प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानमा नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
माघ २०, २०७६
surya mani

पोखरा । पोखरामा प्रधान कार्यालय रहेको प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानको प्रथम अधिवेशन एवम् साधारणसभा सम्पन्न भएको छ ।

चितवनमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले ‘प्रतिष्ठान राजनीति, धर्र्म र साम्प्रदायिक स्वार्थभन्दा माथि उठेर प्राज्ञिक कर्ममा लाग्न आग्रह गरे ।’ उनले प्राडा सूर्यमणि चितवनका मात्रै नभएर देशकै ख्यातिप्राप्त व्यक्तित्व भएको जनाए । प्रतिष्ठानका सल्लाहकार प्राडा दिलबहादुर क्षेत्रीले अधिकारीको ‘खस राज्यको इतिहास’ कृत्रिले अन्यमा राखेको खस जातिलाई मूलप्रवाहमा ल्याएको बताए । क्षेत्रीले कसैको पहिचान खोसेर अर्कैलाई पहिचानको टोपी लगाइदिने संस्कारको आलोचना गरे ।

कार्यक्रममा त्रिविका पूर्व रजिष्टार प्राडा भीमराज अधिकारी, केदारनाथ खनाल, रामबाबु घिमिरे, जगदीश्वर खनाल, टेकनारायण भुसाल र गोविन्द सापकोटाले शुभकामना मन्तव्य राखेको थिए । प्रतिष्ठानका कोषाध्यक्ष डा. बाबुराम अधिकारी र सचिव महेशप्रसाद अधिकारीले प्रस्तुत गरेको आर्थिक र प्रगति प्रतिवेदन साधारण सभाले पास गरेको छ । अधिवेशनले प्रतिष्ठान अध्यक्षमा इन्दिरा अधिकारी कोइरालालाई पुनः चयन गरेको छ । उपाध्यक्षमा प्राडा देवीप्रसाद कँडेल, सचिव सहप्राध्यापक महेश अधिकारी र कोषाध्यक्ष डा बाबुराम अधिकारी छन् । सदस्यमा डा ईश्वरीराज लौडारी, उपप्राध्यापक वेदनिधि अर्याल, सुरेश रानाभाट, शंकर खराल र डा उत्सव अधिकारी चयन भए । संरक्षकमा कपिलनाथ कोइराला छन् ।

यसैबीच, प्रतिष्ठानको चितवन शाखामा डा ईश्वरीराज लौडारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा दिलबहादुर बोगटी, सचिव, राजेन्द्र पौडेल, कोषाध्यक्ष प्रभा अधिकारी अर्याल, सदस्यमा रामबाबु घिमिरे, मणिराम शर्मा, चन्द्रकान्त पौडेल, प्रमोद सेढाई, गाविन्द अधिकारी र सुरेन्द्र धिताल छन् । सल्लाहकार समितिमा केदारनाथ खनाल, रमेशबाबु ढकाल, चण्डिकाप्रसाद अधिकारी, टेकनारायण भुसाल र तिलकराज पौडेल छन् ।

त्रिविमा ३० वर्ष प्राध्यापन गरेका स्व. अधिकारीका इतिहास, दर्शन, साहित्य, भाषाविज्ञान र राजनीतिक विषयका १८ वटा पुस्तक प्रकाशन छन् भने १ सय २० भन्दा बढी अनुसन्धानमुलक लेख विभिन्न जर्नलहरूमा छापिएका छन् । प्रतिष्ठानले उनको नाममा स्थापित पुरस्कारबाट नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्राज्ञ जगमान गुरुङलाई यसै वर्ष ५० हजार राशी र ताम्रपत्रले सम्मान गरिसकेको छ । २००५ सालमा तनहुँको मिर्लुङ बाहुनपोखरामा जन्मिएका अधिकारी पोखरा महानगरपालिकाको पहिलो पक्की घर बनाउने प्राविधिक र चितवनमै पहिलो विद्यावारिधि गर्ने व्यक्ति हुन् । उनका तीन छोराबुहारी अमेरिकामा रहे पनि छोरी इन्दिरा कोइरालाले आफ्ना पिताका नाममा प्रतिष्ठान स्थापना गरेर उनका योगदान चिरस्थायी बनाउने प्रयासमा छिन् ।
..

Related News

सम्बन्धित समाचार

hero news full width