जोखिमयुक्त बागलुङमा १८ जनाको मात्र परीक्षण

लकडाउनको दुई साता

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७६
pcr in pokhara

फोटोः पीसीआर मेसिन पोखरा ।

पोखरा, २४ चैत । कोरोना परीक्षणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट हुने भनिएको गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लामा हालसम्म १८ जनाको नमुना संकलन गरिएको छ । तीमध्ये २ जनाको पोजेटिभ र बाँकीको नतिजा नेगेटिभ आएको छ । जिल्लामा हाल २६ जना क्वारेन्टाइनमा बसेका छन् भने होम क्वारेन्टाइनमा ८ सय १५ जना छन्।

संघीय सरकारको निर्णय बमोजिम कोरोनाको उच्च जोखिममा रहेको भन्दै बागलुङसहित सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिने तयारी छ।

जसअनुसार बागलुङमा पनि कोराना संक्रमितको बासस्थान वरपर रहेका तथा चैतमा सम्पर्कमा आएका व्यक्तिहरुको सो टेष्टमा गरिने छ। तर बागलुङमा यस अवधिमा कति जना मानिस विदेशबाट फर्किएका हुन् भन्ने यकिन तथ्यांक सार्वजनिक नभए पनि करिब ८ सय १५ जना आएको जनाइएको छ ।

टेष्ट गर्दा पोजेटिभ आएकाहरुको पीसीआर विधिबाट यकिन गर्ने र यसको नतिजाका आधारमा अन्य क्वारेन्टाइनमा रहेका व्यक्ति र संक्रमणको शंका लागेकाहरुको परीक्षण गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाए ।

विदेशबाट ठूलो संख्यामा मानिसहरु फर्किएको र कोराना संक्रमितको बासस्थान वरपर रहेकाहरुको पनि परीक्षण गर्नुपर्ने हुँदा अहिलेको गतिले पार नलाग्ने भन्दै प्रदेशवासीले चिन्ता व्यक्त गरेका छन् ।

लकडाउन सुरु भएको पनि २ साता बितिसक्दा हालसम्म सो जिल्लामा मात्र १८ जनाको स्वाव परीक्षण गरिएको हो । प्रदेशस्तरमै नमुना परीक्षण पनि सुस्त छ । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ चैतमा पीसीआर मेसिन ल्याई परीक्षण थालिएकोमा हालसम्म ६४ जनाको नमुना संकलन गरिएको छ । तीमध्ये ५० जनाको नेगेटिभ छ भने बाँकीको नतिजा आएको छैन ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म बागलुङसहित गण्डकीमा १ सय १० जनाको नमुना संकलन गरिएकोमा ९६ जनाको नतिजा आएको छ । सोमध्ये २ जना पोजेटिभ हुन् । बाँकी १४ जनाको नतिजा आएको छैन । अघिल्लो दिन आइतबार सार्वजनिक गरिएको नतिजा परिणाममा कुल ४६ मध्ये २८ जनाको नतिजा नेगेटिभ थियो। दुई दिनयता ३६ जनाको नमुना संकलन गरिएको हो । तीमध्ये २ दिन अवधिमा २२ जनाको मात्र स्वाव परीक्षण गर्न सकिएको हो ।

धेरै जनाको र्‍यापिड टेष्ट गर्नुपर्नेमा धिमा गतिमा टेष्ट भएकोबारे जिज्ञासा राख्दा प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले अब केही दिनमा बागलुङ केन्द्रित गरी परीक्षण तीव्र हुने विश्वास दिलाए । उनले बागलुङको लागि आवश्यक सामग्री पठाउने र आवश्यक परेमा थप जनशक्ति पनि पठाइने बताए ।

जिल्लागतअनुसार कास्कीका ४७ जनाको नमुना संकलन गरिएकोमा ४२ जनाको नेगेटिभ नतिजा आएको छ भने अन्यको आउन बाँकी छ । त्यस्तै पर्वतका २३ जनामध्ये १४ को नतिजा नेगेटिभ छ भने अन्यको आउन बाँकी छ । लमजुङका ९ मध्ये ९ जनाकै नतिजा नेगेटिभ छ भने स्याङ्जाका ८ जनामध्ये सबैको नतिजा नेगेटिभ छ । म्याग्दीका ३ र गोरखाका २ मध्ये सबैको नतिजा नेगेटिभ छ ।

यसैबीच, पछिल्लो समय कास्कीमा ३ सय ८९ जना विदेशबाट आएका छन्। तनहुँमा ५ सय ८२ जना, गोरखामा ३ सय ९४ जना, पर्वतमा ३ सय १६, लमजुङमा ९ र मनाङमा ३ जना मानिस पछिल्लो महिना विदेशबाट आएको तथ्यांक संकलन गरिएको छ ।

कोभिड–१९ सम्बन्धी तथ्यांक रेकर्डिङ सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन लगायतका प्रतिनिधि सम्मिलित संयुक्त बैठकले रिपोर्टिङ फर्म र टेम्प्लेटसम्बन्धी एकरुपता, अनलाइन रिपोर्टिङ व्यवस्था लगायतबारे छलफल गरी अनलाइन रिपोर्टिङ सफ्टवेयर विकास गर्ने निर्णय गरेको छ ।

द्रुत प्रतिकार्य टोली (आरआरटी) विषयत समितिको बैठकले जिल्लाका अलावा स्थानीय तहमा यो सम्बन्धी अभिमुखीकरणका लागि ७ सदस्यीय कार्यदल गठन गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width