दोहोरी गीत : सुकृति र विकृति

प्रा.डा.कुसुमाकर न्यौपाने
पौष १९, २०७६

१ दोहोरी गीत

लोकले मौखिक रुपमा जीवित राखेको लयात्मक गेय अभिव्यक्ति लोकगीत हो। लोकगीत एकोहोरी र दोहोरी गरी दुई प्रकारको हुन्छ। एक्लै वा सामूहिक रुपमा एकोहोरो पाराले गाइने गीत एकोहारी गीत हो। दुई पक्ष भएर सम्वाद, वादविवाद र प्रश्नोत्तर शैलीमा गाइने गीत दोहोरी गीत हो। दोहोरी गीतलाई जुआरी पनि भनिन्छ।

दोहोरी गीतलाई लिङ्ग, जाति, भूगोल, भाषा, लय, गायन समय वा अवसरका आधारमा छुट्ट्याउन सकिन्छ। लिङ्गका आधारमा पुरुषले गाउने दोहोरी गीत, स्त्रीले गाउने दोहोरी गीत अनि दुबैले गाउने दोहोरी गीत भनेर छुट्ट्याउन सकिन्छ। जातिका आधारमा ब्राह्मण तथा क्षेत्रीले गाउने दोहोरी गीत, गुरुङमगरले गाउने दोहोरी गीत, राईलिम्बुले गाउने दोहोरी गीत भनेर विभाजन गर्न सकिन्छ।

भूगोलका आधारमा पूवेर्ली दोहोरी गीत, पश्चिमेली दोहोरी गीत भनेर वर्गीकरण गरिन्छ। भाषाका आधारमा नेपाली भाषाको दोहोरी गीत, गुरुङ भाषाको दोहोरी गीत, मगर भाषाको दोहोरी गीत अनि लयका आधारमा ढिलो लयको दोहोरी गीत, छिटो लयको दोहोरी गीत आदि। गायन समय वा अवसरका आधारमा बाह्रमासे दोहोरी गीत, कर्म दोहोरी गीत, पर्व देाहोरी गीत र संस्कार दोहोरी गीत भनेर यसका प्रकारलाई छुट्ट्याइन्छ। यही गायन समय वा अवसरका आधारमा दोहोरी गीतका प्रकारलाई यहाँ चिन्ने वा बु्झ्ने काम गरिँदै छ।

बाह्रै महिना जुनसुकै समयमा गाइने दोहोरी गीत बाह्रमासे दोहोरी गीत हो जसअन्तर्गत हाक्पारे, रसिया, सेलो, टुङना, गोठाले, घाँसे, सुनिमयाँ, यानिमयाँ, सिरफुलैमयाँ, आलोमालो, रे रे साहिँलो, भैच साहिँलो, नानीलै, साहिँलो दाइ, नौतुने भाका, घुम्टेको भाका, लमजुङे भाका, सालैजो, झाम्रे, कठै, गल्ला लाउरे, कौरा, ठाडी भाका, देउडा, चलनचल्तीका दोहोरी गीतरू आदि पर्दछन्। काम गर्दा गाइने दोहोरी गीतलाई कर्म दोहोरी गीत भनिन्छ, जसअन्तर्गत असारे, साउने, भदौरे, भैंजडी, पालाम दोहोरी गीतहरू पर्दछन्। चाडपर्वका अवसरमा गाइने दोहोरी गीतलाई पर्व दोहोरी गीत भनिन्छ जसअन्तर्गत साकेला, पापानी, सेँदो, धुरी खेल्ने, फागु दोहोरी, तिजे दोहोरी गीतहरू पर्दछन्। संस्कार गर्दाका अवसरमा गाइने दोहोरी गीतलाई संस्कार दोहोरी गीत भनिन्छ जसअन्तर्गत सिलोक, अन्ताक्षरी, रत्यौली, हियारी, दाइँ दोहोरी गीतहरू पर्दछन्।

२ दोहोरो गीतको परम्परा

पहिलेपहिले धेरैजसा दोहोरी गीत लुकेर गाउने चलन थियो। त्यसका निम्ति वन, पत्यान, ओडार, खेत, बारी, गोठ, ठाँटी, पौवामा रातिको समयमा मात्र लोकगायक तथा गायिकाले गाउँथे। त्यति बेला ती गायकगायिकाले अश्रद्धाको पगर गुथ्नुपर्थ्यो। छि छि र दुर दुरको व्यवहार सहनुपर्थ्यो। छँडुला र छँडुली भनेर गरेको अपमान सुन्नुपर्थ्यो। अझ दोहोरी गीतमा रमाउने व्यक्तिले पनि खुला रुपमा बसेर सुन्न हुँदैनथ्यो। यसरी त्यति बेला दोहोरी गाउने तथा सुन्ने सबैले अपमान सहनुपर्थ्यो।

२००७ सालपूर्व यसरी बाँचेको दोहोरी गीत २००७ सालमा रेडियो नेपालको स्थापना पछि यसले परिवर्तनको अनुभव गर्न पायो। यो स्थापना भएको केही समय पछि रेडियो नेपालबाट दोहोरी गीत बज्न थाले। २०१० सालमा डाँफेचरी नामक पत्रिका प्रकाशन भयो। यसमा दोहोरी गीत पनि छापिए अनि दोहोरी गीतसित सम्बन्धित लेखहरू पनि प्रकाशित भए। २०३८ सालमा पोखराको डाँफेकला मन्दिर नामक संस्थामा दोहोरी गीत प्रतियोगिताको आयोजना भयो। २०३९ सालमा राष्ट्रिय खेलकुद परिषद्ले हेटौंडामा अन्तर नगरस्तरीय दोहोरी गीत प्रतियोगिताको आयोजना गर्यो।

सम्झनुपर्ने अर्को पक्ष रेडियो नेपालले रोधी कार्यक्रम सञ्चालन गर्यो साथै चौतारी नामका कार्यक्रम सञ्चालन गर्यो। यी दुबै कार्यक्रमबाट दोहोरी गीत प्रसारण भए। रत्न रेकर्डिङ संस्थान तथा म्युजिक नेपालले दोहोरी गीत रेकर्ड गराई यस विधाको विकासमा टेवा पुर्याए। २०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भए पछि यसबाट हाम्रो रीति, हाम्रो संस्कृति कार्यक्रम सञ्चालन भयो साथै लोकदोहोरी नामको कार्यक्रम पनि सञ्चालन भयो। यी दुबै कार्यक्रमबाट दोहोरी गीत प्रसारित भए।

लोकप्रियता बढ्दै गएपछि मेलामहोत्सवमा दोहोरी गीत प्रतियोगिता हुनथाले। २०४६ सालपछि ठाउँठाउँमा एफ.एम.खुले अनि तिनीहरूले विभिन्न शीर्षक दिएर दोहोरी गीत प्रसारण गरे। यस्तै नेपाल टेलिभजनले जस्तै इमेज च्यानल टि.भि.ले उकालीओराली कार्यक्रम, जनता टि.भि.ले लोकमाला कार्यक्रम, एबीसी टे.भि.ले इन्द्रेणी कार्यक्रम सञ्चालन गरी दोहोरी गीतलाई लोकप्रिय बनाउन भूमिका खेले।

२०५७ सालमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना भयो। प्रजापति पराजुलीले पोखराको नदीपुरस्थित आफ्नै घरमा दोहोरी रेस्टुरेन्ट खोलेर दोहोरी गायनपरम्परामा योगदान पुर्याए। यसैको परिणाम अहिले स्वदेशका विभिन्न स्थानका साथै अमेरिका, बेलायत, जापान, अस्ट्रेलिया, कतारलगायतका विदेशी भूमिमामा पनि दोहोरी रेस्टुरेन्ट सञ्चालित भएका छन्। यसरी दोहोरी गीतले द्रूत गतिमा आफ्नो गति बढाइराखेको छ। यसबाट नेपाली लोकगीतको विकासमा ठूलो योगदान पुगेको कुरा कदापि बिर्सन हुँदैन।

३ सुकृति

मीठो विधा भएकै कारण आरम्भमा कष्ट बेहोरे पनि पछि त दोहोरी गीतले व्यक्तिगत तथा संस्थागत रुपमा मौलाउने अवसर पाएको हुँदा अहिले दोहोरी गीत लोकप्रिय बनेर संसारमा फैलिएको छ। गाउँ तथा वस्तीमा खुलेआम दोहोरी गीत गाउने र सुन्ने चलन बसेको छ। अझ शहर तथा गाउँका विद्यालय एवम् महाविद्यालयमा दोहोरी गीत प्रतियोगिताको आयोजना हुने गरेको छ। शैक्षिक संस्थामा मात्र नभएर धार्मिक स्थलमा पनि दोहोरी गीतले वर्चस्व कायम गरेको छ। सप्ताह तथा यज्ञयागादिमा पनि दोहोरी गीतका भाका बज्ने गरेका भेटिन्छन्। विद्यालय तथा महाविद्यालयमा दोहोरी गीतकेा पढाइ हुने गरेको छ। अझ कतिपय व्यक्तिले दोहोरी गीतमै विद्यावारिधि गरेका छन्। विवाह, व्रतबन्ध, वनभोजका साथै यात्रामा पनि दोहोरी गीत गाउने चलन बसेको छ।

पूर्वको दोहोरी पश्चिममा, पश्चिमको दोहोरी पूर्वमा, हिमालतिरको दोहोरी तराईमा अनि तराईतिरको दोहोरी हिमालतिर पुगेका छन्। यसरी नेपाली दोहोरी गीतले नेपाललाई साङ्गीतिक तथा सांस्कृतिक एकताको सूत्रमा एकताबद्ध बनाएको छ। दोहोरी गीतले नै दोहोरीका गायकगायिकालाई स्वदेश तथा विदेशमा आयआर्जनको बाटो बनाइदिएको छ। यसरी समाजमा सुकृति कमाएर नेपाली दोहोरी गीत लोकप्रिय बन्दै विकसित भइरहेको छ।

४ विकृति

तीव्र गतिमा विकसित भइरेको नेपाली दोहोरी गीतका बारेमा विकृति पनि त्यत्तिकै मात्रामा भित्रिएका छन्। माथि उल्लेख गरिएका दोहोरी गीतका सबै प्रकारका दोहोरी गीत नगाइनु र केही चलनचल्तीका गीतलाई दोहोरी गीतका रुपमा विकसित गरिनु आफैमा दोहोरी गीत प्रति गरेको अन्याय हो। अर्कातिर दोहोरी गीतमा प्रयोग भएका भाषामा विकृति देखिएको छ। कतै अश्लील शब्दहरू प्रयोग गरेर सुन्न नसकिने बनाएको गुनासो आइरहेका छन्। कतै दोहोरी गीतको नाम नै अनर्थयुक्त बनाएर गाउने गरेको भेटिएको छ।

महिलाले गाउने एकोहोरी गीतलाई पुरुषले गाउने अनि पुरुषले गाउने एकोहोरी गीतलाई महिला गाउने गरेर गायनपरम्परालाई भत्काइएको छ। त्यस क्रममा तीजे गीतलाई पुरुषले पनि गाएर दोहोरी गीतमा परिणत गरिएको छ। जुन जातिबाट त्यो दोहोरी गीत विकसित भएको हो त्यही जातिले गाउँदा त्यो दोहोरी अझ गमिलो बन्छ। त्यस्ता दोहोरी गीतले जातिगत पोशाक र गहनाको अपेक्षा गरेका हुन्छन् भन्ने कुराको ख्याल नगरेको भेटिएको छ। छिटो चर्चामा आउने नाममा गायकगायिकाले दोहोरी गीतमा स्वराङ्कन गर्दा दोहोरी गीतको विधाभञ्जन गरेको भेटिएको छ।

दोहोरी गीतका कतिपय फरकफरक विधाले फरकफरक सन्दर्भ खोजेका हुन्छन् त्यस्तामा दोहोरी गीतका गायकगायिका तथा प्रकाशकहरूले ख्याल नगरेको देखिएको छ। प्रविधिले गर्दा कतिपय उत्पादकले कलाविहीन कलाकारलाई पनि राम्रो दोहोरी गायक बनाइदिएका छन्। नेपाली लोकबाजाका ठाउँमा आयातीत बाजालाई प्रश्रय दिने अनि नेपाली लोकनाचका ठाउँमा आयातीत लोकनाचलाई बढावा दिने गर्दा नेपाली लोकसङ्गीतको मर्ममाथि आघात पुगेको छ।

यस्तै दोहोरी गीतका कतिपय गायकगायिकाले सम्बन्धित दोहोरी गीतले खोज्ने पोशाक र गहना भन्दा आयातीत पोशाक र गहनामा सजिएर दोहोरी गीत प्रस्तुत गर्ने गरेका छन्। विधागत रुपमा विशिष्ट देखिएका दोहोरी गीतलाई मात्र सञ्चारका माध्यमले प्रसारण गर्नुपर्नेमा त्यस्ता पक्षमा सजगता नअपनाएको पाइएको छ।

विकृतिपूर्ण यस्तो अवस्था देख्दा जसले जस्तो खालको गीत गाए पनि हुने अनि जस्तो गीतलाई पनि दोहोरी गीत भनी प्रसारण गर्न सकिने अवस्था देखापरेको छ। दोहोरी प्रतियोगितामा कलाकारले अन्याय भयो भनेर रुने गरेको स्थिति अनि दोहोरी रेस्टुरेन्टलाई स्वस्थ्यकर बनाउन नसकेको गुनासो पनि सुन्न परेको छ। यसरी अहिले दोहोरी गीतको परम्परामा विकृतिले पनि उत्तिकै स्थान ओगटेको पाइएको छ।

५ निष्कर्ष

अहिले सम्म नेपाली लोकसमाजले परम्परादेखि नै गाउँदै अनि जोगाएका नेपाली दोहोरी गीत अथाह भइसकेका छन्। २००७ सालपूर्व ती दोहोरी गीतलाई तात्कालिक कतिपय लोकगायकगायिकाले लुकेर गाउँदै जोगाउने गरेका थिए। २००७ सालपछि केही खुला अवस्था आएकाले र सञ्चारका माध्यमले दोहोरी गीतलाई लोकप्रिय बनाइदिएका कारण अहिले नेपाली दोहोरी गीत संसारभरि लोकप्रिय बनेर फैलिएको छ।

यसरी सुकृतिको सुगन्ध बोकेर संसारभरि फैलिएको दोहोरी गीतलाई अहिलेसम्म आइपुग्दा विकृतिले पनि घेरा हालेको छ। विकृतिको घेराबाट दोहोरी गीतलाई जोगाउन सकिएन भने नेपाली दोहोरी गीत लगाम बिनाको घोडा जस्तै बन्न सक्ने छ।

यही मर्मबोध गरेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (गण्डकी प्रदेश समिति) ले यही २०७६ पुस १८ गते शुक्रबार पोखरामा सम्बन्धित व्यक्तिहरूलाई उपस्थित गराई दोहोरी गीत : विकृति र सुकृति शीर्षकमा अन्तक्र्रिया गरायो। आफ्ना सबल पक्ष र त्रुटि आपैmले केलाउने यस्तो अभियान चाल्यो। यस्ता कार्यले नेपाली दोहोरी गीतलाई विकृत हुन नदिन योगदान पुर्याउनेछन्। यसरी नै सम्बन्धित सबैले बुद्धिमत्तापूर्ण ढङ्गले दोहोरी गीतका विकृति निराकरण गर्न लाग्नुपर्ने स्थिति देखापरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width