सेती खोँचमा खसेका गुरुङको उद्धार

आदर्श समाज सम्वाददाता
माघ २७, २०७६
photo 27

पोखरा, २७ माघ । आकाश गुरुङ आफ्नो कुकुर हराएपछि केही दिनदेखि चिन्तित थिए । उनको कुकुर पोखराको सेती नदी खोंचमा खसेको थियो ।

म्याग्दी घर भइ हाल पोखरा बस्ने २३ वर्षीय आकाश कुकुर खोजीमा खोंच नजिक आँखा डुलाउँदै हिड्न थाले । कतै भेटिन्छ कि भन्ने झिनो आशा थियो ।उनी पोखरा ९, पार्वतीटोल (पोखरा रंगशाला नजिक) सेती नदी किनारमा सोमबार पनि गए ।

हातमा पानीको बोत्तल थियो । कुकुरको आवाज सुन्दै हिड्ने क्रममा दुर्भाग्य उनी आफै एक्कासी खोंचमा खसे । कुकुर खोजीमा आफ्नै जीवनलीला समाप्त भयो भन्ने लाग्यो । नजिकै कोही देखिएनन् । करिब ७० मिटर तल खोंचमा खसेका उनी कसैको उद्धार सहयोगबिना बाहिर निस्कन सम्भव थिएन । बोलायो कसैले नसुन्ने ।भाग्यवश, घटनाको केही समयमै माथि मानिसको आवाज सुने । आफू पनि चिच्चाए । ताकि कसैले उद्धार गरुन् । केही समयमै प्रहरीको रेक्स्यु टोलीले बलियो डोरी फाल्यो । उनी त्यही डोरी समातेर प्रहरी सहयोगमा घटनाको १ घण्टाभित्र मृत्युको मुख नजिकबाट फर्किए ।

आफ्नो सकुशल उद्धारपछि आकाशले भने, ‘जीवन सकियो भन्ने लागेको थियो । पुनर्जीवन पाएको महसुस भयो । सबैलाई धेरै धेरै धन्यवाद छ ।’उनको उद्धारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा स्वास्थ्यजाँचका लागि राखिएको छ । उनी हाल भूपू ग्यारेजमा काम गर्छन् । उनको शरीरको केही भागमा नीलडाम रहेको चिकित्सक बताउँछन् ।आकाश खसेको नजिकै पानीको बोत्तल देखेपछि रंगशाला आएका मानिसले आशंका गरे । कोही खोंचमा खसे कि ? कसैले गुहार गुहार भनेको सुनियो । तत्काल प्रहरीलाई खबर समेत गरियो ।

रेस्क्यु टोलीले आकाशसहित उनको कुकुरको समेत घटनाको एक घण्टामै उद्धार गर्न सफल भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यादव ढकालले जानकारी दिए ।ढकालले भने, ‘समयमै सूचना पाउन सक्यौं । तत्काल उद्धार टोली मुभ भयो । आकाश भाग्यवश नदीमा पानीको सतहभन्दा केही मिटर माथि अड्किएका रहेछन् । जसले गर्दा उद्धारमा सहज भयो ।’

सेती खोंच डरलाग्दो भएकोले सबैजनाले सचेतना अपनाउनु पर्ने उनी बताउँछन् ।सेती खोंचमा यसअघि पनि मानिस खसेका थिए । कसैको सकुशल उद्धार हुन सक्यो भने कोही अझै बेपत्ता छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width