पर्यटन प्रबर्द्धन गर्न होमस्टेविच मितेरी

आदर्श समाज सम्वाददाता
माघ २३, २०७६
20200206_074604

रुपनारायण ढकाल : पोखरा, २३ माघ । पहाड र तराईका चार गाउँहरुलाई मितेरी साइनो मार्फत् जोड्दै पर्यटन प्रबर्द्धन गर्ने नयाँ आईडिया गाउँ पर्यटन परबर्द्धन मन्च-भिटोफ-नेपाल गण्डकीले अगाडि सारेको छ ।

कास्कीको पर्यटकीय गाउँ ताङतिङ सामुदायिक होमस्टे र बर्दियाको गोविन्दपुर सामुदायिक होमस्टेबीच यस्तो साइनो शुक्रबार गाँसिने छ । यसैगरी पर्वतको भुक देउराली नमुना गाउँ सामुदायिक होमस्टे र बर्दियाको खाता जैविक मार्ग होमस्टेविच पनि यस्तो साइनो गाँसिदै छ ।

यही उद्देश्यलाई साकार रुप दिन प्रस्थान गर्नु अघि भिटोफ गण्डकी, ताङतिङ र भुकको होमस्टे टोली तथा संचारकर्मीको समुहलाई गण्डकी प्रदेशका उद्धोग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बिहीबार पोखराको ड्यामसाइडबाट विदाई गरेका थिए । सो अवसरमा बोल्दै उनले मितेरी साइनो मार्फत् पर्यटन प्रबर्द्धन गर्ने योजनाले आन्तरिक पर्यटनमा उर्जा थप्ने भनाई राखे । प्रदेश सरकारले समेत होमस्टे पर्यटनलाई विशेष जोड दिंदै आएको स्मरण गराउँदै पर्यटन मार्फत् समृद्धी संभव छ भने ।

जाऔं है घुम्नलाई, मितेरी जोडेर सुरु गरौं भ्रमण वर्षलाई भन्ने भनाईका साथ आयोजना हुन लागेको साइनो गाँस्ने कार्यक्रमले हिमाल र पहाडको संस्कृती आदानप्रदान र एकअर्को ठाउँ घुम्न उत्प्रेरणा जगाउन समेत टेवा पुग्ने विश्वास ग्रामीण पर्यटनका जानकारहरुले विश्वास लिएका छन् ।

भिटोफ गण्डकीका संस्थापक अध्यक्ष एबं कार्यक्रम संयोजक तारानाथ पहारीले आफ्नो संस्थाले विगत लामो समय देखि ग्रामीण पर्यटनको विकास र प्रबर्द्धनमा महत्वपूर्ण योगदान रहेको स्मरण गराँदै मितेरी साइनो गाँस्ने कार्यक्रम पनि सोही अभियानको एक निरन्तरता भएको बताए । खाना र संस्कृतिको आदान प्रदान तथा फरक भूगोलको अनुभव लिन समेत मितेरी सम्बन्धले ढोका खोल्ने पहारीले बताए ।

भिटोफ गण्डकीका नवनिर्वाचित अध्यक्ष नवराज अधिकारीले मितेरी सम्बन्ध गाँस्ने कार्यक्रमले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने अभियानमा सघाउ पुग्ने विश्वास ब्यक्त गरे । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

गण्डकी प्रदेशका धेरै गाउँहरुमा होमस्टे पर्यटनको विकास र प्रबर्द्धनमा सकृयता प्रदर्शन गर्दै आएको टान पश्चिमान्चल संघका उपाध्यक्ष सुशिलराज पौडेलले मितेरी सम्बन्धको अवधारणाले आन्तरिक पर्यटनमा सघाउ पुग्ने बताए । ग्रामीण पर्यटन, पदयात्रा र होमस्टेविच अनोन्याश्रीत सम्बन्ध रहेको पनि टोलिमा सहभागी पौडेलले बताए ।

नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को प्रबर्द्धन, बर्दिया पोखरा सम्पर्क समाज र टी ट्वान्टी ट्राभलको समन्वय तथा ठाकुर बाबा, मधुबन र बासगढी नगरपालिकाको सहकार्यमा मितेरी सम्बन्धको कार्यक्रम हुन लागेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width