एसएलसी परीक्षाको नदेखिएको पाटो

Avatar आदर्श समाज सम्वाददाता
असार ३, २०७०

गत जेठ २८ गते २०६९ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भयो। विगत केही वर्ष यता एसएलसी परीक्षाको नतिजालाई हेर्दा ओरालो लागेर गएको छ। परीक्षामा समेल भएकामध्ये ४१.५७ प्रतिशत विद्यार्थी अर्थात नियमिततर्फ ५ लाख ११ हजार १ सय ६५ जनामध्ये १ लाख ६७ हजार ९ सय ३५ विद्यार्थी मात्र यो वर्ष एसएलसी परीक्षा उत्तीर्ण गर्न सफल भए। बाँकी विद्यार्थीको यो फलामे ढोका पार गर्ने सपना साकार भएन।

अहिले बजारमा रहेको चर्चा परिचार्चा पनि त्यही एसएलसी परीक्षाको नतिजा भएको छ। विगत केही दिनदेखि पत्रपत्रिकाका पानाहरूमा, रेडियो स्टेशनहरूमा, टेलिभिजनका पर्दामा यसैको व्याख्या विश्लेषण भइरहेका छन्। विभिन्न विद्वानहरूद्वारा एसएलसीपरीक्षाको नतिजा यति धेरै खस्किएर जानुका कारण खोजी गरिँदैछ। ती व्याख्या विश्लेषणलाई गहन गरेर अध्ययन गर्दा निचोडमा सबैले शिक्षामा भएको राजनीतिकरणलाई द्वोष दिएर आफू पानीमाथिको ओभानो हुने प्रयास गरेको भान हुन्छ। शिक्षक नै त्यस्तो व्यक्ति हो जसमा ज्ञानको फिलिङ्गो हुन्छ, जो परिवर्तनको मशाल बनेर समाज रूपान्तरणको अगुवाइ गर्दछ। शिक्षक त्यही एक मात्र व्यक्ति हो जसले अज्ञानताको अन्धकारमा ज्ञानको ज्योति बनेर अरुलाई बाटो देखाउन नेतृत्व गर्छ। चाहे चाणक्य होस् वा सुकरात सबैले त्यही गरे र गुरु बने। त्यही सम्वेदनामा खेलबाड गर्दै राजनीतिक दलहरूले शिक्षकलाई झोला बोकाएकै कारणले केही हदसम्म नेपालमा शिक्षाको गुणस्तर खस्किएको पक्कै हो भन्नेमा द्विविधा नरहला। यहाँसम्म कि केही विद्वानहरूले त निरन्तर मूल्याड्ढन प्रणालीबाट उदार कक्षान्नोति पाएका विद्यार्थीहरूले पहिलो पटक परीक्षा दिएकोले धेरै अनुत्तीर्ण भएकोसम्म भन्न भ्याएको पाइयो। त्यसो भए त भारत लगायत युरोप अमेरिकाका सबै देशको शैक्षिक स्तर खस्केको हुनुपर्ने हो। एसएलसी परीक्षाको कमजोर नतिजाको शतप्रतिशत दोष शिक्षामा भएको राजनीतिकरणलाई मात्र दिँदा न्याय स·त नहोला र हाल परिचर्चामा ओझेल परेको पक्ष पनि केलाउनुपर्ला जस्तो मलाई लाग्छ।

मैले एसएलसी परीक्षा सकिएपछि प्रकाशित लेखमा परीक्षासँग जोडिएर आउने केही मूलभूत विषयहरू चर्चा गरेको थिएँ। हाम्रो थालमा तयार भएको आएको खाना (भात) थालसम्म आइपुग्न बिउ राख्नेदेखि थालसम्म आइपुग्दा एउटा लामो प्रक्रिया पार गरेर मात्र तयार भएको हुन्छ। हरेक प्रक्रिया उत्तिकै महत्त्वपूर्ण हुन्छ। चाहे त्यो ब्याडमा बिउ उमार्ने होस् या खेतमा रोप्ने वा समयमा बाली उठाउने अथवा चामललाई ठीक्क अड्कलेर पानी हाली पकाउने। यसैगरी परीक्षामा उत्तीर्ण हुन पनि सामन्यतय घरमा अक्षर आरम्भ गर्ने, सकरात्मक र सहयोगी वातावरण दिने, सही विद्यालयको छनौट गरेर भर्ना गर्ने, शिक्षकहरूको ज्ञान, सीप मिहेनत, कक्षाकोठा तथा बाह्य वातावरण, परीक्षा प्रणाली, प्रश्नपत्र निर्माण, परीक्षा हलको वातावरण, उत्तर पुस्तिका परीक्षण, कोडिङ-डिकोडिङ प्रक्रिया, अड्ढ टेबुलेशन, कम्प्युटरमा इन्ट्री तथा प्रिन्ट आदिसम्मको लामो प्रक्रियामा सबै उत्तिकै महत्त्वपूर्ण हुन्छ।

हो विगत वर्षहरूमा भन्दा यो वर्षको एसएलसी परीक्षा केही मर्यादित भएकै हो। तर विगत लामो समयदेखि एसएलसी परीक्षामा सुधार गर्नुपर्ने दुइवटा कुरामा सायदै कसैको ध्यान गए जस्तो लाग्छ। पहिलो प्रश्न पत्र निर्माण र दोस्रो उत्तर पुस्तिका परीक्षण। एक त हाम्रो परीक्षा प्रणली नै वैज्ञानिक छैन। करिब १३ वर्ष पढेको कुरा ३ घण्टाको परीक्षाद्वारा परिक्षण हुन्छ। त्यही माथि प्रश्न पत्र पुरानै ढाँचाको र त्यसले निर्माण कर्ताको अहम् समेत बोकेको हुन्छ। हामी जतिसुकै उदारवादी भए पनि, हामीले जतिसुकै प्रजातन्त्रवादी आदर्श छाँटे पनि मनस्थिति पुरानै छ। प्रश्नपत्र निर्माण गर्दा स्तरीयताको नाममा सकेसम्म विद्यार्थीलाई अनुत्तीर्ण पार्ने खालको प्रश्नहरू निकाल्ने प्रवृत्ति हावी छ। परीक्षामा सोधिने प्रश्नहरूमा ५० प्रतिशत प्रश्न सबै खाले विद्यार्थीले, २५ प्रतिशत मध्यम तहको विद्यार्थीले र बाँकी २५ प्रतिशत तीक्ष्ण विद्यार्थीले समाधान गर्न सक्ने हुनुपर्छे भनी सिद्धान्तमा त हामीले पढेका हौं। तर त्यसको ठीक विपरित प्रश्नपत्र तयार गर्दा त्यसको उल्टो काम गरिरहेका छौं। वि.सं. २०६८ मा अतिरिक्त गणितको १० अड्ढको प्रश्नै गल्ति थियो। यो वर्षको पश्चिमाञ्चल क्षेत्रको सामाजिक शिक्षा विषयको प्रश्नपत्र सेट ‘सी’ मा गणतन्त्र स्थापना भएपछि नेपालमा कति जना प्रधानमन्त्री भए नाम र साल उल्लेख गर लगायतका अतिरिक्त गणितमा एउटै प्रश्न २ ठाउँमा दोहोरिएर आउनु, त्यसै गरी पश्चिमाञ्चलको विज्ञान विषयको एक प्रश्नको उत्तर दूरी गणना गर्नुपर्ने जसको उत्तर ऋणात्मक -() मा आउँने जस्ता अवैज्ञानिक तथा त्रुटीपूर्ण र विद्यार्थीलाई नियतबस अनुत्तीर्ण गराउने खालका प्रश्न सोधिएका छन्। यस विषयमा किन चर्चा गरिदैन – यसैगरी देशभरका विद्यालयलको वातावरण र पढाइको स्तरलाई ख्याल नै नगरी काठमाडौंलगायत केही ठूला सहरका सुविधा सम्पन्न विद्यालयहरूको विद्यार्थीलाई मात्र ध्यानमा राखेर तयार गरिएका प्रश्नपत्रमा परीक्षा दिन बाध्य भएका, शैक्षिक सत्रको मध्यसम्म पाठ्यपुस्तक नै नपाएका, सबैजसो शिक्षित युवाहरू वैदेशिक रोजगारीमा गएर सम्बन्धित विषय शिक्षक नै नपाएका तथा भागबण्डामा बाँडिएका शिक्षक कोटामा हाम्रो मान्छे शिक्षक भएर आई जबरजस्ति पढाइएका, बिहान बेलुकीको छाक र्टार्न आफ्ना अभिभावकलाई सहयोग गर्दै, घाँस दाउराको जोहो गर्दै, भाइबहिनीको हेरचाह गरेर बचेको समयमा विद्यालय हाजिर भई सुनौलो भविष्यको सपना देख्ने ती निमुखाहरू अनुत्तीर्ण हुनु सिवाय अको के विकल्प छ र ? निरन्तर मूल्याड्ढन प्रणालीलाई दोषी देख्ने विद्वानहरूले किन देख्दैनन् दश वर्षे आन्तरिक द्वन्द्वको प्रत्यक्ष मारमा परेर आफ्ना अभिभावक गुमाइ त्रसित मनस्थितिमा बाँचेका बालबालिकाले पनि एसएलसी परीक्षा दिइरहेका छन् भन्ने। स्तरीयताको धङधङीमा कतिसम्म असफल हुने उनीहरूले ? यहाँ म विद्वान पाठकहरूलाई के अनुरोध गर्छुभने परीक्षा, परीक्षामा सोधिने प्रश्नपत्र स्तरीय हुनुहुँदैन भन्ने मेरो तर्क कदापि होइन र त्यस्तो भ्रम कसैमा नपरोस्।

यसैगरी अको पाटो उत्तरपुस्तिका परीक्षण पनि हो। हामीकहाँ एसएलसी परीक्षाको उत्तर पुस्तिका परीक्षणमा व्यापक सुधार गर्नुपर्ने अवस्था विद्यमान् छ। यसमा पनि २ वटा कुरा छन्। एक कुनै पनि काम गर्दा प्रकृतिको सामान्य नियमलाई तोड्न सकिँदैन र कसैले त्यस्तो धृष्टता गर्छ भने त्यहाँ अवश्यै दुर्घटना हुन्छ। नियमिततर्फको मात्र ४,३९,०३६ लाख विद्यार्थीका आठ विषयका ३५,१२,२८८ थान उत्तर पुस्तिका त्यही पनि सरकारी शिक्षकहरूको आन्दोलन र असहयोगको बाबजुद २ महिनामा परीक्षण गरी नतिजा समेत प्रकाशन हुनु प्रशंसनीय काम भए पनि आफैमा प्राकृतिक अवश्यै लाग्दैन। जसको परिणाम त चितवनको बालकुमारी उच्चमावि विद्यार्थीको घट्ना नै काफी छ। एक जना परीक्षकले धेरै विषयको उत्तर पुस्तिका परीक्षण गर्ने, एकै जनाले धेरै उत्तर पुस्तिका परीक्षण गर्ने, न्यून पारिश्रमिकको कारणले गर्दा अनुभवी शिक्षकहरूको अभावमा नव प्रवेसी अनुभवहीन शिक्षकहरूले उत्तर पुस्तिका परीक्षण र सम्परिक्षण गर्ने जस्तो प्रवृत्ति बढेर गएको पाइन्छ। यसैगरी प्रश्नहरू सटिक र वैज्ञानिक नभइदिँदा एउटै प्रश्नको बहुउत्तर आउने वा एउटै उत्तरको मापन फरक-फरक भइ अड्ढ फरक दिइने आदि समस्याहरूको मारमा तिनै निमुखा विद्यार्थीहरू पिल्सिएका छन्। त्यसैमाथि नेपालीका विद्वानहरूले वर्णवन्यासमा सुधार ल्याउने नाममा भएको संरचना पनि ध्वस्त पारेको सङ्क्रमणकालीन अवस्थाले पनि नेपाली विषयमा विद्यार्थीलाई मार परेकोछ। हुन त एउटा मापदण्ड बनाइएको छ तर त्यहाँ पनि व्यक्तिगत अहम नै बाधक भएर प्रस्तुत हुँदो रहेछ त्यसको उद्दारण सबैले आ-आफ्नो विद्यालयको नेपाली विभागमा खोजे पुग्छ।

कोडिङ-डिकोडिङ तथा कम्प्युटर इन्ट्रीको अब पालो आउँछ। यो सारा प्रक्रियामा हुने मानवीय त्रुटिको पनि न्यून भए पनि पक्कै केही प्रतिशत जिम्मेवारी रहला। हरिवंशले लेख्नु भएजस्तो गोरखापत्रमा भएको मार्कसिटमा नहुने र गोरखापत्रमा नभएको मार्कटिमा सच्चिएर आउने जमाना त रहेन अब तर पनि मानवीय त्रुटि नै हुँदेन भनेर ठोकुवा गर्न सकिँदैन।

त्यसैले सर्वप्रथमत तह उत्तीर्ण हुने परीक्षाको प्रणालीलाई नै परिवर्तन गर्नुपर्ने अवस्था छ। उत्तीर्ण अनुत्तीर्ण भन्दा पनि कुनै एक क्षेत्रमा दक्ष बनाई ग्रेडिङ गरेर उसको भविश्यको बाटो देखाउने खालको नतिजा प्रदान गर्ने व्यवस्था गर्न सकिन्छ। जसले गर्दा भविष्यमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीले समयमा नै आफूलाई व्यवस्थित बनाउन सक्ने मात्र नभई अरू विद्यार्थीहरूले पनि आ-आफ्नो ग्रेड अनुसारको काम गर्न सक्ने अवस्था सृजना हुन्छ। त्यसैगरी हामीमा भएको जागिरे मनस्थितिमा परिवर्तन ल्याई रोजगारी खोज्ने भन्दा उत्पादन गर्ने तर्फ आजको युवाहरूलाई अग्रसर गराउनु सकिन्छ। होइन भने यो फलामे ढोकाको गाइजात्रे मारमा निमुखा विद्यार्थीहरू अझ कति वर्षसम्म पिल्सिएर रहनुपर्ने हो भन्न सकिन्न।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

सामुदायिक विद्यालय, निजी विद्यालय र स्थानीयतह

अन्तराष्ट्रिय फौजदारी अदालत तथा रोम विधान

अमेरिकी रणनीति र नेपाल

थिलथिलिएको युवा मस्तिष्क

प्रमुख समाचार

पत्रकार राजबहादुर गुरुङलाई उपचार सहयोग