सिक्लेसमा सूचना केन्द्र स्थापना

आदर्श समाज सम्वाददाता
फागुन १९, २०७६
Sikles suchana kendra

कास्कीको सिक्लेसमा हालै उद्घाटन गरिएको सूचना केन्द्र । तस्वीर सौजन्य : गेहेन्द्र गुरुङ ।

रुपनारायण ढकाल : पोखरा, १८ फागुन । कास्कीको उत्तरपूर्वी पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र स्थापना गरिएको छ । गण्डकी प्रदेशका भौतिक पूर्बाधार विकास मन्त्री रामशरण बस्नेतले मादी गाउँपालिका– १ मा स्थापित सिक्लेस सूचना केन्द्रको हालै उद्घाटन गरेका थिए ।

गण्डकी प्रदेश सरकारको १० लाख, मादी गाउँपालिकाको १ लाख र जनश्रमदान गरी करिब १३ लाख रुपैयाँको लागतमा सूचना केन्द्र, प्रतिक्षालय र रिसिङ डाँडा जाने पदमार्ग निर्माण गरिएको स्थानीय शिक्षक एवं समाजसेवी गेहेन्द्र गुरुङले जानकारी दिए । केन्द्रमा सिक्लेसको होमस्टे, होटेल लजको विवरण, सिक्लेस वरिपरिका पर्यटकीय गन्तव्यबारे जानकारी उपलब्ध छन् ।

समुन्द्र सतहबाट २००० मिटर उचाईमा रहेको सिक्लेस गाउँ नेपालका एक सय पर्यटकीय गन्तव्य मध्ये छानिएका गाउँ पनि हो । एक बर्ष अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सय पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको थियो । कार्यक्रममा भनाई राख्दै मन्त्री बस्नेतले पर्यटनका माध्यमबाट सिक्लेस क्षेत्रको समृद्धि संभव भएको बताए । सोही अवसरमा उनले सिक्लेससम्म सडक पिच गर्नका लागि गण्डकी प्रदेश सरकारले नियमित बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाए ।

मन्त्री बस्नेतले सिक्लेस र यस नजिक पर्ने कफुचे हिमताल, क्होला सोंथर, कोरि लगायतको विकासको निम्ति आफू सदैव लागिरहने र त्यसको लागि विस्तृत परियोजना प्रतिवेदन समेत तयार भईसकेको दाबी गरे । मादी गाउँपालिकाका अध्यक्ष बेद बहादुर गुरुङ “श्याम“ ले मादीको समृद्धिको प्रमुख आधार भनेकै पर्यटन र जलविद्युत रहेको बताए । कार्यक्रममा मादी १ का वडाध्यक्ष सुरज कुमार गुरुङले समेत पर्यटन विकासका बारेमा बोलेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यद्वय मनबहादुर गुरुङ र चन्द्र मोहन गौचनको समेत उपस्तिथि रहेको थियो । सिक्लेस होमस्टे ब्यवस्थापन समितिका अध्यक्ष टाईमाया गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बस्नेत लगायतका विशिष्ट अतिथिहरुलाई सिक्लेस होमस्टेको तर्फबाट सिक्लेसमा निर्मित मायाको चिनो प्रदान गरिएको थियो । सिक्लेस आमा समूह र सिक्लेस होमस्टेको तर्फबाट विविध सांस्कृतिक कार्यक्रमको पनि सो अवसरमा प्रस्तुत गरिएको थियो । सिक्लेस होमस्टेका सचीव पदम बहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

कास्कीकै घलेखर्कबाट तारा हिलटप हुँदै सिक्लेस जोड्ने पुरानो मार्ग पर्यटकमाझ लोकप्रिय हुन थालेपछि सिक्लेस गाउँ पर्यटनमा अघि अगाडि बढ्न थालेको हो । सिक्लेसमा एक दर्जन होटल तथा लज र २० घरमा होमस्टे सुविधा उपलब्ध छ । पोखराबाट ४४ किलोमिटर कच्ची बाटो छिचोलेर सुन्दर पर्यटकीय गाउँ सिक्लेस पुग्न सकिन्छ । सितल मौसम, ढुंगाले छाएका घरहरु, ढुंगाकै पुराना सिढी, अर्गानिक खाना, मिठो अतिथि सत्कार र गुरुङ संस्कृति गाउँका विशेषता हुन् । अन्नपूर्ण दोस्रो हिमालको काखमा रहेको सिक्लेसबाट हिमपहिरोको दृष्यावलोकन गर्न र त्यसको आवाज सुन्न सकिन्छ ।

चरा अवलोकन, हरिया डाँडा, भीर माहुरी, तातोपानी कुण्ड र इदी झरना जस्ता सुन्दर आकर्षण पनि सिक्लेस र वरपरका विशेषता हुन् । गाउँमाथिको पार्क, गाउँमै रहेको संग्रहालय र गाउँविचको भ्यूटावर पनि पर्यटक माझ लोकप्रिय छन् । सिक्लेसबाट सात घण्टा पैदल यात्रामा पुगिने पुरानो गोठ संस्कृतिको जिवित नमुना हुगु र त्यहीं नजिकको कफुचे ताल यस क्षेत्रका विशेष आकर्षण हुन् । पोखराको काहुँखोलाबाट जीप वा बसमा चार घण्टाको यात्रापछि चार सय घर भएको यो गाउँ पुग्न सकिन्छ ।

गुचुमुच्च घरले सजिसजाउ यो गाउँमा आमा समूहहरु सरसफाईमा सक्रिय छन् । गुरुङ जातिको उद्गमस्थल मानिएको क्होला सोथर र पवित्र धाम दूधपोखरी पनि सिक्लेसबाट नै जान सकिन्छ । समुन्द्र सतहबाट चार हजार आठ सय ५० मिटर अग्लो नामुन भञ्ज्याङ पार गरेर मनाङको तिमाङ पुग्ने पदयात्रा पनि यही गाउँबाट सुरु गर्न सकिन्छ । गाउँ नजिकबाट पर्यटकीय डाँडो कोरि सम्म केवलकार चलाउने योजना पनि मादी गाउँपालिकाले अगाडि सारेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width