पर्यटकको पर्खाइमा लिगलिगकोट

श्रीकान्त खतिवडा
पौष २२, २०७६

दुई नदीको संगम चेपेघाट, लिगलिगे राजाहरूको दौड सुरु हुने स्थान हो। तत्कालीन समयमा विशेष गरी त्यहाँको मगर समुदायमा चेपेघाटदेखि लिगलिगकोटसम्मको दौडमा प्रथम हुनेलाई राजा चयन गर्ने परिपाटी थियो।

नेपालको करिब मध्य भागमा अवस्थित लिगलिगकोट एक प्रसिद्ध र ऐतिहासिक स्थान हो। लिगलिगकोट नेपाल राज्यको दुई सय ४३ वर्षसम्म शासन सत्ता सम्हालेका शाहवंशीय राजाहरूको पुख्र्यौली थलो हो। गोरखाको पश्चिमी सिमानमा चेपे नदी र मस्र्याङ्दी नदीको दोभानलाई पश्चिम पारेर पूर्वतर्फ समुद्री सतहदेखि १४ सय ३७ मिटर उचाइमा लिगलिगकोट छ ।
यी दुई नदीको दोभानबाट तीनतर्फ तीन कोटहरू छन्। दोभानको पूर्वतर्फ लिगलिगकोट, उत्तर र पश्चिमतर्फ क्रमशः रागिनासकोट र पुरकोट छन्। यी दुई नदीले गोरखा, लमजुङ र तनहुँको सिमानालाई छुट्टाउने कामसमेत गर्दछन्। दोभानबाट पूर्वतर्फ गोरखा जिल्ला पर्दछ भने उत्तर र पश्चिमतर्फ क्रमशः लमजुङ् र तनहुँ छन्।
पृथ्वी राजमार्गको पोखराबाट ६८ किलोमिटर दूरीमा रहेको डुम्रे बजारबाट लमजुङको वेशीसहरतर्फ जाने मोटरबाटोमा मस्र्याङ्दी नदीको किनारै–किनार उत्तरतर्फ लाग्दा करिब १६ किमी पार गरेपछि दुई नदीको दोभान नजिकै पुगिन्छ। चेपेघाटको नामले परिचित यस दोभानको गोरखा जिल्लामा पर्ने भूभाग धार्मिक स्थानको रुपमा समेत प्रसिद्ध छ। यहाँ माघे संक्रान्तिका दिन मेला वा जात्रा लाग्ने गर्दछ। यस क्षेत्रका मानिस आफ्ना कृषि तथा घरेलु उत्पादनको खरिद–बिक्रीदेखि शिवालयको मन्दिरमा बत्ति बालेर रातभर जाग्राम बसी शिवजीको आराधनामा भजनकीर्तन गर्ने प्रचलन आजपर्यन्त छ।

लमजुङको रागिनासकोट र गोरखाको लिगलिगकोट उत्तर–दक्षिण आमनेसामने पर्दछन्। ऐतिहासिक तथ्य अनुसार रागिनासका राजा नरहरि शाह र लिगलिगका राजा द्रव्य शाह दाजुभाइ हुन्। उनीहरू दुबै लमजुङ्गे राजा यसोब्रÞमा शाहका छोरा थिए। भनिन्छ ः राज्यबारे दाजुभाइबीचमा मनमुटाव भएपछि आमा सत्यवतीले दुबैलाई सँगै राखेर तिमी दुबै दाजुभाइ राज्य विस्तार गर्न वा एकअर्काको राज्यको विरोधमा चेपे नदी नतर्नू भनी आफ्नो स्तनबाट दूधका धारा बगाएकी थिइन्।
त्यसरी रानीले आफ्नो दूधको धारा बगाएपछि आपसी मनमुटाव रहे पनि दुबै छोराले आमाको दूधको धाराको सम्मान स्वरुप चेपे नदी तरेर एक अर्काको राज्यमा दखल पु¥याउने काम गरेनन् भन्ने ऐतिहासिक किंवदन्ती छ। रानीको उपयुक्त व्यवहार आफ्ना सन्ततिको भविष्य सुखी र सन्तोषी देख्ने अभिलाषा बोकेका सबै आमाको भावनाको प्रतिविम्ब हो भन्न सकिन्छ। छोराहरूको मनमुटावलाई श्रद्धा र भक्तिसँग मिलाएर चलाखीपूर्ण किसिमले रानीले उनीहरूबीचको वैमनस्यलाई हटाउन उक्त कदम चालेको देखिन्छ।
दुई नदीको संगम चेपेघाट, लिगलिगे राजाहरूको दौड सुरु हुने स्थान हो। तत्कालीन समयमा विशेष गरी त्यहाँको मगर समुदायमा चेपेघाटदेखि लिगलिगकोटसम्मको दौडमा प्रथम हुनेलाई राजा चयन गर्ने परिपाटी थियो। यसै क्रममा विक्रम संवत् १६१५ मा लमजुङ्गे राजाका कान्छा छोरा द्रव्य शाहलाई लिगलिगकै स्थानीयको सहयोगमा त्यो दौडमा सहभागी गराई राजा बनाइएको थियो।
उनले लिगलिगबाट राजको ताज पहिरिएर राज्य सञ्चालन गरेका थिए। पछि विक्रम संवत् १६१६ सालमा उनले हालको गोरखा सदरमुकाम स्थित गोरखकालिकाको मन्दिरसँगै दरबार बनाएर त्यहींबाट राज्य चलाउन सुरु गरेका थिए।
यही ऐतिहासिक तथ्यलाई झल्काउने उद्देश्यका साथ विगत सात वर्षदेखि लिगलिगे दौडमा प्रथम हुनेलाई राजाको श्रीपेचसहितको ताज पहिराई सांकेतिक रुपमा उक्त कार्यक्रममा राजा भएको घोषणा गरी लिगलिगकोट महोत्सव सञ्चालन गर्दै आएको अवस्था छ। दौड जितेर श्रीपेच पहिरिएका एकदिने सांस्कृतिक राजालाई बाजागाजाका साथ कालिका मन्दिर र दरवारपरिसर घुमाएर सम्मान गर्दै ५० हजार पाँच सय पाँच रुपैयाँबाट पुरस्कृत गर्ने गरिन्छ।
यस महोत्सवअन्तर्गत तीन दौड प्रतियोगिता सञ्चालन गरिन्छ। राष्ट्रियरुपमा पुरुष र महिलाका दुई इभेन्ट हुन्छन् भने स्थानीय गोरखालीबीच छुट्टै प्रतियोगिता सञ्चालन गरिन्छ। तीनवटै प्रतियोगितामा गरी १३ जना सहभागी पुरस्कृत हुन्छन्। स्थानीय प्रतियोगिताको पुरस्कारको प्रायोजन गोर्खा मिलन समाज, पोखराले गर्दै आएको समाजका निवर्तमान अध्यक्ष सूर्य क्षेत्री बताउँछन्।
ऐतिहासिक महत्व बोकेको लिगलिगकोट दरबार धार्मिकरुपमा समेत उपयुक्त स्थान हो। भनिन्छ शाह पदवी धारणा गर्ने पहिलो राजा कास्कीको कुलमण्डन शाहकै वंशजहरु कास्कीबाट लमजुङ्ग हुँदै गोरखासम्म राज गर्न जाने सन्दर्भमा कालिका देवीलाई समेत शक्तिको स्रोतका रुपमा सँगै लैजाने र पूजाआजा गर्ने गरिएको हो। त्यस क्रममा आवश्यक पण्डित, पुजारीदेखि विभिन्न बाजा बजाउने र नाचगान गर्ने समुदायलाई पनि सँगसँगै लाने चलन थियो।
सायद त्यसैले हुन सक्छ तत्कालीन शाह राजाहरूले शासन गरेको स्थानमा कालिकादेवीको मन्दिर स्थापना गरी वलि चढाउने र त्यसको आसपासमा गन्धर्व तथा दमाई समुदायले बाजा बजाउने र नाचगान गर्ने गरेको पाइन्छ। लिगलिगकोट दरवारको १० देखि १५ मिनेटको दूरीमा उल्लिखित समुदायको बसोबास छ। आजपर्यन्त पनि उनीहरूले लिगलिगकोट दरबार परिसरमा रहेको कालिका मन्दिरमा बाह्रै महिना देवीको पूजा गरी नगरा बजाउने गर्छन्।
यसरी ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको लिगलिगकोट दरवार संरक्षणको पर्खाइमा छ। तीन दरबारको भग्नावशेष स्पष्ट रुपमा रहेको उक्त स्थानको पुरातात्विक रुपमा खोजबिन र अनुसन्धान गर्नु आवश्यक छ। नेपाल राज्यको सुरुवात भएको लिगलिगकोट दरबार क्षेत्र सांस्कृतिक हेरिटेज पर्यटक स्थलको रुपमा विकास गर्न राज्यको सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ।
प्रतिवर्ष महोत्सवका रुपमा आयोजना हुने यो मिनी म्याराथन दौडमा सहभागी हुनेहरु जम्मा १३.५ किलोमिटरको दूरीलाई ५९ मिनेटदेखि दुई चार घण्टा लगाउनेले समेत यो दौडमा सहभागिता जनाउने गर्दछन्। दौड चेपेघाटबाट सुरु भएर ठाँटीपोखरी, थापाथोक, बडडाँडा, सभापीपल, मैवल, बिजुलीडाँडा, खोल्लीगाउँ हुँदै लिगलिगकोट दरबार परिसरमा पुगेर समापन हुने गर्दछ। प्रत्यक वर्ष फूलपातीको ठीक अगाडिको दिन दौड प्रतियोगितात्मक रुपमा सुरु गर्ने गरिन्छ। स्थानीय समुदायले अघिल्लो दिन विभिन्न सांँस्कृतिक कार्यक्रम प्रदर्शन गर्दछन् र भोलिपल्ट लिगलिगे दौड हुन्छ।
साहसिक खेलकुदमार्फत् ऐतिहासिक स्थलको विकास गर्ने सोचका साथ स्थानीय स्तरमा लिगलिग कोट विकास अभियानले समिति गठन गरी संस्थागत रुपमा गतिविधि संचालन गर्दै आएको छ। प्रत्येक वर्ष समितिले लिगलिगे दौडका साथ महोत्सव आयोजना गर्दै आएको छ यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने अर्को बलियो आधार भनेको यहाँको रमणीय प्राकृतिक छटा हो।
यहाँबाट मनास्लु, हिमालचुली, बौद्ध, ङ्गादी र लमजुङ हिमालका हिम चुचुरालाई सामिप्यमा हेर्न सकिन्छ। त्यस्तैगरी, नागवेली परेर बगेका चेपे, मस्र्याङ्दी र दरांैदी नदी एवं खोला एवं तिनको आसपासमा रहेका बेसी र तरेली परेका फाँटको दृश्य साँच्चै मनमोहक छ। पूर्वतर्फ टाढासम्म अग्लो पहाड नभएका कारण त्यहाँबाट सूर्योदयको दृश्यसमेत रोचक र स्पष्ट देखिन्छ। लिगलिगडाँडाको आसपासमा रहेको वनजंगलमा लालीगुराँस र काफलको घारी रहेको हुँदा शिशिर र वसन्त ऋतुमा यहाँको रनक वेग्लै हुन्छ। पहाडी चितुवा, भालु, मृगलगायतका जंगली जनावरदेखि डाँफेलगायतका चरा चुरुङ्गीसमेतको वासस्थान यहाँको वनमा पाइन्छ।
नेपालमा लोकप्रिय हुँदै गएको एअर स्पोर्टसअन्तर्गतका प्याराग्लाइडिङ र माइक्रो ग्लाइडरका लागिसमेत यो क्षेत्र उपयुक्त छ। प्याराग्लाइडिङलाई लिगलिगकोटबाट टेकअफ गरी उत्तरतर्फका हिमश्रृङ्खलासहित तल मस्र्याङ्दी र दरौदी उपत्यकाको अवलोकन गरी पालुङटार विमानस्थलमा ल्याण्ड गर्न सकिन्छ। लामो समय अगाडिदेखि उपयोगमा नरहेको त्यसै विमानस्थलबाट माइक्रो ग्लाइडरको उडान र अवतरण गर्न सकिने अवस्था छ।
अतिक्रमणको चपेटामा परिरहेको पालुङटार विमानस्थललाई एअर स्पोर्टस् केन्द्रको रुपमा उपयोग गरी पर्यटन विकासमार्फत् समग्र मस्र्याङ्दी उपत्यका स्मार्ट सिटी निर्माणको परिकल्पना पूरा गर्नसमेत सहयोग पुग्ने देखिन्छ। यी सबै सुन्दर सम्भावना बोकेर सुरु गरिएको लिगलिगकोट महोत्सवको भव्य रुपमा सम्पन्न हुनेछ भन्ने अपेक्षाका साथ भविष्यमा यस क्षेत्रको विकासबारे परिकल्पना गरिएको मरर्याङ्दी उपत्यका स्मार्ट सिटीमार्फत् स्पष्ट रणनीतिक योजनाका साथ लिगलिगकोट क्षेत्रको पर्यटन विकासले नयाँ गति र उचाई प्राप्त गर्न सकोस्।

Related News

सम्बन्धित समाचार

hero news full width