुहोस् आगोको लप्काबाट नै फलाम खारिन्छ। ऊभित्र साहस र सधैँ केही गरौँ भन्ने भावना भइरहोस्। मेरो छोरो स्वयम् निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनिमात्र ऊ मानवताप्रति नरम र आस्थावान हुन सक्छ ’।

मानवता हराउँदै गएको, पढेर पनि अनपढ व्यवहार गर्ने वर्तमान युवा पुस्ताका लागि लिंकनको उक्त सन्देश निकै मार्मिक र आजका सन्दर्भमा उपयुक्त पनि देखिन्छ। आजको पठन पाठनले न सीप दिएको छ न व्यवहार। तसर्थ व्यावहारिक पक्षमा लिंकनको उक्तआकांक्षाले आम नेपाली अभिभावकको प्रतिनिधित्व गर्दछ। हामीले खोजेको एकथरी शिक्षा यस्तै पनि हो।

रहरले हैन करले जान्छन् विद्यालय

बा,

पाठशाला जान्नँ म

इतिहास पढाइन्छ त्यहाँ

मरेका दिनहरुको ’।

यी हरफहरु हरिभक्त कटुवालको रहर शीर्षकका हुन्। आज पनि हाम्रो शिक्षापद्धति घोकन्ते छ। सैद्धान्तिक छ। हाम्रा बालबालिकाहरुको चाहना र हाम्रो शिक्षा पद्धतिबीच सामिप्यता छँदै छैन। रामशाह मरेको इतिहास घोकेर आजका विद्यार्थीले के पाउने? प्रजातन्त्र आएको कुरा २००७ साल फागुन ७ गतेको सट्टा कसैले फागुन ६ वा ८ गते भन्यो भने के नै बिग्रला? बढीमा यस्तो सामान्य कुरा पनि जानेन भनिएला, कुरा यत्ति हो। यो जान्नु र नजान्नुसँग बच्चाको दैनिकी गुजारामा तात्विक अन्तर आउँदैन।

बरु आजका विद्यार्थीले प्रजातन्त्र आएको कुरा, तिथि, वार र समय घोकेर भन्दा गुगलमा सर्च गरेर पत्ता लगाउन चाहन्छन्। आज उनीहरुलाई गुगल हेरेर यो चाहना पूरा गरिदिने शिक्षा चाहिएको छ। आजका बच्चाहरुलाई तयारी हालतकोभन्दा सिर्जनशील बनाउने शिक्षा चाहिएको छ। कतिपढ्ने भन्दापनि के पढ्ने भन्ने सवाल नै आजको शिक्षाको मुख्य मुद्दा हो। यसका लागि विद्यार्थीलाई विद्यालय जाउँजाउँ लाग्नुपर्छ। करले होइन रहरले विद्यालय जाने वातावरण बनाउनुपर्छ र यसका लागि उसको रुचि, इच्छा र चाहना अनुसारको विषय पढन पाउनुपर्छ। स्वतस्र्फुत सिकाइ वातावरण हुनुपर्छ।

प्रजातन्त्रको उदयताका २००७ सालमा हामीसँग २ प्रतिशत साक्षरता दर थियो। आज संघीय गणतान्त्रिक व्यवस्थाको अभ्यासमा जुट्दै गर्दा यो दर बढेर ७० प्रतिशतभन्दा माथि पुगेकेा सरकारको दावी छ। यो सन्तोषको विषय हो। तर पढेका जनशक्तिमध्ये कतिजना रोजगारीमा लागे भन्ने कुरा पनि महत्वपूर्ण हो। बजारमा बिकाऊ नहुने र ज्ञानमा टिकाऊ नहुने शिक्षा प्रदान गरेर वषेर्नी बेरोजगार उत्पादन गर्ने शिक्षा कुन हदसम्म जारी राख्ने भन्ने कुरा आजको मुख्य समस्या हो। यसैकारण व्यावसयिक शिक्षा आजको मुख्य आवश्यकता थियो। तर हामीले विगतमा भएको पूर्वव्यावसायिक विषयलाई पनि पाठ्यक्रमबाट हटायौं। भएको अलिकति सीप सिक्ने प्रयोगात्मक पक्ष पनि हटायौँ। विगतमा कक्षा ८ बाट ऐच्छिक विषयका रुपमा बागबानी लिन सकिन्थ्यो। त्यो अवसर पनि आजका विद्यार्थीलाई दिएनौँ। जसलेगर्दा गरीखाने शिक्षाको अभावमा प्रमाणपत्रहरु खोटोमोहर हुनथाले। दराजभरि प्रमाणपत्रहरु थन्किएका छन् तर ती प्रमाणपत्रहरुको बजार भाऊ शून्य छ। आजको मूल समस्या नै यही हो।

बेरोजगारी बढ्दो

पढेर पनि स्वदेशमा काम पाउन नसक्दा कैयौं संख्यामा युवाहरु विदेश पलायन भएका छन्। युवा भनेको शारीरिक र मानसिक विकासका दृष्टिले किशोर र वयस्क अवस्थाबीचको उमेर समूह हो । युवा सर्वाधिक सक्रिय, ऊर्जावान र गतिशील समूह पनि हो। राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समूह भित्रको जनशक्तिलाई युवा मान्ने गरेको छ । कूल जनसंख्याका हिसाबले हेर्दा ४०.३५ प्रतिशत यो समूहमा पर्दछन्। युवा विकास सूचकांङ्कमा नेपाल विश्वमा ७७ औं स्थानमा छ। १९.२ प्रतिशत युवाहरु आज पनि पूर्ण बेरोजगार छन्। कृषिमा संलग्न युवाहरु ५०.२ प्रतिशत छन्। २६.१ प्रतिशत युवाहरु स्नातक भैकन पनि बेरोजगार छन्।

प्रतिवर्ष ५लाख ३८ हजर युवाहरु विदेशिने गरेको पाइन्छ। यसरी विदेशिनेहरुमध्ये ७४ प्रतिशत युवाहरु अदक्ष छन्। उनीहरु विदेशमा गएर यही काम गर्ने भन्ने कुनै टुंगो छैन। जे पायो त्यही गर्ने शर्तमा विदेश गएका हुन्छन्। २४ प्रतिशत अर्धदक्ष सम्म छन्। २ प्रतिशत मात्र दक्ष छन्। दुःखको कुरो स्वदेशमा काम नपाएर खाडी मुलुकसमेत जान बाध्य यिनै युवाहरुमध्ये प्रतिदिन सरदर ३ देखि ४ ओटा बाकसमा उनीहरुको लाश नेपाल फर्कने गर्छ। यो अवस्था आउनुका पछाडि हाम्रै गलत शिक्षानीति दोषी छ। न गरी खाने न मरीजाने शिक्षा दिएर हामीले युवालाई घरको न घाटको बनाएकै हौं।

आजको आवश्यकता भनेको प्राविधिक शिक्षा हो। ९–१२ कक्षाको प्राविधिक धारले मात्र यो आवश्यकता पूरा गर्न सक्दैन। आधारभूत ज्ञान कक्षा ८ सम्म दिइए पनि कक्षा ९ बाट पूरै श्रम र सीपमा आधारित प्राविधिक शिक्षा नै दिनुपर्छ। कलेज स्तरमा प्रदान गरिने सैद्धान्तिक ज्ञानलाई पूरै भत्काएर प्रविधिमा आधारित शिक्षा प्रदान गर्न जरुरी छ। तर आज पनि हाम्रा अधिकांश विश्वविद्यालयहरु सामान्य धारकै शिक्षा दिन रुचाउँछन्। यो अर्को बिडम्बना हो।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

नेपालको राजनीति र जनताको अवस्था

सार्कलाई पुनर्जीवन दिने चिन्ता

पर्यटकीय सम्पदा व्यवस्थापन एवं प्रवद्र्धन

हाम्रो परिचय क्षेत्र हिमवत्खण्ड नेपाल

जनता र नेता बीच अन्तर

प्रमुख समाचार

पीपीएलमा पोखराको सुखद सुरुवात

थप प्रमुख समाचार