शुक्लागण्डकीले बाड्यो ३१ सय परिवारलाई राहत

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७७

खैरेनीटार । गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्लामा रहेको शुक्लागण्डकी नगरपालिकाले ज्याला मजदुरीको माध्यमबाट गुजारा चलाउने विपन्न वर्गका परिवारलाई दैनिक उपभोग्य खाद्यन्नका सामाग्री वितरण गरेको छ ।

लकडाउनको मारमा परेका तीन हजार ९० परिवारलाई चामल, दाल, नुन, खाने तेल र साबुन वितरण गरिएको नगरप्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए । यस नगरपालिको १२ ओटा वडामा तीन हजार तीन सय चार परिवारले राहात लिन निवेदन आएकोमा दुई सय १४ परिवार राहात लिनलाई तोकिएको मापदण्डमा नपरेपछि वितरण नगरिएको प्रवक्ताकोे भनाई रहेको छ । तथ्याङ्क संकलनको क्रममा छुटेका तर आर्थिक विपन्नताले घरमा चुलो बल्ने स्थिति नभएकालाई राहात उपलब्ध गराउने कुमाल बताउछन् ।

शुक्लागण्डकी नगरपालिकाको प्रत्येक वडाका प्रत्येक टोलटोलमा पुगेर टोलबिकास संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य संघ, रेडक्रस, नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरुको रोहबरमा वडाअध्यक्ष सहितका जनप्रतिनिधीले राहातका समाग्री वितरण गरेका थिए ।

नगरपालिकाले परिवारमा दुई जना सदस्य भएका परिवारलाई १५ केजी चामल, दुई केजी दाल, डेढ लिटर तेल, दुई पोका नुन र एउटा साबुन उपलब्ध गराएको छ । त्यस्तै, चार जना सदस्य भएका परिवारलाई २० केजी चामल, दुई केजी दाल, डेढ लिटर तेल, दुई पोका नुन र एउटा साबुन दिएईएको थियो र चार जना भन्दा धेरै सदस्य भएका परिवारलाई २५ केजी चामल, तीन केजी दाल, डेढ लिटर तेल, दुई पोका नुन र एउटा साबुन दिइएको कुमालले जानकारी दिए ।

नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विपद कोषमा ६० लाख रुपैयाँ जम्मा गरेको छ । उक्त रकमबाट खाद्यन्नका सामाग्री वितरण गरिएको हो । साथै अझै पनि विपन्न वर्गका परिवारहरुले राहतको लागि माग गरिरहेको समेत प्रवक्ताले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width