तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेशन कक्ष

रासस
चैत्र ११, २०७६
20200319_110010

दमौली, ११ चैत । कोभिड–१९ का शङ्कास्पद विरामीको उपचारका लागि तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेशन कक्ष तयार भएको छ । जिल्लाका व्यास, शुक्लागण्डकी नगरपालिका, म्याग्दे र बन्दीपुर गाउँपालिकामा आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको छ ।

व्यासमा आठ, शुक्लागण्डकीमा १२, म्याग्देमा ५, बन्दीपुरमा आठ र देवघाटमा पाँच श्यया क्षमताको आइसोलेसन कक्ष तयार भएको छ । जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका र दमौली अस्पतालको संयुक्त पहलमा किरियापुत्री भवनमा आठ श्ययाको आइसोलेशन कक्ष निर्माण गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
नगरपालिका र स्थानीयवासीको लागत साझेदारी गरी रु ९८ लाखको लागतमा सो भवन बनाइएको हो । आइसोलेसन कक्षका लागि आवश्यक श्यया दमौलीस्थित नीजि अस्पतालले सहयोग गरेका छन् । दाहाल मेडिकल हल र एपोलो अस्पतालले चार÷चार श्यया उपलब्ध गराएका छन् । आइसोलेशनमा दमौली अस्पताल र नीजि स्वास्थ्य संस्थाका चिकित्सकलाई खटाइने दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।

यसैगरी म्याग्दे गाउँपालिकाले जामुने स्वास्थ्यचौकीमा आइसोलेशन कक्ष तयार गरेको छ । कोभिड–१९ का शङ्कास्पद विरामीको उपचारका लागि म्याग्दे गाउँपालिका–३ स्थित जामुने स्वास्थ्य चौकीमा आइसोलेशन कक्ष तयार गरिएको हो । पूर्व तयारी स्वरुप स्वास्थ्यचौकीमा पाँच श्ययाको कक्ष तयार गरिएको म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए । आइसोलेसन कक्षमा कोरोना सङ्क्रमणका शङ्कास्पद विरामीको उपचार गर्ने, खकार र सिगानको नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाउने व्यवस्था मिलाइएको घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार स्वास्थ्यचौकीको माथिल्लो तल्लामा तयार गरिएको आइसोलेशनमा विरामीलाई राखिने र थप उपचार गर्नुपर्ने भए दमौली अस्पतालमा रिफर गरिनेछ ।

देवघाट गाउँपालिकामा पनि आइसोलेशन कक्ष स्थापना गरिएको छ । देवघाटमा रहेको धर्माथ अस्पतालमा पाँच श्ययाको आइसोलेशन स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए । कोरोनाको शङ्कास्पद विरामीलाई तत्कालै गाउँपालिकामा नै राखेर उपचार गर्न सहज् होस भनेर सो कक्ष स्थापना गरिएको सुवेदीले बताए । उनका अनुसार आइसोलेशनमा उपचार गर्ने विरामीको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले बेहोर्नेछ । यस्तै शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा १२ र बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालमा आठ श्ययाको आइसोलेसन तयारी अवस्थामा राखिएको छ ।

म्याग्देका विद्यालयमा क्वारेन्टाइन बनाइने

म्याग्दे गाउँपालिकाले विद्यालय भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको छ । जामुने स्वास्थ्यचौकीमा पाँच श्ययाको आइसोलेसन कक्ष बनाएको गाउँपालिकाले सबै विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ । कोरोनाका शङ्कास्पद व्यक्तिको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले नै बेहोर्ने गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए ।

यसैगरी क्षेत्रीय होटल सङ्घ तनहुँले जिल्लास्थित होटलका कोठालाइ क्वारेन्टाइन बनाउन सहयोग गर्ने जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष विकास खनालले प्रेस विज्ञप्ति जारी गरी होटलका कोठालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width