नौमतीबाजा संरक्षण गर्दै गाउँपालिका

आदर्श समाज सम्वाददाता
माघ २०, २०७६
Untitled 24017

साधन राम्जाली -म्याग्दी ,१९ माघ । पछिल्लो समय नयाँ प्रविधि आविस्कारसंगै लोप हुँदै गएको नौमती बाजा संरक्षणमा यहाँको एक गाउँपालिका जुटेको छ ।

जिल्लाको धवलागिरि गाउँपालिकाले नौमती बाजा केन्द्रको भवन निर्माण गरी संरक्षणमा जुटेको हो । पुराना बाद्यवादन सामाग्री,मौलिक कला,संस्कृतिको संरक्षण गर्न नौमती बाजा केन्द्रको भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

पछिल्लो समय डिजिटल प्रविधिका कारण लोप हुँदै गएको परम्परागत बाद्यवादन,मौलिक नौमती बाजा संरक्षण र परम्परागत रुपमा नौमती बाजालाई मुख्य आयोस्रोत बनाउँदै आएका दलित समुदायको पेशालाई प्रवद्र्धन गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । गाउँपालिका–७ हिलापोखरीमा सो नौमतीबाजा केन्द्रको भवन निर्माण गरी स्थापना गरिएको छ ।

हिलापोखरी नौमती बाजा समुह जिल्लामा प्रसिद्ध छ । विवाह ,ब्रतबन्ध ,छेवार पास्नी लगायत हरेक सामाजिक कार्यमा नौमती बाजा समूहको उपस्थिति देख्न सकिन्छ । गाउँपालिकाको आर्थिक र स्थानीयको श्रम तथा नगद सहयोगमा सभाहल सहितको एक कोठे भवन निर्माण गरिएको छ । भवन निर्माणमा छ लाख ५३ हजार ३१२ रुपैयाँ लगानी भएको केन्द्रका कोषाध्यक्ष मनदेवी दमाईले बताइन् । गाउँपालिकाले ३ लाख ८४ हजार रुपैयाँ सहयोग गरेको थियो । स्थानीयबासीले ७६ हजार २ सय र दाताहरुबाट १ लाख पचास हजार रुपैयाँ चन्दा जुटाउनुका साथै ४३ हजार ११२ रुपैयाँ बराबरको श्रमदान गरेका छन् । दलित बाहुल्यता रहेको सो हिलापोखरी बासीले नौमती बाजालाई पेशाको रुपमा अंगाल्दै आएका छन् ।

भवन निर्माणका लागि केन्द्रका अध्यक्ष कुलप्रसाद दमाईले ३ लाख रुपैयाँ पर्ने जग्गा ५० हजार रुपैयाँमा उपलब्ध गराएका थिए । भवनमा बाजा भण्डारण र संग्रह गरिने केन्द्रको योजना छ । केन्द्रमा ३६ घरधुरी आवद्ध छन् । केन्द्रको भवन निर्माणसंगै नौमती बाजाको संरक्षण र प्रवद्धनमा सहयोग पुग्ने स्थानीयको विश्वास छ । ‘नौमती बाजा परम्परागत मौलिक कला ,संस्कृति मात्र नभई बाउबाजेदेखी अंगाल्दै आएको हाम्रो मुख्य पेशा पनि हो । तर, पछिल्लो समय नयाँ प्रविधिका कारण परम्परागत नौमती बाजा र हाम्रो पेशा भने संकटमा छ,’अध्यक्ष दमाइले भने’ ‘नौमती बाजा केन्द्र स्थापनाले मौलिक कला संस्कृति संरक्षण तथा प्रवद्र्धन राहत पुग्ने विश्वास लिएको छु ।’

पुराना बाजाहरु संग्रह गरेर राख्ने तयारी भएको छ । तालिम, बैठक, भेला सञ्चालन गर्न पनि भवन भएपछि सजिलो हुने बताइएको छ । वडा अध्यक्ष कलानिधि शर्माले भवन निर्माण संगै पुराना बाजा संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।नवनिर्मित हिलापोखरी नौमती बाजा केन्द्रको भवन उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल ।

Related News

सम्बन्धित समाचार

hero news full width