टाउको ठोक्याएर होमस्टेबीच मितेरी

आदर्श समाज सम्वाददाता
माघ २५, २०७६
ggg

रुपनारायण ढकाल -बर्दिया।सम्बन्धित वडाका वडाध्यक्षले टाउको ठोक्याएर कास्कीको ताङतिङ र बर्दियाको गोविन्दपुर होमस्टेबीच शुक्रबार मितेरी सम्बन्ध जोडिएको छ ।कास्कीको मादी गाउँपालिका २ स्थित ताङतिङ सामुदायिक होमस्टे र बर्दियाको ठाकुरबाबा नगरपालिका ५ बीच नाता कायम गर्न वडाध्यक्ष क्रमशः एकजंग गुरुङ र गंगाराम जैसीले आपसमा टाउको टोक्काए ।

मीतमितिनी साइनो जोड्दा टाउको ठोक्याउने नेपाली परम्परा हो । वडाध्यक्ष गुरुङलाई गोविन्दपुरका थारु समुदायले सर्ट र धोती पहिर्याए भने ताङतिङका होमस्टे संचालकहरुले वडाध्यक्ष जैसीलाई भाङ्ग्रा भिराए ।

ताङतिङ सामुदायिक होमस्टे अध्यक्ष पसमाया गुरुङ र गोविन्दपुर सामुदायिक होमस्टेका अध्यक्ष वीरबहादुर कुस्मा थारुले मितेरी साइनोको सम्झौतापत्र आदानप्रदान गरे । ताङतिङले गोविन्दपुरलाई वैशाख १ देखि १० गतेसम्म आयोजना हुने ताङतिङ करपु महोत्सवको निम्ता पनि दियो ।कार्यक्रममा ताङतिङतर्फबाट गुरुङ भाषाको स्वागत गीतमा नाच देखाइएको थियो भने गोविन्दपुरतर्फबाट थारु भाषामा सोही समुदायको नाच पस्किएको थियो ।२०७५ सालदेखि होमस्टे शुरु भएको गोविन्दपुरका १२ घरमा होमस्टे सुविधा रहेको होमस्टे अध्यक्ष कुस्माले जानकारी दिए । होमस्टेको १ हजार रुपैयाँको प्याकेज यहाँ बनाइएको छ । यहाँका १ सय ७ घरमा ५ सय जति जनसंख्या छ । बाक्लो गुरुङ गाउँका रुपमा परिचित ताङतिङमा भने १४ घरमा होमस्टे सुविधा उपलब्ध छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), नेपाल, गण्डकीका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक तारानाथ पहारीले मितेरी सम्बन्धले गण्डकी प्रदेशको पहाड र प्रदेश ५ को समथर भागबीच नाता जोडेको बताए । गुरुङ र थारु समुदायबीच नाता जोड्दै जातीय सद्भाव बढाउन समेत कार्यक्रम सहयोगी भएको उनले सुनाए । कार्यक्रम आयोजना गर्न सम्बन्धित वडाबाट समेत आर्थिक सहयोग भएको जानकारी दिँदै भिटोफले गाउँ पर्यटनलाई जोड दिन विगतदेखि होमस्टे मार्ट समेत गर्दै आएको स्मरण गराए ।

भिटोफ गण्डकी अध्यक्ष नवराज अधिकारीले मितेरी सम्बन्धमार्फत् आत्मियता र भाइचारा बढाउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिए । नेचर, कल्चर र एड्भेञ्चर हिसाबले नेपाल धनी रहेको पनि उनले स्मरण गराए ।सो अवसरमा बर्दिया २ का संघीय सांसद सन्तकुमार थारु, ठाकुरबाबाका उपप्रमुख श्रीमती कृष्ण कुस्मी थारु, प्रदेश सभासद लौटी थारु, होमस्टेका सचिव जीवन कुस्मा, पर्यापर्यटनका कृष्णप्रसाद भट्टराई लगायतले सो अवसरमा भनाइ राखेका थिए ।पूर्व पश्चिम राजमार्गको हुरीगाउँबाट गोविन्दपुर होमस्टे पुग्न सकिन्छ भने कास्कीको पोखराको काहुँखोलाबाट ताङतिङ पुग्न सकिन्छ ।
यसैगरी, शुक्रबार नै पर्वतको मोदी गाउँपालिकाको भुक देउराली नमुना गाउँ सामुदायिक होमस्टे र बर्दियाको मधुवन नगरपालिकास्थित खाता जैविक मार्ग होमस्टे अर्थात् डल्ला होमस्टेबीच पनि यस्तो साइनो गाँसिएको थियो । २०६७ बाट डल्ला होमस्टे शुरु भएको हो ।

जाऔं है घुम्नलाई, मितेरी जोडेर शुरु गरौं भ्रमण वर्ष भनाइका साथ मितेरी साइनो गास्ने कार्यक्रम सम्पन्न भएका हुन् । टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका प्रथम उपध्यक्ष सुशील पौडेलले संस्कृतिको आदानप्रदान र भाइचार बढाउन मितेरी सम्बन्धको कार्यक्रमले सघाउने विश्वास ब्यक्त गरे । ठाकुरद्वारा नजिकको डल्ला होमस्टेमा बेलायती राजकुमार ह्यारीले भ्रमण समेत गरेको भिटोफ गण्डकी अध्यक्ष अधिकारीले स्मरण गराए ।नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को प्रवद्र्धन, बर्दिया–पोखरा सम्पर्क समाज र टी ट्वान्टी ट्राभलको समन्वय तथा ठाकुरबाबा, मधुवन र बासगढी नगरपालिकाको सहकार्यमा मितेरी सम्बन्धको कार्यक्रम सम्पन्न भएका थिए । पोखराबाट बर्दियाको ठाकुरद्वारासम्म टी–ट्वाण्टी ट्रावलले बस सेवा समेत शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width