चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञ

pushparajpoudel पुष्पराज पौडेल
माघ २८, २०७५

चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञ

देवानां द्रव्यहविषां ऋक्सामयजुषां तथा।

ऋत्विजां दक्षिणानां च संयोगो यज्ञ उच्यते।।

देवता, हवनीय द्रव्य, वेदमन्त्र, ऋत्विक् तथा दक्षिणा यी पाँच उपादानहरूको कुनै कर्म विशेषमा गरिएको जुटान्लाई यज्ञ भनिन्छ। त्यसैगरी कात्यायन आदि श्रौतसूत्रकारहरूले “द्रव्यदेवतात्याग” अर्थात् द्रव्यात्मक, देवतात्मक र त्याग क्रियात्मक गरी यी तीनलाइ यज्ञका लक्षण भनी बताएका छन्।

यज्ञका भेद

अर्चिरादि, सोमादि र अग्निष्टोमादि गरी यज्ञका तीन भेद छन्। अग्निमा होम गर्नुलाई अर्चिरादि यज्ञ। पूजा तर्पण गर्नुलाई सोमादिक यज्ञ। जप, पूजा,पाठ, तर्पण, योग, पञ्चमहायज्ञ आदि गर्नुलाई अग्निष्टोमादि यज्ञ भनिन्छ। त्यस्तै गरी वेद, ब्राह्मणग्रन्थहरू, आश्वलायन, आपस्तम्ब, सत्याषाढ र पारस्कर आदि सूत्रग्रन्थहरूमा यज्ञका अनेक भेद बताईएका छन्। गौतम धर्म सूत्रकारलेः १) हविर्यज्ञ २) सोमयज्ञ ३) पाकयज्ञ गरी तीन प्रकारका यज्ञको भेद मानेर ती प्रत्येक यज्ञभित्र पुन ७।७ भेद देखाएर कुल २१ प्रकारका यज्ञको उल्लेख गरेका छन्। श्रीमद्भगवद्गीताका अनुसारः “शास्त्रविधिले गरिने सम्पूर्ण विहित क्रियाहरू” यज्ञ नै हुन् र यस्तो यज्ञ अन्तर्गत द्रव्ययज्ञ, तपयज्ञ, योगयज्ञ, प्राणयाम आदि सबैलाई यज्ञ नै मानेर (गी.४/२४–३०) यिनलाई अर्थात् यज्ञलाई परमात्मा प्राप्तिको साधन भनिएको छ।

यज्ञको आविर्भाव

ऋग्वेदको दशौं मण्डलको १३० औं सूक्तमा पनि यो सृष्टिलाई नै यज्ञको रुप भनिएको छ। यो यज्ञ विश्वतस्त … यो यज्ञरुप सृष्टि को बाट भयो त ? भन्दा सोही सूत्रको दोस्रो मन्त्रमा– “पुमाँ एनं तनुत उत्कृणत्ति” अर्थात् ती यज्ञपुरुष प्रजापति परमेश्वर नै यसका उत्पादक र संहारक हुन् भनिएको छ। त्यस्तै यजुर्वेदको ३१ औं अध्याय अन्तर्गत मन्त्र १–१६ सम्म रहेको पुरुषसूक्तमा पनि तिनै यज्ञ पुरुष/आदि पुरुष परमात्माबाट यो ब्रह्माण्ड अर्थात विराट् उत्पन्न भयो। पश्चात् तिनै आदिपुरुष स्वयं नै जीवरुपमा त्यो ब्रह्माण्डमा प्रवेश गरे र त्यसको अभिमानी देवता “हिरण्यगर्भ”का रुपमा प्रकट भए। यसरी हिरण्यगर्भका रुपमा प्रकट भएपछि उनै विराट् पुरुष पुनः देवता, तिर्यक्, मनुष्य आदि अनेक रुपमा प्रकट भए। फेरि उनैले भूमि उत्पन्न गरे र जीवशरीरको रचना गरे।

देवता, साध्य र ऋषिहरूले सर्वप्रथम उत्पन्न भएको त्यही पुरुषलाई यज्ञको साधन बनाएर मानसिक यज्ञ सम्पन्न गरे। यो यज्ञमा देवताहरूको सङ्कल्प अनुसार वसन्त ऋतु घ्यू, गृष्म ऋतु समिधा र शरद् ऋतु चाही विशेष प्रकारको चरु पुरोडाशादि हविष्य बने। त्यस्तै सो यज्ञमा सातै समुद्र यज्ञको परिधि भए भने गायत्री आदि ७ श्रुति जगति आदि ७ र कृति आदि ७ गरी एक्काईस प्रकारका छन्दलाई समिधा बनाईयो। यस प्रकार देवताहरूले पूर्वोक्त मानसिक यज्ञद्वारा यज्ञस्वरुप पुरुष प्रजापतिको आरधना गरे। यसै आराधनाबाट समस्त जगत्लाई धारण गर्ने पृथ्वी आदि मुख्य भूत प्रकट भए भनेर ती यज्ञपुरुषको बन्दना गर्दै अन्तमा भनिएको छ–

तेह नाकं महिमानः सचन्त यत्र पूर्वे साध्याः सन्ति देवा।।१६।। अर्थात् यो यज्ञको उपासना गर्ने महात्माहरूले त्यो स्वर्गलोक प्राप्त गर्दछन्। जहाँ प्राचीन साध्य देवताहरू निवास गर्दछन्। ॐ अग्निमीडे पुरोहितं यज्ञस्य देवमृत्विजम्। होतारं रत्नधातमम् अर्थात् हामी विश्वामित्र आदि ऋषिहरू अग्निको स्तुति गर्दछौ। यज्ञ भनेको पुरोहितहरूले गर्ने कल्याणकारी कार्य हो। हाम्रा यज्ञमा अग्निदेव आउन्। यज्ञमा सहयोग गर्नका लागि देवताहरूलाई अग्निले बोलाउन्। ऋत्विक्हरू समय अनुसार यज्ञ गर्न लागेका छन्। होताहरू यज्ञमा आहुति चढाउँछन्। ऋत्विक्हरू अग्निलाई बोलाउँछन्। यसरी सृष्टि नै यज्ञबाट उत्पन्न भएकोले–

सहयज्ञाः प्रजाः सृष्ट्वा पुरोबाच प्रजापति :।

अनेन प्रसविष्यध्वमेष वोक्स्तिष्टकामधुक्।।भ.गी.३/१०।।

अर्थात् प्रजापति ब्रह्माले कल्पको आदिमा यज्ञसहित प्रजाको रचना गरेर ती प्रजालाई त्यसै यज्ञबाट बुद्धि र इच्छित फल प्राप्त गर्न उपदेश दिनु भएको प्रसङ्गे यज्ञको आविर्भाव ब्रह्मकल्पमा सृष्टिसँगै भएको सिद्ध हुन्छ। भनिन्छ “गायत्री माता हुन् र यज्ञ पिता हुन्”। सृष्टिको आरम्भमा ब्रह्माले गायत्रीमन्त्रको आधारमा सय वर्ष पर्यन्त ध्यान, तपस्या गर्दा उनले यसै मन्त्रलाई ज्ञानविभूतिको रुपमा पाए। यही ज्ञानको अर्को नाम वेद हो। यसरी उपलब्ध दिव्यज्ञानलाई उनले सर्वसाधारणको हितका लागि भनेर धर्म, अर्थ, काम, मोक्षको साधनरुप चार वेदका रुपमा विनिर्मित गरिदिए। त्यसैले “गायत्री” वेदको जननी अर्थात् माता भइन्।

सृष्टिलाई दृष्यरुपमा प्रस्तुत गर्न पदार्थको साधनको आवश्यकता पर्यो। त्यसैले ब्रह्माजीले पुनः “यज्ञ” रुप तप गर्नुभयो, जसबाट विज्ञान सम्बन्धी विभूति (उपकरणहरू) उपलब्ध भए। यो विभूतिलाई सावित्री भनिन्छ। ज्ञानकी विभूति गायत्री र विज्ञानकी विभूति सावित्रीलाई लिएर पौराणिक उपाख्यानमा ब्रह्माका दुई पत्नी “गायत्री र सावित्री” भनिएको छ। ८० हजार मन्त्र कर्मसँग सम्बन्धित, १६ हजार मन्त्र उपासनासँग सम्बन्धित र ४ हजार मन्त्र ज्ञानसँग सम्बन्धित गरी कुल १ लाख मन्त्र भएको वेदमा यिनै दुईको विवेचन र निरुपण गर्दै यिनको उपलब्धिका साधन बारे विस्तृत वर्णन गरिएको छ।  उपरोक्त तथ्यबाट स्पष्ट हुन्छ कि गायत्रीको तत्वदर्शन नै व्यवहार प्रकरणमा “यज्ञ” हो। त्यसैले “यज्ञ” लाई हाम्रो वैदिक सनातन धर्मको मूल मानिएको हो। अतः हाम्रो जीवनयापनको पद्धति भनेकै यज्ञ हो र भौतिक विज्ञानको अन्तरालमा पनि यज्ञ नै रहेको हुन्छ। यथा यन्त्रद्वारा उत्पादित शक्तिले मनुष्यको शारीरिक सामथ्र्यलाई कैयौं गुना बढाईदिन्छ जसले गर्दा जति काम जति समयमा मनुष्य शरीरले गर्न सक्दथ्यो त्योभन्दा अपेक्षाकृत कम समयमा धेरै काम त्यो यन्त्र शक्तिबाट भइदिन्छ।

यज्ञको लक्ष्य

स्वास्थ्य, शिक्षा, संस्कार, समृद्धि र शान्तिको माध्यमबाट विवेकपूर्ण मानव समाजको पुनः स्थापना गर्ने।

अभियान

प्रत्येक नेपाली जनजनमा “भित्र पसेर हेर, माथि उठेर सोच” भन्ने भाव जगाई राष्ट्रप्रेमप्रति पूर्ण समर्पित हुन अभिप्रेरित गर्ने।

रणनीति

आयुर्वेदिक विद्यापीठको स्थापना गरी विशेषज्ञहरू तयार गर्ने। आयुर्वेदिक चिकित्सालय सञ्चालन गरी हानिरहित स्वास्थ्योपचारका लागि प्रेरित गर्ने। राज्यलाई कृषि तथा जडीबुटी उत्पादनतर्फ उन्मुख गराई स्व–रोजगार सृजना गराउने। प्राच्य धर्म/दर्शनलाई यथार्थरुपमा सम्प्रेषण गर्ने। महायोग साधनालाई जन–जनमा विस्तार गर्ने।

यज्ञका सङ्कल्पकर्ता को हुनुहुन्छ ?

मानवीय मूल्यमान्यताबाट स्खलित हुँदै गइरहेको आजको मानव र भौतिक विज्ञानका प्रयोगबाट उत्पन्न वायुमण्डलीय दुष्परिणाम समेतको निराकरण र न्यूनीकरणका लागि हुन लागेको यस यज्ञको सङ्कल्पकर्ता महायोगी सिद्धबाबा श्री श्री १००८ डा. श्री वैष्णव कृष्णदासजी महाराज हुनुहुन्छ।

को हुनुहुन्छ महायोगी सिद्धबाबा ?

झण्डै ४०० वर्षदेखि केही अङ्गहरू विकीर्ण अवस्थामा रहेका र केही अङ्गहरू विलुप्त प्रायः भइसकेको सुरत शब्दयोग अर्थात् पाशुपत सिद्धमहायोग (महायोग साधना) लाई आफ्ना गुरुजनहरूको कृपा र आफ्नो तपोबलबाट साङ्गोपाङ्गो रुपमा प्राप्त गर्नुभएको समाधिसिद्ध महायोगी हुनुहुन्छ जसले आफ्नो सङ्कल्पबाट मात्रै पनि अन्य श्रद्धालुहरूमा योग घटित गराईदिने सार्मथ्यवान हुनुहन्छ।

प्रस्तावित यज्ञ किन ?

यज्ञ आध्यात्मिक दृष्टिकोणबाट मात्र नभई भौतिक विज्ञानका दृष्टिकोणबाट समेत आवश्यक प्रमाणित भइरहेकाले यस यज्ञको सङ्कल्प गरिएको हो। यज्ञबाट उत्पन्न हुने धुवाँले प्रचुरमात्रामा अक्सिजन उत्पादनका साथै ओजोन तहको घनत्व वृद्धि भई सूर्यबाट आउने हानिकारक विकिरणलाई छेकेर पृथ्वीलाई सुरक्षित गर्ने भएकाले। यज्ञबाट अतिवृष्टि र अनावृष्टि जस्ता प्रकोप रोकथाम भई उपयुक्त वृष्टि हुन्छ र पृथ्वी ऊर्वर भएर दिव्य अन्न र औषधीय वनस्पतिहरूको उत्पादनमा वृद्धि भई प्राणी जीवनको रक्षा हुने भएकाले। वायुमण्डलमा रहेका विषाक्ततालाई शुद्धीकरण गरी बायुमण्डलको शोधन भई स्वास्थ्य लाभ हुने भएकाले। पितृउद्धार, ग्रहदोष शमन, श्राप निवारण, रोगनाश, भूतप्रेत निवारण, दारिद्रय आदि दुर्भाग्यको नाश र भगवद्भक्ति प्राप्त गराउने भएकाले। हरित नेपालको निर्माण गरी नेपाललाई स्वस्थ र स्वच्छ बनाउन तथा नेपालीलाई स्वाबलम्बी, स्वाभिमानी एवं स्वरोजगारयुक्त बनाउन मद्दत पुग्ने भएकोले।

महायज्ञका उल्लेख्य विशेषताहरू

(क)   श्रीरामतारकब्रह्म मन्त्रका अनुष्ठानीहरू देश विदेशका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका श्रीरामतारकब्रह्मका १२०२४ अनुष्ठानीहरूले विगत महाशिवरात्रिदेखि एक अर्ब साठी करोड संख्यामा श्रीरामतारक मन्त्रराजको जप गरिरहेका छन्। त्यसैगरी वराहक्षेत्र चतराधाममा आवाल ब्रह्मचारी, सन्तमहात्मा तथा पूर्व गृहस्थ साधकहरूद्वारा दैनिक हवन, पूजन, अर्चन, पाठपूर्वक एक करोड लक्ष संख्यामा जप भईरहेको छ।

(ख)   आगामी २०७५ माघ शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ६ करोडको संख्यामा होम तथा महाअर्चन हुनेछ।

(ग)    यो महायज्ञ त्रिकोण, चतुष्कोण, षट्कोण, अष्टकोण, दशकोण, द्वादशकोण, पद्माकार, योनी आकार, गोलाकार, अर्धाकार मेखला तथा वेदीले सुसज्जित १०८ हवन कुण्ड तथा सात वा नौ तले ध्वजा, पताका, तोरणले युक्त दिव्य मण्डपमा सम्पन्न गरिनेछ।

(घ)    यस दिव्य महायज्ञमा देश विदेशका सदाचारी विद्वान, तपस्वी, एकसय एकाउन्न ब्राह्मणहरूद्वारा चार वेद, उपनिषद्, बाल्मिकी रामायण, श्रीरामचरितमानस, श्रीमद्भागवद् लगायत अठार पुराण, रामसहस्रनाम, गोपालसहस्रनाम, विष्णुसहस्रनाम, दुर्गासप्तशती, रुद्री, हनुमान चालिसा, एक मुखी तथा पञ्चमुखी हनुमत कवच, श्रीमद्भगवद्गीता, श्रीरामगीता, श्रीरामस्तवराज, श्रीरामहृदय, श्रीरामरक्षकवच, श्रीसूक्त, पुरुषसूक्त, वाञ्छाकल्पलताको पाठ तथा श्रीविद्याको अनुष्ठान सहित श्रीरामार्चन पूजा गरिनेछ।

(ङ)    अयोध्या, काशी हरिद्वार, वृन्दावन, जनकपुर, देवघाट, मुक्तिनाथ आदि विभिन्न तीर्थ तथा धाममा तपस्यारत सन्तमहात्मा तथा महन्त, श्रीमहन्त, मण्डलेश्वर, महामण्डलेश्वर, जगद्गुरु आदि दिव्य विभूतिहरूको दर्शन, आर्शिवाद, सत्सङको सौभाग्य प्राप्त हुनेछ।

(च)   यस नव दिवसीयश्रीरामतारकब्रह्म महायज्ञमा अन्र्तराष्ट्रिय ख्यातिप्राप्त विद्वानद्वारा सुमधुर संगीतमय श्रीरामचरितमानसको कथा प्रवचन हुनेछ।

(छ)   यस महायज्ञको अवधिमा नित्य प्रातः योग तथा महायोग साधना, मन्त्र दीक्षा, अखण्ड कीर्तन, रामायणको झाँक्री तथा रामलीला, भक्ति संगीत, नाटक नृत्य आदि कार्यक्रमहरूलाई यथायोग्य सञ्चालन/प्रदर्शन हुनेछ।

यज्ञमा सहभागी हुनको लागि

यज्ञ मण्डप भित्र स्वयं यज्ञकर्ता हुनको लागि सद्गुरुदेवबाट श्रीराम मन्त्रको दीक्षा लिई बाह्र लाखको संख्यामा मन्त्र जप पूरा गरेको हुनुपर्छ। मन्त्र दीक्षित तर १२ लाखको संख्यामा मन्त्र जप नगरेका वा मन्त्र दीक्षा नै प्राप्त नगरेकाहरूले यज्ञ अनुष्ठानका लागि आवश्यक वित्तीय व्यवस्थापन सहित सद्गुरुदेवबाट निर्दिष्ट प्रतिनिधि मार्फत हवन गर्न सक्नेछन्।

मन्त्र दीक्षा प्राप्त गरी जप अनुष्ठानमा रहेका साधकहरू बाहेक जुनसुकै लिङ्ग, जात, धर्मका जो कोहीले पनि प्रतिनिधि वरण गराई आफूले चाहेको ११ हजार, २१ हजार  ५१ हजार, १ लाख वा सो भन्दा बढीको सङ्ख्यामा आहुति अर्पण गराउन सक्नेछन्। आ–आफ्नो क्षमता र रुचि अनुसार यज्ञ प्रयोजनका लागि समिधा, दुना–टपरी, फलफूल, दूध, अन्न, जल, फूल, मेवा मिष्ठान्नको सेवा अर्पणका साथै अन्य आवश्यक क्षेत्रका सेवामा सहभागी हुन सक्नेछन्।

अन्त्यमा, यस महायज्ञ महायोगी सिद्धबाबाको सत्सङ्कल्पमा १२ सय साधकहरूद्वारा झण्डै ७०५ वर्ष पश्चात् भगवान् श्रीसीतारामज्यूको असीम कृपाले यही माघ २६ देखि फागुन ७ गतेसम्म सम्पन्न हुन गइरहेको श्रीराम तारक ब्रह्म मंत्रराजको १ अर्ब ६० करोड जप सहित १६ करोड हवनार्चन हुँदैछ। एक अर्ब साठी करोड मन्त्र जप पूर्व छ करोड आहूतिद्वारा हुने यस ऐतिहासिक दिव्य पावन महायज्ञमा श्रद्धावान व्यक्तिले आवश्यक वित्तीय सहयोग सहित प्रधान यज्ञकर्ता तथा यज्ञकर्ता बन्ने परम् सौभाग्य प्राप्त गर्न सक्छन्। यस दिव्य यज्ञ मण्डपको १०८ पटक वा लक्ष परिक्रमा मात्रै गर्नाले पनि मनोकामना पूर्तिका साथै अक्षय फल प्राप्त हुन्छ।

सन्दर्भग्रन्थसूची

श्रीराम तारकब्रह्म महायज्ञ पुस्तिका एवम् बु्रसर। सद्गुरुदेवका कृपाले।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

स्वतन्त्र र सक्षम न्यायपालिका

शैक्षिक विकासमा भिमाद नगरपालिका

बिरानो आँगन

मुक्तिनाथ स्मृतिग्रन्थका दुई सन्दर्भ

प्रमुख समाचार

डडेल्धुरामा बस दुर्घटना पाँचको मृत्यु