मेजर वीर सिं को सम्झना

आदर्श समाज सम्वाददाता
माघ १०, २०७६
llllll

पोखरा । क्षेत्रीय अस्पताल र अमर सिंह मा.वि. पोखरा लगायतका संस्थापक समाजसेवी मेजर वीर सिं गुरुङको ४९ औँ वार्षिक पुण्यतिथिमा पोखरामा बिहीबार श्रद्धाञ्जली सभाको आयोजना गरियो ।
त्यस अवसरमा क्षेत्रीय अस्पताल पोखराको प्राङ्गणमा रहेको प्रतिमामा फूलमाला अर्पण गरी उनको योगदानको स्मरण गरिएको थियो ।

सभामा पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले मेजर वीर सिंको योगदानको सम्मानमा स्वास्थ्य सेवालाई विस्तार गर्नुपर्ने बताए । कार्यक्रमको अध्यक्षको आशनबाट मेजर वीर सिं स्मृति प्रतिष्ठानको अध्यक्ष प्रा.डा. कृष्ण के.सी.ले निश्वार्थ सेवा गर्ने व्यक्तिको निधनको ५० औँ वर्षसम्म पनि उत्तिकै सम्मान हुन्छ भन्ने नमूना मेजर वीर सिं रहेको बताए ।क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्य र अमर सिंह मा.वि.का प्रधानाध्यापक तेजस्वी बरालले स्व. मेजरको योगदानको स्मरण गर्दै श्रद्धासुमन अर्पण गरेका थिए ।

कार्यक्रमको सञ्चालन मेजर वीर सिं प्रतिष्ठानका सचिव सुवेदार इन्द्रबहादुर गुरुङले गरेका थिए । भारतीय सेनाका भू.पू. मेजर वीर सिं गुरुङले प्रथम तथा द्वितीय विश्वयुद्धमा हराएका वीर गोर्खालीहरुको रहलपहल रकम संकलन गरी स्थापना गरिएको युद्ध पश्चात पुनः निर्माण कोषबाट २०१३ सालमा सोल्जर्स बोर्ड अस्पताल हालको क्षेत्रीय अस्पताल, पोखराको स्थापना गरेका थिए । यसैगरी उनले अमरसिंह मा.वि. पोखरा, कालिका मा.वि., काहुँ, महारुद्र निमावी, सिल्दुजुरे, अन्नपूर्ण मा.वि., पार्चे लगायतका विद्यालयहरुको स्थापना गरेका थिए । हालको पोखरा–११, काहुँ डाडाँको घोथाने परिवारमा वि.सं.१९५९ वैशाख १८ गते जन्मिएका मेजर वीर सिं गुरुङको २०२८ माघ ९ गते ७० वर्षको उमेरमा निधन भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width