पोविविमा तालाबन्दी

आदर्श समाज सम्वाददाता
माघ २९, २०७६
pu news

लेखनाथ पोेखारा–३० खुदीमा रहेको पोखरा विश्वविद्यालयमा अध्ययनरत स्वास्थ्य विज्ञान संकायका विद्यार्थीले मङ्गलबार केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।

संकाय अन्र्तगत बि फार्मेसी र बि नर्सिङ अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीले समयमै परीक्षाफल प्रकाशन नहुँदा नेपाल फार्मेसी काउन्सिल र नेपाल नर्सिङ् काउन्सिलको नाम दर्ता परीक्षामा सहभागी हुनबाट बञ्चित हुनुपर्ने अवस्था भएको भन्दै तालाबन्दी गरेका हुन् । विगत चार महिनादेखि विश्वविद्यालयमा उपकुलपति र रजिष्टार नहुँदा परीक्षा गर्न र परीक्षाफल प्रकाशन लगायतका कामहरु प्रभावित हुँदै आएका छन् ।
यस अघि तीन महिनाका लागि उपकुलपतिमा डा. वुुद्विराज जोशी र रजिष्टारमा प्रा. हरिबहादुर खड्का नियुक्त भएपनि हाल दुबै पद रिक्त रहेको छ । परीक्षा समितिको अध्यक्ष रजिष्टार रहने व्यवस्था पोविविको ऐनमा रहेकाले विश्वविद्यालयका विद्यार्थीको परीक्षाफल प्रकाशन अन्योल बनेको हो ।

यसबीच पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त कार्यक्रम समेत प्रभावित हुने भएको छ । विशेष गरेर फागुन महिनामा हुनुपर्ने दीक्षान्त उपकुलपति र रजिष्टार नहुुँदा समयमा नहुने सम्भावना बढेको छ । करीब ३० हजार विद्यार्थी अध्ययन गर्ने पोखरा विश्वविद्यालयसँगै अन्य विश्वविद्यालयमा समेत उपकुलपति र रजिष्टार पद रिक्त रहेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने पदमा भागबन्डा नमिल्नाले अन्योल बढेको हो ।

समयमा नै उपकुलपति नियुक्त नहुँदा पोखरा विश्वविद्यालय डीनको भरमा चलेको छ । पोविवि अन्तर्गत रहेको चार वटा अांगिक क्याम्पस डीनको नेतृत्वमा सञ्चालनमा छ । यसमध्येका स्कूल अफ हेल्य एण्ड साइन्सका डीन खेमराज जोशीको कार्यकाल सकिएको छ भने स्कूल अफ इन्जिनियरिङका डीन वुद्विराज जोशीको कार्यकाल सकिन केही दिन मात्र बाँकी छ । अन्य स्कूल अफ विजनेशका डीन प्रा. हरिबहादुर खड्का र स्कूल अफ हयुमानिटिजका डीन प्रा. डा इन्द प्रसाद तिवारीको कार्यकाल भने करिव एक वर्ष वाँकी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width