पर्यटकीय गन्तव्य बन्दै छिम्केश्वरी

रासस
फागुन १५, २०७६
Tanahun_Sept23

तनहुँ । आँबुखैरेनी गाउँपालिकामा अवस्थित छिम्केश्वरीमाई मन्दिर पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । समुद्री सतहबाट करिब २ हजार १ सय ३४ मिटर उचाइमा रहेको सो क्षेत्रबाट धवलागिरिदेखि लाङटाङसम्मको हिमशृङ्खलाको मनोरम दृश्यावलोकन, सूर्योदय, सूर्यास्त र महाभारत पहाडहरु सजिलै अवलोकन गर्न सकिन्छ । सो गाउँपालिकामा गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राह्मण, दलित, अति सीमान्तकृत वर्ग चेपाङ र भुजेल जातिको मिश्रित बसोबास रहेको छ ।

छिम्केश्वरी सडक सञ्जालले जोडिएपछि त्यहाँस्थित मन्दिर दर्शन गर्न जाने भक्तजनको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास गरिएको आँबुखैरेनी गाउँपालिका–४ का वडाध्यक्ष पूर्णबहादुर आलेले जानकारी दिए । सो सडकको १६ किलोमिटर खण्ड तीन वर्षमा कालोपत्र सम्पन्न गरी हस्तान्तरण गर्नेुपर्ने सम्झौता गरिएको छ । सडकमा धमाधम ट्र्याक खोल्ने काम भइरहेको उनले जानकारी दिए । पर्वतीय शृंखलाको सबैभन्दा उचाइमा रहेको सो मन्दिरसम्म पुग्न प्रदेश सरकारको ३० करोड रुपैयाँ लागतमा नयाँ ट्र्याक खोल्न शुरु गरिएको हो ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको पुनर्निर्माणका लागि ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उच्च पहाडी क्षेत्र भएकाले यसलाई ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक तथा जडीबुटीलाई पर्यटनसँग जोड्दै मन्दिरको धार्मिक महत्वलाई प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न आवश्यक रहेको उनले बताए ।

आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमी कच्ची सडकमा जीप यात्रा र त्यसपछि करिब डेढ घण्टाको उकालो पैदलयात्रापछि छिम्केश्वरी पुग्न सकिन्छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई र बूढीदेवीमाईको दर्शन तथा जैविक विविधताले भरिपूर्ण छिम्केश्वरीलेक क्षेत्र धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा बहुमूल्य जडीबुटीका कारण महत्वपूर्ण क्षेत्र हो । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । भनिन्छ सातमध्ये ६ वटै देवीको दर्शन गरे तापनि छिम्केश्वरीमाईको दर्शन नगरेसम्म मनोकाङ्क्षा पूरा नहुने जनविश्वास रहिआएको छ ।

यी ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक सम्पदालाई पर्यटनसँग जोड्दै संरक्षण एवं विकास गरी छिम्केश्वरी क्षेत्रलाई एक आकर्षक, सुन्दर एवं सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य रहेको थापाले बताए । पर्यटकीय गतिविधिका माध्यमद्वारा प्रवद्र्धन गर्ने उद्देश्यले फागुन २५ देखि २७ गतेसम्म छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ गर्ने तयारी गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width