पर्यटकबिनै नयाँ वर्ष स्वागत

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७७
20200316_100954

नयाँ वर्षको दिन आन्तरिक एवं बाह्य पर्यटकले खचाखच हुने गरेको पर्यटकीय सहर पोखरा यसपालि भने सुनसान बन्यो । पोखराले त्यस्ता कुनै पर्यटकबिनै नेपाली नयाँ वर्ष २०७७ को निरस स्वागत गर्‍याे ।

इतिहासमै यसरी पहिलो पटक हो–बिनापर्यटक नयाँ वर्षको स्वागत । अघिल्लो वर्ष यसबेला पोखराको फेवाताल किनार बसुन्धरा पार्कमा पश्चिमाञ्चल होटल संघ (हान) को आयोजनामा नव वर्ष फेवा महोत्सव हुने गर्दथ्यो ।

नेपाली नयाँ वर्षको स्वागतार्थ महोत्सवकै अवसरमा फेवाताल किनारमा मध्यरात पर्खिएर सर्वसाधारणहरु आतिशबाजी तथा पटाकासहित नयाँ वर्षको भव्य स्वागत गर्दथे । सोको लागि पोखरा सहित छिमेकी जिल्ला तथा टाढा टाढाबाट पनि मानिसहरु पोखरा ओइरिन्थे ।

तर यसपालि विश्वभर नै महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को असर तालनगरीसम्म आइपुग्यो । यो सहर पनि यसबाट अछूतो रहेन । यहाँ अघिल्ला २ महिनादेखि नराम्ररी पर्यटन व्यापार खस्किएको छ ।

नेपाल सरकारले हाल ११ चैतदेखि लागू हुने गरी देशभर आह्वान गरेको लकडाउनका कारण मानिसहरु घरभित्रै छन् । बाहिर निस्कन पाएका छैनन् । मेला महोत्सव त हुने कुरै पनि भएन ।

पोखराका विभिन्न पर्यटकीयस्थल सुनसान छन् । धार्मिक पर्यटकीयस्थलमा समेत दर्शनार्थी छैनन् । फेवातालमाथि डुंगा चल्न पाएका छैनन् । यसबीचमा पोखरामा भए गरेका करिब ५ सय बढी विदेशी पर्यटक पनि  सम्बन्धित देशको दूतावास सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार पोखरा यसरी पहिलो पटक मारमा परेको हो । नयाँ वर्ष पर्यटकबिनै स्वागत गर्नुपरेको निरस दिन रह्यो, उनी भन्छन् ।
पोखराको पर्यटक चलायमान हुन थालेको सन् १९६० देखिमात्र हो । सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण मौरिस हर्जोगको टोली आरोहणमा जाने क्रममा यहाँ बास बसेका थिए ।

यसरी क्रमशः पोखरा पदयात्रा वा हिमाल आरोहण जानेक्रममा आराम गर्ने थलोका रुपमा विकास हुँदै जाँदा यहाँको पर्यटनले गति लिएको बूढापाका बताउँछन् ।
यहाँको पर्यटन विकासमा विनासकारी भूकम्प, नाकाबन्दी, हुदहुद, अन्नपूर्णको हिमपहिरो जस्ता विभिन्न कारणले असर पार्‍यो । विगतको तुलनामा अहिले सबैभन्दा बढी परेको पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए ।

पोखरा विशेषतः फेवाताल र माछापुच्छेले विश्वभरि चर्चित छ । माछापुच्छेको छायाँ तालमा पर्नु यहाँको विशेषता हो । फेवाताल सहित बेगनासताल, रुपाताल, खास्टे, दिपाङ, मैदी, न्यूरेनीसहित विभिन्न ९ ताल, मठमन्दिर, गुफा, सेती नदी पोखराका प्रमुख पर्यटकीय आकर्षण हुन् ।

दृश्यावलोनका लागि सराङ्कोट, विश्वशान्ति स्तूप, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट छन् भने महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, पाताले छाँगो मानिसहरुको दैनिक भीडभाड हुने थलो हो ।

पोखराको अर्को चर्चित क्षेत्र विन्ध्यवासिनी मन्दिर एवं तालबाराही मन्दिर कोरोनाकै कारण दर्शनका लागि बन्द गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width