सामाजिक सञ्जालमा असामाजिक क्रियाकलाप

 नगेन्द्रराज पौडेल
कार्तिक २५, २०७६

हिजोआज सञ्जालमार्फत् व्यक्ति, संस्था र समूहलाई गाली गरेर रमाउनेको जमात बढ्दो छ। सामाजिक सञ्जालमा मन नपरेका विषय, व्यक्ति र समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्नेहरूको जमात पनि उत्तिकै सक्रिय छ।

सञ्चार आजको युगको शक्तिशाली माध्यम हो। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले ‘एडासिटी अफ द होप’ नामक पुस्तकमा ‘म त्यो मानिस हुँ जस्तो सञ्चारले सम्प्रेषण गर्छ, मैले त्यो गर्छु सञ्चारले जे गरेको भनिदिन्छ ’ भनेका छन्। सम्पत्ति विवरण किन ढाँटेको? भनी प्रश्न गर्दा टेलिभिजनकर्मी राजु थापाको जस्तै जागिर खाइदिने सञ्चारमन्त्रीहरु संसारका अन्य देशमा विरलै पाइन्छन्। मतलव, सञ्चार सबैको प्रिय विधा नै हो। संसारका कैयन् मानिसले समाचार र सञ्चारमा आएका खबरकै आधारमा आफ्नो धारणा र दृष्टिकोण बनाएका हुन्छन् ।

आजकल सञ्चारका लागि सामाजिक सञ्जाल निकै लोकप्रिय बनेर आएको छ। सामाजिक सञ्जालका २ ओटा विधा यतिबेला निकै चर्चित रहेका छन्। सर्वसाधरणदेखि विशिष्ट व्यक्तिहरुसमेत सामाजिक सञ्जालका यी दुई विधा फेसबुक र ट्विटरमा निकै रमाएको पाइन्छ। सामाजिक सञ्जालमा भारतमा प्रधानमन्त्री मोदीलाई ४० करोड नागरिकले पछ्याउँदै उनको समर्थन तथा प्रभाव वृद्धि गर्न विभिन्न सुझाव दिएको पाइन्छ। अमेरिकाका राष्ट्रपति ट्रम्प यस्ता समर्थन पाउनेहरूको अग्र सूचीमा छन्। हाम्रा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्राई पनि सामाजिक सञ्जालमा समकालीन नेताभन्दा माथि देखिन्छन्। पूर्व सचिव भीम उपाध्याय त सञ्जालमार्फत् दैनिक नवीनतम् विचाहरु पस्कने गर्छन्। युट्युवमा प्रा.डा. सुरेन्द्र केसी हरेक दिनजसो आउँछन्। उनको लोकप्रियताको पारख युट्युबबाट हुने गरेको छ।

सरकारले पनि हरेक सरकारी कार्यालयको आधिकारिक फेसबुक पेज खोल्न प्रेरित गरेको देखिन्छ। कार्यालयको आधिकारिक साइटमा आवश्यक जानकारीहरू राख्न र त्यहाँबाट सूचना प्राप्त गर्न सबैलाई सहज पहुँच पुगेको पनि छ। यसबाट पनि दिनानुदिन सामाजिक सञ्जालप्रति जनचाहना बढ्दो देखिन्छ।

तर सामाजिक सञ्जाल सँधै, सबैले असल नियतले नै प्रयोग गरेका छन् भन्न सकिने अवस्था भने छैन। हिजोआज सञ्जालमार्फत् व्यक्ति, संस्था र समूहलाई गाली गरेर रमाउनेको जमात बढ्दो छ। सामाजिक सञ्जालमा मन नपरेका विषय, व्यक्ति र समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्नेहरूको जमात पनि उत्तिकै सक्रिय छ। खासगरी राजनीतिक हिसाबले बदख्वाइँ गर्ने, व्यक्तिगत आकांक्षा पूरा हुन नसक्दा कसैको चरित्रहत्या गर्ने तथा विभिन्न रुप र स्वरुपमा आकृति बिगार्दै प्रस्तुत गर्ने काम हिजोआज बढी मात्रामा हुने गरेको पाइन्छ।

कतिले सञ्जालमार्फत् टर्चर नै दिएर आत्महत्यासम्म गर्न पुर्याएका घटनाहरु पनि हामीकहाँ देख्न, सुन्न सकिन्छ। यो अत्यन्त निर्लज्जताको पराकाष्ठा नै हो। खासगरी टिन एजका किशोर किशोरीहरु यस मामलामा बढी पीडित देखिन्छन्। ललाइ फकाइ फोटो खिच्ने, पछि क्रप गर्ने, फोटोसपबाट शंकाष्पद बनाएर प्रस्तुत गर्ने र मनोकांङ्क्षा पूर्तिका लागि व्लाकमेलिङ समेत गर्ने गरेको पनि पाइन्छ।

नियमन जरुरी

नेपालमा फेसबुक र ट्विटरकै माध्यमबाट मानिसहरूले मनमा लागेको कुरालाई अभिव्यक्त गर्छन् र त्यसको परिणाम खोज्छन्। सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको पहुँच विस्तार भएको छ। ‘घर घरमा इण्टरनेट, हात हातमा मोवाइल ’ तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराले अघि सारेको संचार नीति थियो। दुर्भाग्य आज उनै महरालाई अदालतले दोषी करार नगर्दै बलात्कारी भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध र आलोचना गरिएको छ।

न्यायालयको क्षेत्राधिकारभित्र प्रवेश गरिसकेको विषयलाई न्यायालयले दिने अन्तिम फैसला नआउँदासम्म क्रिया, प्रतिक्रिया दिनु अदालतकै मानहानी हो भन्ने सामान्य कुरा पनि हाम्रा सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले बुझ्न सकेका छैनन्, या बुझेर पनि बुझ पचाइरहेका छन्।

सामाजिक सञ्जालमा सहज पहुँचका कारण आम मानिस यसमा अभ्यस्त भइसकेका छन्। यो सकारात्मक पक्ष हो। तर यसको गलत प्रयोग र यसैलाई अभिष्ट पूर्तिको साधन बनाउँदा समस्या आएको छ। यसलाई निगमन गरेर बेलैमा नरोक्ने हो भने थप विकृति र विसंगति आउन सक्छ। यसतर्फ नियामक निकायको ध्यानाकर्षण बेलैमा हुन जरुरी छ।

आज कैयों मानिसहरु सामाजिक सञ्जालबाट रोमाञ्चित मात्र होइन त्रसित पनि छन्। आधारहीन कुराहरूलाई ठीक बनाउन खोजेको पनि देखिन्छ। फरक समय, सन्दर्भ र स्थानका फोटो र भिडियोहरू अर्कै सन्दर्भमा प्रकाशित र प्रसारित गराएर विषयान्तर गराउन खोजेको पनि पाइन्छ।

सदुपयोगमा जोड दिऊँ

सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो सञ्जाललाई सन्देशमूलक बनाउन जरुरी छ। कुनै पनि हालतमा मनोगत कुण्ठा पोख्ने भरपर्दो माध्यम यी सञ्जालहरु हुनै सक्दैनन्। गत महिना एक समारोहकाबीच पूर्व प्रधानमन्त्री प्रचण्डले फेसबुक हेर्नै नहुने भयो, खाली हुँदो नहुँदो लेखेको छ, चरित्र हत्या गरेको छ भनेर गुनासो गरेका थिए। उनको भनाइमा सत्यता छ। नेताहरुलाई नंग्याएर, नेतृहरुको चरित्रहत्या गराएर हामीले सामाजिक सञ्जालमार्फत् कसलाई गुन लगाउन खोज्दैछौँ? विचार गर्नैपर्ने हुन्छ।

विगतमा कुनै व्यक्तिले शीर्ष नेतालाई लिंग परिवर्तन गरेको फोटो पोष्ट गरेको थियो। केही समय अघि भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालको चरित्र हत्या गर्ने उद्देश्यले सामग्री पोष्ट गरेको पाइयो। कतिले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई जुत्ता पोलिस गर्दै गरेको चित्र पोष्ट गरेको पनि देखियो। मधेशवादी दलका नेताका हकमा पनि राष्ट्रवाद विरोधी क्रियाकलाप झल्किने गरी सामग्री सहित आकृति पोष्ट गरिएको पाइन्छ। कतिले सम्मानित राष्ट्रपतिको चरित्र हत्या गर्ने सामग्री स्टाटस बनाएर पोष्ट गर्ने गरेको पाइन्छ। कतिपय पोष्ट त घरका परिवार सँगै बसेर हेर्नै नसक्ने खालका आपत्तिजनक पनि पाइन्छन्।

यी कुनै पनि क्रियाकलाप उपयुक्त छैनन्। यसले गर्दा हामीले कसलाई फाइदा गराउन खोजेका छौ? हाम्रा नेताको चरित्र हत्या गराएर हामीले के विकल्प दिन खोजेका हौ? राजनीतिको विकल्प राजनीति नै हो। दलको विकल्प अझै राम्रो दल हो। नेताको विकल्प नेतै हो। यसर्थ सुधारात्मक टिप्पणी दिन सकिएला तर नङ्ग्याउने प्रयास सबैतर्फ हानिकारक छ। अझ चरित्र हत्या गर्ने जस्ता निकृष्ट काम त निन्दनीय नै ठहर्छ।

यस्ता सञ्जालमा प्रस्तुत हुने कतिपय सामग्रीले व्यक्तिको भावनामा चोट पुगेको हुन्छ। संघ संस्थाको छविमा आँच पुर्याउने काम पनि गरिरहेको हुन्छ। पशुपति शर्माको गीत तथा शैलेन्द सिंखडाको कविताभन्दा लाखौ गुना हानिकारक यी असामाजिक क्रियाकलाप सरकारले बेलैमा रोक्नुपर्ने थियो। किन रोकेको छैन कुन्नि? सरकारले अहिले हेर्नुपर्ने पशुपति र शैलेन्द्रलाई थिएन। उल्टो काम गर्यो।

केही महिना अघि सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटालाई समयमै बोर्डिङ गर्न विमानस्थल आई नपुगेको भन्दै भैरहवामा बुद्ध एयरको जहाजले छोड्यो। सामाजिक सञ्जाल त्यतिबेला निकै तात्यो। विगत केही साता अघि पर्यटनमन्त्री योगेश भट्टराईका लागि नेपालगन्जमा जहाज पखेर्र बस्यो। यसैको विरोध गर्दा ज्ञानेन्द्र शाहीहरु उत्कर्षमा पुगे। पत्रकार रवि लामिछाने सामाजिक सञ्जालकै कारण चर्चित बने।

सदुपयोग गर्न सिकौ

आज मानवता, सहिष्णुता, ज्ञान, विज्ञान पूर्वाधार विकासका कुराहरू आवश्यक छन्। यसका लागि सामाजिक सञ्जालबाट विज्ञान र प्रविधिको उपयोगिता बाँडन सकिन्छ। प्रयोगकर्ताहरुको ध्यान त्यता जानुपर्छ। गरीबहरुको उपचारका लागि, आकस्मिक सहयोगका लागि, ज्ञानगुनका नवीनतम भण्डारको खोजका लागि प्रर्याप्त मात्रामा यी सञ्जालहरु उपयोगी हुन सक्छन्। समाजमा भए, गरेका असल अभ्यास, उल्लेख्य सकारात्मक घटनालाई पनि सञ्जालमार्फत् शेयर गरेर लाभान्वित हुन सकिन्छ। त्यतातर्फ पनि यसका प्रयोकर्ताहरुले ध्यान दिने हो भने २१ औं शताब्दीमा सूचना र सञ्चारले ल्याएको क्रान्तिको सही सदुपयोग हुन सक्छ।

Related News

सम्बन्धित समाचार

hero news full width