कोरोनाको प्रभाव: गाउँतिर चहलपहल शहरमा सुनसान

कतै गाउँबाट कोरोना फैलिन्छकी भन्ने डर भएकाे छ

रासस
चैत्र ११, २०७६
gadsera Kishor Bikram Shah

गडशेरा, डाेटी । फाेटाेः किशाेर विक्रम शाह

चैत ११, डाेटी ।  केही दिन यतादेखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका गाउँ वस्तीमा निकै चहल पहल बढेको छ । युवा तथा परदेश गएका युवाहरु धमाधम गाउँघर फर्किएपछि यहाँका गाउँवस्तीहरु भरिभराउ देखिएका छन् । यता गाउँघरमा चहलपहल बढेपनि यहाँका प्रमुख बजार भने करिब सुनसान अवस्थामा रहेका छन् । सरकारले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण हुन नदिन आजबाट देशैभरि ‘लकडाउन’ गरेपछि जिल्ला सदरमुकाम सिलगढी, पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा पिपल्ला बजार सुनसान हुन पुगेको हो ।

बजारमा यातायातका साधन समेत चल्न छोडेपछि झनै सुनसान भएको दिपायल पिपल्लाका स्थानीय सर्वजित देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो अस्तिसम्म भारत लगायत अन्य ठाउँबाट मानिस आउने गरेका कारण बजारमा ठूलै चहल पहल हुने गर्दथ्यो, हिजो आज त बजारमा मानिस भित्रिन छोडेका छन् र यातायातका साधन पनि ठप्प भएपछि सुनसान भएको छ ।” स्थानीय भन्छन्– यतिखेर बजारको चहलपहल वस्तीतिर सरेको छ ।

सरकारले सोमबार साँझ ‘लकडाउन’को घोषणा गरेसँगै यहाँका बजार व्यवसाय, कलकारखाना, यातायातका साधन बन्द भएपछि पिपल्ला, राजपुर, दिपायलका ठाउँहरुमा व्यवसाय गर्दै आएका व्यापारीहरु पनि पसल बन्द गरेर बसेका छन् । अधिकांश भने आ–आफना घर तथा गाउँमा फर्र्किएका छन् । कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण हुन सक्ने भन्दै स्थानीयवासीहरु पनि आफ्ना घर बाहिर निस्किन सकेका छैनन् । त्यस्तै यहाँको स्थानीय प्रशासानले समेत निषेधाज्ञा जारी गरेसँगै घरबाहिर ननिस्कीन भन्दै प्रहरीले बजारमा गएराति देखि नै माइकिङ गर्न थालेको छ । बजारमा बिनाकाम निस्किने, भिड गर्ने लगायतका निषेधित कार्य गर्नेलाई प्रशासानले कारवाही गर्ने बताएपछि कारवाहीमा परिने डरले पनि स्थानीयबासी घरबाहिर ननिस्केका राजपुरका स्थानीय राजेन्द्रबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले घर बाहिर निस्किए कारवाही हुने भनी माइकिङ गरेपछि कतिपय मानिस घरभित्रै बसेका छन् भने गाउँमा घर भएकाहरु गाउँतिरै गइसकेका छन् ।” यहाँका बजारमा सुरक्षाकर्मीहरुको मात्रै बाक्लो उपस्थिति देखिन थालेको छ ।

कोरोना भाइरसको सतर्कतास्वरुप विद्यालय, क्याम्पस तथा कार्यालयहरु बन्द भएसँगै यहाँका गाउँ बस्तीमा चहलपहल बढेको हो । केही दिन अघिसम्म सुनसान देखिएका यहाँका ग्रामीण वस्तीमा दशैँमा भन्दा पनि बढी नै चहलपहल हुन थालेको स्थानीयहरु बताउँछन् । रोजगारीका लागि भारत तथा शहर बजारमा गएका मात्र नभएर तराई तथा शहरी क्षेत्रमा सम्भावनाको खोजी गर्दै बसाईँ सरेकाहरुसमेत हिजो आज गाउँघरमै फर्किएका जोरायल गाउँपालिका वडा नं ३ का स्थानीय गमबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षौँ पहिले गाउँ छोडेर तराइ तथा शहर बजारमा बसाईँ सरी गएकाहरु पनि हिजो आज धमाधम गाउँ फर्किन थालेका छन्, दशैँ तिहार जस्ता ठूला चाड भन्दा कम्ती छैन अहिले गाउँघर ।”

बजार तथा पसल बन्द भएसँगै जिल्लामा खाद्यन्नका लागि समस्या हुने कतिपयले आँकलन गर्न थालेका छन् । त्यस्तै नयाँवर्ष नजिकिँदै गर्दा कामका लागि छिमेकी मुलुक भारत तथा देशका बिभिन्न ठाउँमा गएका सुदूरपश्चिमेलीहरु नयाँ वर्षको अवसरमा पारेर पनि केही घर आएका छन् । बडीकेदार गाउँपालिकाका स्थानीय प्रकाशबहादुर कलेलले भन्नुभयो, “प्रत्येक सालको नयाँ वर्षलाई सुदूरपश्चिमका स्थानीयले बिसु पर्वका रुपमा मनाउने गर्दछन्, त्यसैले बिसु पर्व मनाउन गाउँ फर्किएकाहरुका कारण पनि गाउँमा केही चहल पहल बढेको हो ।”

बिसु पर्व मानाउन घर फर्किनेमा अधिकांस सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, बाजुरा, अछाम, डडेल्धुरा, दार्चुला र डोटीका मानिस छन् । उनीहरुमा कामको खोजीमा छिमेकी मुलुक भारत तथा अन्य देशमा गएकाहरु बढी छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट बुडरका प्रमुख भरत शाहीका अनुसार दैनिक सयौँको सङ्ख्यामा भारतका विभिन्न शहरबाट गाउँ फर्किएका छन् । विसु पर्व सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने ठूलो चाड हो । यस पर्वका लागि वर्षेनी स्थानीय युवा आ–आफना घर फर्किने गर्दथे । यसवर्ष कोरोना भाइरस ९कोभिड १९० का कारण झन् यसरी घर फर्किनेको सङ्ख्या बढ्न पुगेको हो । भारतमा पनि नेपालीले काम गर्ने ठूला कम्पनीहरु हालका लागि बन्द हुन थालेका कारण सुदूरपश्चिमेलीहरुलाई घर फर्किनुपर्ने बाध्यता पनि आइलागेको केही युवा बताउँछन् । स्थानीयहरु घर फर्किएका कारण यात्रुको चाप निकै बढेकाले यहाँका पहाडी क्षेत्रका प्रत्येक रुटमा कम्तीमा २ वटा गाडी थपगरिएको छ । तर दुई सिदन यता लामो दुरीका साधन चल्न नदिएपछि भने अहिले यहाँका सडकहरु पनि सुनसान भएका छन् ।

केही दिन यतादेखिको यात्रुहरुको चापका कारण यहाँका पहाडी क्षेत्रका होटेलहरु पनि खचाखच भएका थिए । डडेल्धुरा र दिपायलका होटेलमा यात्रुहरुले खचाखच भएकोमा आज बन्द भएसँगै उनीहरु गाउँ फर्किन थालेका छन् । तर टाढाका यात्रु भने सवारी साधनको अभावमा यतै बसिरहेका छन् । तर आज रातिदेखि भने यहाँका होटेल तथा रेष्टुराहरु पनि बन्द हुने होटेल व्यवसायी संघ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “केहीदिन पहिले होटेल रेष्टुराँ भरिभराउन थिए, अहिले लकडाउन भएपछि सबै बन्द भएका छन्, बाँकी पनि आजबाट सञ्चालनमा आउँदैनन्, कर्मचारीहरुलाई पनि विदा दिइएको छ ।”

यतिखेर कामका लागि भारत गएका मात्र नभई पहाडबाट बसाइँ सरी तराई गएकाहरु पनि बिसु पर्व मनाउन आफ्नो गाउँ तथा जन्मथलो फर्किने बेला हो । केआइसिंह गाउँपालिका वडा नं ३ बासुदेबीका स्थानीय सेरु ऐरले भन्नुभयो, “शहर भन्दा गाउँमा बढी स्थानीयको चहल पहल बढेको छ, कतै गाउँबाट कोरोना फैलिन्छकी भन्ने डर हुँदै आएको छ ।” सुदूरपश्चिमका पहाडी जिल्लामा गौरा र दशँै पर्व पछिको महत्वपुर्ण पर्व बिसुलाई मानिने भएकाले पनि यहाँका स्थानीयहरु बढीजसो यो बेला आ आफनो घर फर्किने गरेको जोरायल गाउँपालिका वडा नं ५ गडसेराका मोहनबहादुर पातलीले बताउनुभयो । उहाले भन्नुभयो, “दशैँ भन्दा पनि यहाँका गाउँमा बिसु र गौरा पर्व लाई बढी महत्व दिइने भएकाले पनि मिलेसम्म यो बेला घर नआउने लगभग कोही हुदैन ।” बिसु पर्वका लागि गाउँमा नयाँ लत्ताकपडा तथा आवश्यक सामग्रीहरु किन्नेको अहिले भिडलाग्ने गरेको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका अर्का स्थानीय तथा व्यापारी चेतबहादुर विष्टले बताउनुभयो ।

दशैँ तिहारजस्ता चाडपर्वले समेत गाउँ नफर्काएकाहरुलाई पनि कोरोना भाइरसको त्रासले अहिले आफनै गाउँ आउन बाध्य बनाएको जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं १ साना गाउँका श्यामबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “शहर बजारमा बढी भिडभाड हुन थालेपछि कोरोना फैलिन सक्ने डरले गाउँमा आएका छौँ, गाउँमा शान्त छ शहर बजारको जस्तो भिड नभएकाले आनन्द भएको छ ।”

बिगतको समयमा गाउँघरमा जनशक्ति नभएपछि सयौँ रोपनी खेतबारी बाँझो भएको भए पनि युवा जनशक्ति अहिले गाउँ फर्किएसँगै यस वर्ष ती बाँझा खेतबारीमा अन्नबाली लगाउन सकिने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ छाड्ने प्रबृतिले यहाँको सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो अवस्थामा थिए अहिले सबै घर फर्किएका छन्, बाँझो जमिनमा खेती गरेर अन्न उत्पादन बढ्ने भयो ।”

कोरोना भाइरस ९कोभिड–१९० का कारण विश्वकै आर्थिक क्षेत्रमा ठूलो गिरावट आउने आँकलन गरिएको छ । तर डोटी लगायत समग्र सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रमा यतिबेला जम्मा भएका युवा तथा सबै नागरिकले आफ्नो घरगाउँमा बाँझो रहेका पुख्र्यौली खेतबारीमा खनजोत गरी खेतीगर्ने आसा पलाएको छ । यतिबेला गाउँमा आएकाहरु बिसु पर्व मनाएर फर्किहाल्ने अवस्था नरहेको र कोरोनाको असर अझै कतिसम्म रहने हो भन्ने अनुमान नरहेकाले पनि आगामी समयमा यहाँ अन्न उत्पादनको अवस्थामा बृद्धि हुने अपेक्षा स्थानीयको छ ।

सडक मार्गबाट एक हप्तामा कम्तिमा पनि एक हजार जनाको सङ्ख्यामा स्थानीय जिल्ला भित्रिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । एक हप्तामा सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला भित्रिने भिमदत्त पन्त राजमार्गबाट कम्तिमापनि ५२७ ओटा जीप र १०० ओटा बसमार्फत कम्तिमा ५ हजार ७९७ नागरिक भित्रिएको पहाडी जिल्लाका नाकाका रुपमा रहेको अस्थायी ट्राफिक प्रहरी कार्यालय बुडर डोटीले जनाएको छ ।

सार्वजनिक गाडीको अभिलेख प्रहरीसँग भए पनि निजी गाडीबाट पनि ठूलो सङ्ख्यामा यात्रु भित्रिएको प्रहरीको भनाइ छ । जिल्लाबाट बाहिरिनेको सङ्ख्या कम र भित्रिनेको सङ्ख्या अत्याधिक रहेको शैलेश्वरी यातयात व्यवसायी समितिका कार्यालय प्रमुख प्रेमबहादुर रावलले जानकारी दिनुभयो । स्थानीय नागरिक भन्छन्– संसारमा र हाम्रो नेपालमा पनि कोरोनाको कहर त छँदैछ, तर पनि यस क्षेत्रका दाजुभाइ तथा दिदीबहिनीहरु आफ्नो जन्मस्थलमा आएकोले गाउँघर यतिखेर निकै भरिभराउ र रमणीय बन्दै गएको छ।

(विमलबहादुर विष्ट /रासस )

Related News

सम्बन्धित समाचार

hero news full width