सयौं आन्तरिक तथा बाह्य पर्यटकको लागि बैशाखी हुन् ‘इन्द्रसिंह शेरचन’

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७६
Indrasingh

सुशीलबाबु थकाली-मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ बिभिन्न धार्मिक तथा पर्यटकीय स्थलका कारण चर्चित छ । यीनै पर्यटकीय स्थलहरुको अध्ययन अवलोकनका लागि वर्षेनी हजारौं पर्यटकहरु मुस्ताङ घुम्न आउने गर्छन् ।

वर्षेनी हजारौंको संख्यामा मुस्ताङ भित्रने आन्तरिक तथा बाह्य पर्यटकहरुकालागि मुस्ताङ यात्रा आफैमा जोखिमपूर्ण रहेको छ । यद्यपी धार्मिक जनविश्वासकै कारण जस्तोसुकै कठिनाइ परेपनि मुस्ताङ घुम्न आउने पर्यटकरुको संख्यामा भने कमी आएको छैन । देश तथा बिदेशबाट मुस्ताङको बिभिन्न स्थानहरुमा आइपुग्न जति कठिनाइ छ । यात्रुहरुमा त्यति नै दृढ आत्मविश्वास पनि छ । देशका बिभिन्न भागहरु छिचोल्दै मुस्ताङसम्म आइपुग्न सुन्दा जती सहज लागेपनि म्याग्दीको बेनीदेखी जोमसोमसम्म आइपुग्न मात्रै ५ देखी ६ घण्टा लाग्ने गर्दछ । करिब ७६ किलोमिटर यात्रा पार गर्न पनि पट्यार लाग्दो रहेको यात्रुहूरुको गुनासो रहेको छ ।

बहुचर्चित बेनी कोरला सडक स्तरोन्नतिको काम शूरु भएको पनि साढेतीन वर्ष पुग्न लागिसकेको छ । तर अप्ठयारो भूगोलकै कारण भनेको समयमा काम सम्पन्न हुन सकेको छैन । बिभिन्न निर्माण कम्पनीले जिम्मा पाएको सडकहरु सोचेको जस्तो पनि हुन सकिरहेको छैन । यसैको फलस्वरुप समयसमयमा भैरहने छिटफुट घटना र बाधाहरु छिचोल्न यात्रुलाई मात्र होइन सम्बन्धित निर्माण कम्पनीलाई समेत हम्मे–हम्मे परिरहेको छ । करिब ७६ किलोमिटर बेनी जोमसोम सडकभित्र आइपर्ने साना देखी ठूला समस्याकै कारण समयसीमाभित्र काम नसकेको निर्माण कम्पनीहरुको जिकिर रहेको छ । कडा चट्टान र नरम माटो बीचको असन्तुलन नै सडक निर्माणको मुख्य बाधा रहेको उनीहरु बताउछन् । तर यति हुँदाहुँदै पनि सडक निर्माण कार्यले तीब्रता पाउनु आफैमा सकारात्मक पक्ष भने हो ।

बि.सं. २०६६ सालमा पूर्ण रुपमा बेनी जोमसोम सडक सुचारु भयो । तर दशक बितिसक्दापनि पर्यटकलाई वर्षेनी सास्ती मात्रै तपिएको छ । यही वास्तविकतालाई आत्मसात गर्दै समाजसेवाको सपना आँखाभरि सजाएर सधैं लागिपरेका व्यक्ति हुन् इन्द्रसिंह शेरचन । आधा रातमा मोबाइलको घण्टी बज्यो र यात्रु मर्कामा प¥यो भने पनि दौडिहाल्ने उनी सबैको भगवान् हुन् । शेरचन आफ्नो पेशा भन्दा पनि समाजसेवालाई माथि राखेर रात दिन खटिरहने व्यक्ति हुन। त्यसैले त उनलाई चिन्ने मान्छेहरु पनि धेरै छन् । स्थाइ घर मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा भए पनि पेशाले उनी पर्यटन व्यवसायी हुन । यतिमात्र होइन उनी होटल व्यवसायमा दख्खल भएको व्यक्ति हुन । दुई दशक भन्दा लामो समय होटल व्यवसायमा व्यतित गरिसकेका शेरचन व्यवसायकै सिलसिलामा आजभन्दा १७ वर्ष अघि बेनी झरेका थिए । करिब १२ वर्ष भन्दा बढी बेनीको कालीपुलमा होटल व्यवसाय सञ्चालन गरेका शेरचन ५ वर्ष अघि मात्र पोखराको लेकसाइडमा आफ्नो जिल्लाको पहिचान रहनेगरी थकाली भान्छा घरको शुरुवात गरे । कारणबस उनलाई आफ्नै गाउँठाउँको माया र मोहले तान्यो । अनि सुरु भयो म्याग्दीको दानामा थकाली भान्छाघर ।

थकाली भान्छालाई देश तथा बिदेशमा चिनाउनुपर्छ भन्ने अभिप्रायले लागिपरेका शेरचन करिब १ वर्ष भन्दा बढी पोखराको लेकसाइडमा पनि होटल व्यवसाय गरे । आफ्नो जिल्ला र गाउँको नाम जोडेर “मुस्ताङ लेते होटल एण्ड थकाली भान्छा घर” खोलेको दुई दशक बितिसक्न लाग्दा उनले कयौं सपनाहरु त्यसै मनभित्र मारेका थिए । भेटघाटको क्रममा उनले आफ्नो दुख भन्न नचाहने तर सधैं समाजसेवा गर्नुपर्छ भन्ने सन्देश दिन्छन। अहिले पनि उही लोगो राखेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दानामा होटल व्यवसाय गर्दै आएका छन् । छोटो अवधीमा आफूलाई स्थापित गर्न सफल शेरचन आफू रातदिन सडकको काममा दौडिरहनुपर्ने भएकोले उनलाई होटलमा भन्दा बढी बाटोमानै देख्न सकिन्छ । यतिमात्र होइन उनी बेनी–जोमसोम सडक खण्ड अन्तर्रगतको मुख्य सुपरभाइजर समेत हुन् । उनी भन्छन– मलाइ समाजसेवा गर्ने वातावरण नै यही पेशा हो । अप्ठ्यारोमा परेका यात्रुहरुलाइ उद्धार गर्न पाउँदा मनमा आनन्दको महशुस हुने उनको धारणा रहेको छ । साढेतीन वर्ष भन्दा बढी सुपरभाइजरको जिम्मा सम्हालेका शेरचन अहिले पनि सडककै काममा व्यस्त छन् । सवारी चालकहरु गाह्रो/अप्ठ्यारोमा पर्दा पहिला शेरचनलाइ नै सम्झिन्छन् । कतै सवारी जाममा परेको छ र गन्तव्यमा चाँडै पुग्नु छ भने पनि शेरचनलाइ सम्झिन्छन् ।
तीनवर्ष अघिको बेनी जोमसोम सडक खण्ड र अहिलेको सडकमा आकाश जमिनको फरक छ । तर पनि समयसमयमा हुने प्राकृतिक प्रकोपसँग जुध्नु शेरचनको लागि नौलो भने होइन । उनले आफ्नै आँखा अगाडिबाट कयौं डरलाग्दा घटनाहरुको सामना गरेका छन् । शेरचनका लागि अहिले विगत र वर्तमान् जे जस्तो भए पनि अब भने ती दिनहरु नदोहोरीउन भन्न चाहन्छन उनले भोगेका कयौं घटनाहरुसँग उनको गतिलो साइनो छ । बि.सं. २०७५ साल भदौ २८ गतेदेखी गत सोमबारसम्मको घटनाक्रमलाई हेर्ने हो भने असी प्रतिशत भन्दा बढी जीवन समाजसेवामा विताइसकेका छन् ।

गत भदौ महिनामा मात्रै उनले २ सय भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नै पिठ्युले बोकेर डरलाग्दा भीरबाट उद्धार गरेका छन् भने कयौं घाइतेलाई तुरुन्तै हेलिकोप्टरबाट उद्धार गर्ने मेलोमेसो मिलाएका छन् । तर जीवनका अनेकन भोगाइलाई समाजसेवासँग मात्र जोड्न नमिल्ने शेरचनको भनाइ रहेको छ, उनी भन्छन्–सबै कुरा समाजसेवा मात्र होइन, मानवतासँग पनि जोडिएको हुन्छ । मैले जीवनमा कति सम्पत्ति कमाए भन्नु ठूलो कुरा नभएको शेरचनले बताए । अझ भनौ हिमालमा हराएका पर्यटकको उद्धार गर्नु उनको लागि ठूलो उपलब्धि हो । उनी भन्छन –“ मैले उद्धार गरिएका धेरै जसो पर्यटक मलाई आशिर्वाद दिएर जान्छन् । हो, त्यहिनै मेरो लागि सबैभन्दा ठूलो सम्पत्ति । ”

गत सोमबार बेनी जोमसोम सडक अन्तरर्गत मुस्ताङको थासाङ गाउँपालिका –४ घैकु भीर काट्ने क्रममा ठूलो घटना घट्यो । करिब ४ दिनसम्मको अवरुद्ध सडक छिचोल्न पर्यटकहरुलाई हम्मे–हम्मे पर्यो । त्यतिबेला पनि शेरचन नै उद्धारको लागि मुख्य पात्र थिए । अप्ठ्यारा भीरमा पर्यटकलाई बोकेर वारपार गर्नु सजिलो काम थिएन । तर उदार हृदय भएका शेरचनले पर्यटकलाई बोकेर उद्धार गर्दा मानिसहरु शेरचनप्रति गौरवान्वित भएका थिए । हो, त्यसैले मुस्ताङको माटोमा जन्मिएका थकाली कुलका एक इमान्दार छोरा आज सबैका लागि प्रेरणाको श्रोत भनेको छ । अझ भनौं, सयौं आन्तरिक तथा बाह्य पर्यटकको लागि बैशाखी हुन् ‘इन्द्रसिंह शेरचन’ । किनकी अरुको दुखमा रमाउन सक्ने एकमात्र महान् व्यक्ति हुन् इन्द्रसिंह शेरचन ।

Related News

सम्बन्धित समाचार

hero news full width