गायिका बाबा राणा सम्मानित

आदर्श समाज सम्वाददाता
माघ २६, २०७६
baba

पोखरा ।कल्याण शेरचन स्मृति प्रतिष्ठानले गायिका बाबा राणालाई सम्मान गरेको छ ।लोकस्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको नवौं स्मृति दिवस समारोहमा उनलाई सम्मान गरिएको हो ।

प्रमुख अतिथि वरिष्ठ संस्कृतिकर्मी, प्रतिष्ठानका संरक्षक चेतन कार्की, प्रतिष्ठानका प्रमुख संरक्षक कल्याण शेरचनकी धर्मपत्नी शर्मिला शेरचन र प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मोले २५ हजार १ रुपैयाँ र सम्मानपत्र प्रदान गरे ।स्वर्गीय शेरचनको मुख्य विधाहरु लोकगीत संगीत, शिक्षा र खेलकुद क्षेत्रका व्यक्तित्वहरुलाई पालैपालो विधागत रुपमा स्मृति दिवसमा सम्मान गर्ने क्रममा नवौं स्मृति दिवसमा लोक गीत संगीततर्फबाट गायिका राणालाई सम्मान गरिएको जनाइएको छ ।

कार्यक्रममा स्रष्टा छनौट समितिका संयोजक तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले स्रष्टा राणाको जीवनीबारे चर्चा गर्दै उनले साईको घर कहाँ हो कहाँ, बिर्सी जाने निष्ठुरीलाई, हे आमा जन्मायौ किन, करोडौं मुटुहरुको.. जस्ता कालजयी गीतका साथै करिब १ सय ५० भन्दा बढी गीत रेकर्ड गरिसकेको बताए। राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत, राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा स्वर्ण पदक विजेता समेत रहेकी राणा “गाँउदा गाउदै यहाँसम्म” गीति संगालोका रचनाकार समेत हुन् । सो पुस्तक प्रमुख अतिथि कार्कीले विमोचन गरेका थिए।

प्रमुख अतिथि कार्कीले स्रष्टा सम्मानले स्वर्गीय शेरचनको वार्षिक स्मरण र सम्मानित स्रष्टाको मूल्यांकन हुने गरेको बताए। लोकसंस्कृति नै नेपाली राष्ट्रिय पहिचान भएकाले मौलिकता संरक्षण आजको आवाश्यकता भएको उनको भनाइ थियो। सम्मानित राणाले कुनै पनि विधामा निरन्तर साधना गरिरहे राम्रो गर्न सकिने बताइन् । उनले आफ्नो गायिकीको उच्च सम्मान गरेकोमा प्रतिष्ठानप्रति आभार व्यक्त गरिन् ।कार्यक्रममा वरिष्ठ लोकगायक नारायण रायमाझीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतिष्ठान अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापा र संचालन सचिव जीवन दाहालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width