मापदण्डविपरीतका क्रसर उद्योग बन्द

आदर्श समाज सम्वाददाता
माघ ७, २०७६
crossor

लमजुङ । बेसीशहर–१, फलिया साँघुमा सञ्चालन गरिएका त्रिवेणी रोडा ढुंगा एण्ड बल्क उद्योग र सोही वडाको आकाशेभीरसँगै सञ्चालित लमजुङ क्रसर एण्ड कन्ट्रक्सन बन्द गरिएका छन् । मापदण्डविपरीत सञ्चालन गरिएको तथा केही वर्षदेखि नवीकरण समेत नगरेका पाइएपछि बेसीशहर नगरपालिकाले ती क्रसर उद्योग बन्द गरेको हो ।

कार्यालयले गत मंसिर अन्तिम साता क्रसर उद्योग बन्द गर्न पत्र पठाएकोमा सञ्चालक लागि नगरपालिकाले कार्यपालिकाको बैठक राखेर चालु आवको आउँदो असार मसान्तसम्म सञ्चालनको अनुमति दिएपछि मापदण्ड र नवीकरणबिनाका उद्योग सञ्चालनका लागि स्थानीय तहले अनुमति दिएकोबारे सञ्चारमाध्यममा समाचार आएपछि नगरपालिकाले प्रहरीमार्फत पत्र पठाई दुवै उद्योग बन्द गराएको हो ।

कार्यालयका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले ती उद्योग घरेलु तथा साना उद्योग विकास समितिका दर्ता गरिए पनि पछिल्ला वर्षमा नवीकरण नै नगरी सञ्चालन गरेको पाइएको बताए । उद्योग सञ्चालक क्रमशः दीपेश श्रेष्ठ र निर्मलजंग घले हुन् । श्रेष्ठ सञ्चालक रहेको त्रिवेणी २०६२ असार ३ मा दर्ता गरी २०७३ सालसम्म नवीकरण गरेकोमा पछि नवीकरण नगराएको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो उद्योगको सञ्चालन पुँजी ३२ लाख २४ हजार रुपैयाँ छ ।

त्यस्तै, निर्मलजंग सञ्चालक रहेको लमजुङ क्रसर एण्ड कन्ट्रक्सन २०६८ साल फागुन २१ मा दर्ता भएकोमा हालसम्म नवीकरण गरेको छैन । उद्योगको सञ्चालन पुँजी १ करोड ९२ लाख रुपैयाँ छ । नगरपालिकाका मेयर गुमानसिंह अर्यालले राष्ट्रिय इस्यु बनाउन थालिएपछि पत्र पठाएर बन्द गराएको जानकारी दिए । उनले भने, ‘पुरानो ऐन आडमा गरिएको काम जनहित अनुकूल छैन । हामीले त स्थानीय र विकासलाई ध्यानमा राखेर सञ्चालन अनुमति दिएका थियौं । अब बन्दै गरेका घरको लगत दोब्बर हुन्छ, विकासका काम पनि आधा रोकिन्छन् ।’

लमजुङ क्रसर एण्ड कन्ट्रक्सन उद्योग सञ्चालक निर्मलजंग घलेले ‘बन्द गर’ भनेपछि बन्द गरेको बताए । गृहमन्त्रालय र अख्तियारले मुलुकभरलाई हेर्नुपर्छ कि हाम्रोजस्तो सानो जिल्लाको सानो काममात्र देख्ने हो ? घलेको प्रश्न छ ।

Related News

सम्बन्धित समाचार

hero news full width