सरकार परिवर्तनको पक्षमा काँग्रेस छैन–उपसभापति निधि

रासस
फागुन ५, २०७६
bimal_1gB47FD0ne

चितवन, ५ फागुन । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले सोमवार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेसको अहिलेको रुचिको विषय सरकार परिवर्तन नरहेको प्रस्ट पारे ।

सरकार परिवर्तनको विषय सत्ता पक्षको आन्तरिक विषय भएको उनको भनाइ थियो । उपसभापति निधिले भनले “हामी सरकार ढाल्नेमा छैनौँ । आफ्नै महाधिवेशनको तयारीमा जुटेका छौँ ।” उनले नेपाली काँग्रेसको चौधौँ महाधिवेशन सार्वजनिक भएको तालिकाअनुसार नै सम्पन्न हुने बताउँदै पार्टीभित्र सैद्धान्तिक विषयमा कुनै मतभेद नरहेको तथा पार्टी विधान र सहमतिअनुसार नै चलेको छ भने ।

काँग्रेस प्रतिपक्षको भूमिकामा नचुकेको दाबी गर्दै उनले सरकारले ल्याएका जनविरोधी कानून जस्ताको तस्तै पारित गर्न काँग्रेसले नै रोकेको उनले बताए । काँग्रेस जिम्मेवार र शालीन प्रतिपक्ष भएकाले आफ्नो भूमिका पनि सोही अनुसारको रहेको उनको भनाइ थियो । उपसभापति निधिले सरकारको दुई वर्ष पूर्णरुपमा असफल भएको आरोप लगाउँदै उक्त अवधिमा महँगी बढेको, शान्तिसुरक्षा कायम हुन नसकेको, विदेश नीति कमजोर बनेको र विकास निर्माण हुन नसकेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width