गण्डकीमा भ्रष्टाचार हुन दिन्नँ- मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
माघ २६, २०७६
prithvi

ऋषिराम बराल-पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘अख्तियार, सतर्कता केन्द्र र अदालत भएपनि देशमा भ्रष्टाचार त रोकिँदो रहेनछ नि !’ उनले भने, ‘ जनताको मत प्राप्त गरेका व्यक्तिले करोडौं–करोड भ्रष्टाचार गरेका छन् ।’

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको पोखरा–११, फूलबारीमा निर्माण गर्न लागेको दिव्यशान्ति अनुभूति केन्द्र शनिवार शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् । उनले भने, ‘राजनीतिक आडमा हुने भ्रष्टाचार रोक्न जरुरी छ । बालुवाटारको ललिता निवासको जग्गा समेत दर्ता गर्नेहरुले कसरी जनताको सेवा गर्छन् ? ललिता निवासजस्ता काण्ड अन्य धेरै छन् ती खोज्न जरुरी छ । सार्वजनिक जग्गा दर्ता गर्ने अपराधीलाई कडाभन्दा कडा कारबाही हुनु पर्छ ।’

‘खालीखुट्टा हिड्नेहरु जनताको भोटले चुनाव जितेर मन्त्री बन्ने अनि करोडौ करोडाका बंगला र गाडी कहाँबाट आउँछ, गण्डकी प्रदेशका कुनै पनि मन्त्री र कर्मचारीलाई भ्रष्टाचार गर्न दिन्नँ । यदि कसैले गरेको प्रमाणित भएमा कडा कारबाही गर्छु,’ उनले भने, ‘राजनीति भनेको जनताको सेवा हो, अकूत सम्पत्ति कमाउने ठाउँ हैन । सम्पत्ति कमाउने हो भने व्यापार गर्नुहोस् ।’ गण्डकी प्रदेशलाई सुन्दर, शान्त, समृद्ध, विभेदको अन्त्य र भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा आफू लागिपरेको मुख्यमन्त्री गुरुङले बताए ।

‘गण्डकीमा अझै साढे १४ प्रतिशत गरिबीको रेखामुनि छन्, उनीहरुको जीवनस्तर उकास्ने र उनीरुको वार्षिक आय वृद्धि गर्ने काम पनि प्रदेश सरकारको हो, भ्रष्टाचारमुक्त समाज नै सभ्य समाज बन्न सक्छ,’ उनले भने । पैसा देखेपछि महादेवका पनि तीन नेत्र भनेजस्तै समाजका हरेक व्यक्ति पैसाका पछि लाग्छन् जसका कारण हत्या हिंसा, चोरी, ठगी र लुटपाट बढेको छ । हत्याहिंसा र दुराचार भावना हटाउन आध्यात्मिक ज्ञान आवश्यक पर्छ,’ उनले भने, ‘ ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले आध्यात्मिक ज्ञान समाजमा फैलाएको छ । अमेरिका संसारकै शक्तिशाली राष्ट्र छ तर त्यहाँ आध्यात्मिक ज्ञान, माया, प्रेमको भावना नहुँदा जनता भयको वातावरणमा बाच्न बाध्य छन् ।’

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले देशमा शान्ति स्थापना निम्ति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको भूमिका ठूलो रहेको बताए । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय माउण्ट आबु भारतकी बालब्रम्हाचारीणी राजयोगिनी शिलुले मानिसको मन सुन्दर र शक्तिशाली बनाउन मनमा शान्ति र सकारात्मक सोच आवश्यक हुने बताइन् । सो अवसरमा राजयोगिनी कमला, राजयोगिनी दुर्गा, गण्डकी प्रदेशसभा सदस्य दीपक कोइराला, विन्दुकुमार थापा, राजीव पहारी, मीना गुरुङ लगायतले बोलेका थिए । साढे ३ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको पोखरा पिस रिट्रिक सेन्टरअन्तर्गत दिब्यशान्ति अनभूति केन्द्र २१ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो । सो भवन २ वर्षभित्र निर्माण गर्ने लक्ष्य छ । ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय पोखराकी राजयोगिनी परिणिताको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो

Related News

सम्बन्धित समाचार

hero news full width