कोरोना रोक्न ‘फुर्धोक’ पूजा

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
IMG-27c909560ab5782e25fe73a938471ccb-V (1)

पोखरा । चीनमा फैलिएको कोरोना भाइरसबाट जोगाइदिन कामना गर्दै पोखरा र मुस्ताङका गुम्बाहरुमा ‘फुर्धोक’ पूजा गरिएको छ । लामा गुरुहरुले विशेषपाठ गरेर विधिपूर्वक यो पूजा गरिरहेका छन् । पोखराको हेमजास्थित पेमा टासी शाक्य गुम्बामा गएको शनिबारदेखि निरन्तर पूजा भैरहेको छ । यसअघि अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा आयोजित विश्वशान्ति पूजामा समेत कोरोना भाइरसबाट जोगिन विशेष पाठ गरिएको थियो ।

‘चाइनाबाट आएको रोगलाई नेपालमा नछिरोस् भन्ने कामना छ । यदि छिरिहाले पनि नेपालमा यसले केही असर नगरोस् भन्ने कामना गरेर पूजा गरिएको हो,’ गुम्बाका लामा गुरु टासी वाङ्ग्यल विष्टले भने, ‘शनिबार मुकुट नाचेपछि पूजा सकिन्छ ।’ तिब्बती संस्कारमा फुर्धोक पूजा लगाएपछि कुनै पनि विपत्तिले असर नगर्ने विश्वास छ । तिब्बेतीयन नयाँ वर्ष अवसरमा प्रत्येक वर्ष यो पूजा लगाउने चलन छ । यद्यपि यो वर्ष कोरोना भाइरसबाट बचाउन प्रार्थना गर्दै पूजा लगाइएको हो । महामारीको रुपमा विश्वभर फैलिइरहेको कोरोना भाइरस रोक्न ल्होघेकर दामोदरकुण्ड गाउँपालिका ३, घिलिङ गुम्बा र घरपझोङ गाउँपालिका ४, जोमसोमको चेछेन कुंगा छेक्र्योरलिङ गुम्बामा पनि पूजा गरिएको छ ।

रोग चाँडै निको हुने विश्वास साथ जोमसोममा ३ दिनदेखि एक दर्जन लामाले नियमित कारोजना पूजा गरेको स्थानीय लामाहरुले बताएका छन् । कोरोना भाइरसको कारण चीनमै २ हजार बढीले ज्यान गुमाइसकेका छन् । नेपालको हिमाली क्षेत्रहरु चीनको सीमाना हुन् । त्यसमाथि पनि मुस्ताङ र तिब्बतबीच धार्मिक र सांस्कृतिक रीतिरिवाज समानजस्तै छ । छिमेकीलाई दुःख परेका बेला त्यसको निरुपणका लागि भगवान् बुद्धसँग प्रार्थना गरिएको लामा गुरुहरुले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width