‘गुराँस पनि फुल्नै मात्र भयो’

रासस
वैशाख २, २०७७
1024px-Rhododendron_2

अवस्था ठिकठाक हुन्थ्यो भने यसबेला घुम्टेलेकमा पर्यटक भरिन्थे । विसं २०७७ लाई तीन हजार १२० मिटर उचाइबाट स्वागत गर्थे । नयाँ वर्षको छेकोमा घुम्टे उक्लेका पर्यटक गुराँस उत्सवमा रमाउँथे । तर यो पालि गुराँस उत्सव सम्झिइयो मात्र । गुराँस पनि फुल्नै मात्र भयो । गए वर्षान्तको साँझ कोही पनि घुम्टे चढेनन् । घुम्टेबाट न कसैले सूर्यास्त अवलोकन गरे, न सूर्योदय । घुम्टे साइँला…पनि गुञ्जिएन, न नाचियो सोरठी ।

झण्डोत्तलन, अवलोकन यात्रा, झाँकी प्रदर्शनी, ‘क्याम्प फायर’ सबैसबै केवल स्मृतिमा सीमित रहे । कोभिड–१९ को विश्वव्यापी सन्त्रासबीच यो वर्ष गुराँस उत्सवमा पनि विराम लाग्यो । गलकोटस्थित पर्यटकीय लेक घुम्टे नयाँ वर्षमा सुनसान बन्यो ।

आयोजक गलकोट घुम्टे पर्यटन विकास केन्द्र यसपालि पनि उत्सवको तयारीमा जुटेको थियो । “हामी व्यवस्थापन र पूर्वतयारीका काममा लागेका थियौँ”, केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले भन्नुभयो, “कोरोना भाइरसका कारण एक्कासि उत्सव रोक्नुपर्ने परिस्थिति बन्यो ।”

गत फागुनमा घुम्टेको काखमा अवस्थित टेउवामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालास्थलको प्रवद्र्धनमा समेत उत्सवले सघाउने विश्वास लिइएको थियो । टेउवामा ११ देशका १५ प्रख्यात कलाकारले ढुङ्गामा कुँदेका मूर्ति छन् । घुम्टेको पर्यटन प्रवद्र्धन र गुराँस संरक्षणको सन्देश दिन केन्द्रले विसं २०७० देखि गुराँस उत्सव गर्दै आएको छ । बर्सेनि चैत महिनाको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिन गरी दुई दिन उत्सव चल्छ ।

बितेको वर्षको अन्तिम सूर्यास्त र नयाँ वर्षको पहिलो सूर्योदय हेर्न अधिकांश पर्यटक अघिल्लै साँझ घुम्टे पुग्थे । जङ्गलबीचको गोठथरीमा रात बिताउँथे । कतिपय पाल टाँगेर बस्थे । पर्यटकले लेकमै पु¥याइएका खाजाघर र पसलबाट भोक मेटाउँथे । “नयाँ वर्षमा घुम्टे चढ्ने चलनजस्तै हुन थालेको थियो”, अध्यक्ष बस्नेतले भन्नुभयो, “हाम्रो अनुमानमा गुराँस उत्सवमा हजारौँ पर्यटक, सर्वसाधारण सहभागी बन्छन् ।” घुम्न, उत्सवमा रमाउनबाहेक पूजापाठका लागि घुम्ने चढ्ने पनि उत्तिकै हुन्छन् ।

घुम्टेको चुचुरोमा रहेका सिद्ध र भैरव मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पुरा हुने जनविश्वास छ । अध्यक्ष बस्नेतका अनुसार गुराँस उत्सवमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तलन, ‘क्याम्प फायर’लगायतका कार्यक्रम आयोजना गरिन्छ ।

केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र नयाँ वर्षको दिनलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । घुम्टेको घना वन क्षेत्रमा दर्जनौँ प्रजातिका गुराँस फुल्ने गर्छन् । धार्मिक, प्राकृतिक तथा जैविक महत्व बोकेको घुम्टे गण्डकी प्रदेशको पर्यटकीय गन्तव्यको सूचीमा छ । केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वन क्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहको आर्थिक सहयोगमा घुम्टे चढ्ने पदमार्ग, मन्दिरको पुनःनिर्माणलगायत पर्यटकीय पूर्वाधारको निर्माण भइरहेको छ । गुराँस उत्सवबाहेक बर्सेनि बुद्ध जयन्तीमा घुम्टेमा परम्परागत मेला लाग्ने गर्छ ।

कोरोनाको माहामारी रोकिएर परिस्थिति अनुकूल भए सोही मेलालाई विशेषरूपमा मनाइने केन्द्रले जनाएको छ । गुराँस उत्सव हुने दिन सोमबार केन्द्रका पदाधिकारीले मोबाइलबाट ‘भिडियो’ बैठक गरेका थिए । बैठकमा घुम्टेमा पुनःनिर्माण गरिएका सिद्ध र भैरव मन्दिरको उद्घाटनलगायतका विषयमा छलफल भएको जनाइएको छ ।
गुराँस संरक्षण पहल    

घुम्टे लेकको सौन्दर्य नासिन नदिन र पर्यावरण जोगाउन गाउँले लागिपरेका छन् । गुराँस संरक्षणमा जुटेका छन् । गुराँस मासे जोकोहीलाई कारवाही हुन्छ । जथाभावी गुराँस टिप्न पनि रोक लगाइएको छ । चरिचरनदेखि कटान नियन्त्रण गरिएको छ । “हाँगासमेत भाँच्न पाइँदैन, त्यस्तो गरेको भेटिएमा कारवाही हुन्छ”, घुम्टे–कौलेनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यबहादुर थापाले भन्नुभयो ।

घुम्टे लेकको पर्यटकीय आकर्षण टिकाउन गुराँस संरक्षणमा लाग्नुपरेको उहाँको भनाइ छ । चरन र काठ–दाउरा चोरीले गुराँस नासिन थालेपछि संरक्षण योजना ल्याइएको हो । शुरुमा गाउँलेले सर्वपक्षीय भेला डाकी गुराँसको बोट, हाँगाबिँगा काट्न नपाइने निर्णय गरेका थिए । घुम्टे गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा पर्छ ।

(रामबहादुर थापा, बागलुङ, रासस)   

Related News

सम्बन्धित समाचार

hero news full width