१८ राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशमा मतदान शुचारु

एजेन्सी
माघ ९, २०७६
rastriya sabha (3)

पोखरा, ९ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत विहीवार सातै प्रदेशमा मतदान जारी रहेको छ। कूल सदस्य मध्ये १८ पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो। मतदान दिउँसो ४ बजेसम्म जारी रहने छ ।

प्रदेश १ का लागि विराटनगरको वीरेन्द्र सभागृह, २ का लागि जनकपुरको महेन्द्र नारायण स्मृति भवन, बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन, गण्डकी प्रदेशका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशकालागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविलाई मतदान केन्द्र तोकिएको छ।

प्रदेशगत रूपमा सम्बन्धित प्रदेशको प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतबाट राष्ट्रिय सभा सदस्य चुनिने छन् । मतदान सकिएको दुई घण्टाभित्रै परिणम आउने निर्वाचन आयोगले जनाएको छ।५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले विहीवार १८ सिटका लागि चुनाव हुने र एक जना भने राष्ट्रपतिबाट मनोनित हुनेछन्।

बागमती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन्।यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन–तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ। प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन्।

Related News

सम्बन्धित समाचार

hero news full width