कार्यपालिका बैठक ५ महिनादेखि अबरुद्ध

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७६
Rainas napaka

लमजुङ ।जिल्लाको कान्छो राइनास नगर कार्यपालिकाको बैठक ५ महिनादेखि अबरुद्ध छ । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबीच मनोमालिन्य कारणले बैठक अवरुद्ध हुँदै आएको हो ।

नगर कार्यपालिकाको २१ सदस्यीय समितिमा १७ जना उपमेयरसहित नेपाली काँग्रेसका प्रतिनिधि छन् । मेयर सहित ३ जना नेकपाका प्रतिनिधि छन् भने प्रमुख प्रशासकीय अधिकृत त्यसको सदस्यसचिव रहने व्यवस्था छ । आफूले नियमानुसार हरेक महिना बैठक बोलाउने गरेकोमा ४ जनाको मात्र उपस्थिति रहने गरेको नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताए । उनका अनुसार यसबाट नगरपालिकाले गर्नुपर्ने हिउँदे अधिवेशनको समेत निर्णय हुन सकेको छैन ।

उपमेयर धनकुमारी गुरुङले प्रमुख प्रशासकीय अधिकृतले आफूहरूको मानमर्दन गर्ने बोली व्यवहार गर्र्दै आएको र एक दिनको कार्यपालिका बैठकमा समेत हामीले भनेको निर्णय लेख्न अस्वीकार गर्दै बैठकबाट निस्केर हिडेको जानकारी दिइन् । उनले भनिन्, ‘तर मेयरले त्यस्तो प्रमुख प्रशासकीय अधिकृतलाई काखी च्याप्ने काम गरेका कारण नगरपालिका अनिर्णयको बन्दी बनेको हो । गाँठो फुकाउने काम मेयरको हातमा छ ।’

यसबारे प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले सम्पर्क गर्दा उनले ‘बैठक अवरुद्ध भयो भन्ने गलत कुरा कस्ले सुनायो’ भन्दै प्रतिप्रश्न गरे । उनले भने, ‘नगरसभाले गरेका निर्णय कार्यान्वयनमा कुनै समस्या छैन । योजनाको सम्झौता गर्ने, सम्पन्न भएका कामको भुक्तानी लिने लगायत दैनिक काम रोकिएको छैन। कसरी नगरपालिका अनिर्णयको बन्दी हुन्छ ।’उनका अनुसार जनप्रतिनिधिले आफ्नो रुचिका योजनामा मनलाग्दी माग गरिएको ५÷७ लाख रुपैयाँ दिन स्रोत नभएको हुँदा स्रोतको पहिचान गरेरमात्र निर्णय गरौं भन्ने अनुरोध गर्दा आफू अर्घेलो भएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width