थप चार होमस्टे विच मितेरी

आदर्श समाज सम्वाददाता
माघ २७, २०७६
Tourism news

बर्दियाको मधुवन नगरपालिका स्थित खाता जैविक मार्ग होमस्टे डल्ला पुगेका पोखरेली पाहुनालाई स्वागत गर्दै स्थानीय थारु समुदायका किशोरी । तस्वीर : रुपनारायण ढकाल/आदर्श समाज

रुपनारायण ढकाल : पोखरा, २६ माघ । गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशका होमस्टे विच मितेरी सम्बन्ध गाँस्ने अभियानले थप निरन्तरता पाएको छ । कास्कीको ताङतिङ र बर्दियाको गोविन्दपुर होमस्टे विच मितेरी सम्बन्ध कायम भए लगत्तै यी दुई प्रदेशका अरु चार होमस्टेले पनि मितेरी सम्बन्ध कायम गरेका छन् ।

मितेरी सम्बन्धका माध्यमबाट संस्कृति, सद्भाव र भाइचार अभिवृद्धि गर्दै नेपाल भ्रमण बर्ष २०२० सफल पार्ने उयद्धेश्यले गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपाल गण्डकीको मुख्य पहलमा यस्तो अभियानको थालनी गरिएको हो । तराईका थारु र पहाडका गुरुङ समुदाद्वारा संचालित होमस्टे विच मितेरी गाँस्ने यी कार्यक्रम जाउँ है घुम्नलाई, मितेरी जोडेर सुरु गरौं भ्रमण बर्षलाई भन्ने नाराका साथ सम्पन्न भएका हुन् ।

यसैक्रममा पर्वत जिल्लाको लप्सीबोट सामुदायिक होमस्टे र बर्दिया जिल्लाको सत्खलुवा सामुदायिक होमस्टे विच पनि हालै मितेरी सम्बन्ध कायम भएको छ । सो अवसरमा लप्सिबोट सामुदायिक होमस्टेकी अध्यक्ष विष्णु कुमारी गुरुङ र वडाअध्यक्ष भूल बहादुर पौडेलको उपस्थिति रहेको थियो । बर्दियाको बारबर्दिया नगरपालिका– ९ को सत्खलुवामा आयोजित कार्यक्रममा गुरुङ र पौडेलले सत्खलुवा सामुदायिक होमस्टेका अध्यक्ष सुरेश आचार्यलाई भाङ्ग्रा लगाईदिएका थिए भने आचार्यले थारु पहिरन पहि¥याइदिएका थिए । कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु र उपप्रमुख अञ्जु दहितको पनि उपस्थिति रहेको थियो । सत्खलुवाका १० घरमा अहिले होमस्टे सुविधा छ । थप १० घरमा थप्ने योजना पनि रहेको आचार्यले बताए । यहाँ २०७४ सालमा होमस्टे दर्ता गरिएको हो ।

यसैगरी पर्वतको मोदी गाउँपालिका– १ को भुक देउराली नमुना गाउँ सामुदायिक होमस्टे र बर्दियाको मधुवन नगरपालिका स्थित खाता जैविक मार्ग होमस्टे डल्ला बीच पनि मितेरी सम्बन्ध कायम गरिएको छ । सो अवसरमा भुक देउराली होमस्टेका अध्यक्ष टेकबहादुर गुरुङ र वडाअध्यक्ष भुलप्रसाद पौडेलले डल्ला होमस्टेका परशुराम चौधरीलाई भांग्रा लगाइदिएका थिए । कार्यक्रममा शिव सामुदायिक बन उपभोक्ताका अध्यक्ष मंगल थारुले प्रमुख अतिथिको रुपमा भनाई राखेका थिए । भुक देउराली होमस्टे एक बर्ष अघि देखि औपचारिक रुपमा संचालनमा आएको हो । २०६७ सालमा स्थापित डल्ला होमस्टेले भने नैपालकै उत्कृष्ट घोषणा भई एक लाख रुपैयाँ पुरस्कार पनि पाइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तारागाउँ विकास समितिले तेस्रो होमस्टे (घरवास) राष्ट्रिय कार्यशाला गोष्ठीमा सो होमस्टेलाई उत्कृष्ट घोषणा गरेको थियो । डल्ला गाउँका २२ घरमा होमस्टे सुविधा छ । २०७२ सालमा बेलायती राजकुमार ह्यारीले समेत यो होमस्टेको अवलोकन गरिसकेका छन् ।

पहाड र तराईलाई पर्यटन र संस्कृतिका माध्यमबाट जोड्ने उद्धेश्यले मितेरी सम्बन्धको कार्यक्रम अगाडि बढाइएको भिटोफ नेपाल गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । यस्तो भाइचाराले नेपाल भ्रमण बर्ष २०२० को उद्देश्यलाई पूरा गर्न समेत सघाउने विश्वास उनले व्यक्त गरे । भिटोफ नेपाल गण्डकीका नवनिर्वाचित अध्यक्ष नवराज अधिकारीले नेपाल प्रकृति, संस्कृति र साहासिक पर्यटनको हिसावले निकै महत्वपूर्ण गन्तव्य रहेको स्मरण गराउँदै संस्कृतिको पाटोलाई बढी जोड दिएर मितेरी साइनोको कार्यक्रम अगाडि बढाइएको बताए ।

सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई गाउँ पर्यटनका माध्यमबाट साकारा पार्न सकिने भनाई उनको थियो । टान पश्चिमाञ्चल संघ पोखराका प्रथम उपाध्यक्ष सुशीलराज पौडेलले ग्रामीण पर्यटनको विकास र प्रबद्र्धनका लागि टानले समेत विभिन्न संघसंस्थासँग सहकार्य गर्दै अगाडि बढिरहेको स्मरण गराए । नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को प्रबद्र्धन, बर्दिया पोखरा सम्पर्क समाज र टी ट्वान्टी ट्राभलको समन्वय तथा ठाकुर बाबा, मधुबन र बासगढी नगरपालिकाको सहकार्यमा मितेरी सम्बन्धको कार्यक्रम अयोजना गरिएका हुन् । पोखराबाट बर्दियाको ठाकुरद्वारा सम्म टी ट्वाण्टी ट्रावलले वस सेवा समेत आरम्भ गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width