स्याङजाको रमाइलो गाँउमा लाटोकोसेरो उत्सव

आदर्श समाज सम्वाददाता
माघ ५, २०७६

पोखरा, ५ माग । स्याङजा जिल्ला विरुवा गाँउपालिका– ३, र पुतलीबजार नगरपालिका– २ को सीमानामा पर्ने राङभाङ(भैसेगौँडामा ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७६’ आयोजना गरिने भएको छ । राङभाङ क्लब, मिलेनियम टे«क व्यवस्थापन समिति र प्रकृतिका साथीहरु संस्थाको आयोजनामा कार्यक्रम गर्न लागिएको हो । यसका लागि ७ सदस्यीय ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ आयोजक मूल समिति बालकुमार गुरुङको संयोजकत्वमा गठन गरिएको छ ।

उत्सव यही माघ २४ र २५ गते दुई दिन गरिने छ । किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको हो । स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्य समेत राखिएको छ । नेपालमा यस किसिमको उत्सव मनाउन थालिएको ८ वर्ष भएको छ । यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ जिल्लामा सम्पन्न गरिसकिएको छ । यस किसिमको उत्सव नेपालबाहेक अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ ।

उत्सव शुरु हुनु दुई हप्ता अघि नै विभिन्न विद्यालयहरुमा लाटोकोसेरो चेतना शिविरहरु सञ्चालन गरिने छ । उत्सवको पहिलो दिन चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरा सम्बन्धीु म्युजियम प्रदर्शनी, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गीत तथा नाँचको प्रर्दशनी गरिने छ । सोही दिन भुरुम, घोचा गाड्ने, ठेला, पाङग्रा घुमाउने, घुयत्रो जस्ता स्थानीय लोपोन्मुख खेलको प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरिने छ ।उत्सवको पहिलो तथा दोश्रो दिन स्वागत गीत, स्थानीय सास्कृतिक कार्यक्रमहरु घाटु, झोरा, सोरठी, कौडा, नौमती बाजा, भजन, सालैजु, २२ ताल भाका, छैटी आदिको प्रर्दशनी हुनेछ । वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षण सम्बन्धी नाँच समेत प्रदर्शन गर्नेछन् ।

उक्त अवसरमा विद्यालय स्तरीय लाटोकोसेरो चित्रकला, कथा, निबन्ध तथा कविता प्रतियोगिताको आयोजना र उत्कृष्टको प्रदर्शनी समेत गरिनेछ । सोही प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचनाहरु, चित्रहरु, तथा फोटोहरुको प्रदर्शनी पनि गरिने छ । गहँुको छ्वालीबाट, चुराबाट, ढुङगाबाट, स्टीलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिने छन् । आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडियो हेर्ने व्यवस्था मिलाइएको छ । उत्सवमा सहभागी हुनेहरुको अनुहार तथा नङमा लाटोकोसेरो तथा हुचीलको चित्रसमेत बनाइने व्यवस्था गरिएको छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिनेछ । त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमूनाहरुपनि प्रदर्शनीमा राखिने छ । सो अवसरमा वन्यजन्तु अनुसन्धानकर्मीहरुको आफ्नो अनुसन्धानको बारेमा पोष्टर प्रस्तुती गर्नेछन् ।पश्चिमाञ्चल सामुदायिक अस्पताल, पृथ्वीचोकको सहयोगमा माघ २४ र २५ गते निःशुल्क स्वास्थ शिविर समेत गर्न लागिएको छ । उक्त अवसरमा महिला, हाडजोर्नी तथा बच्चा सम्बन्धी रोगहरुको उपचारलाई प्राथमिकता दिइने छ ।

राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार

उत्सवको अन्तिम दिन चार जना नेपाली अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ समेत दिन लागिएको छ । संरक्षणकर्मीहरुलाई जनही नगद २५ हजार रुपैयाँ सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ । यस वर्ष पुरस्कृत हुनेहरुमा पोखरा पंक्षी समाजका अध्यक्ष एवम संरक्षणकर्मी मनशान्त घिमिरे, धनघढीका पत्रकार अविनाश चौधरी, ग्रीन गार्ड नेपालका अध्यक्ष एवम काठमाण्डौ निवासी संरक्षणकर्मी विश्वनाथ रिजाल र शुक्लाफान्टा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेल रहेका छन् ।

लामो समय देखि वन, वातावरण तथा वन्यजन्तु संरक्षणमा योगदान गरेका दुईवटा संस्थालाई पनि दोसल्ला र ताम्रपत्रले सम्मान गर्न लागिएको छ । यसरी सम्मानित हुनेमा वर्दिया जिल्लामा कार्यरत बर्दीया प्रकृति संरक्षण क्लब र पाचँथर जिल्लामा कार्यरत दीपज्योति युवा क्लब रहेका छन् ।

यसले स्याङजा र तनहँु जिल्लाका ४ वटा नगरपालिका र १ वटा गाँउपालिका समेटेको छ । ७२ किलोमीटर लामो यो पदमार्गले मध्य पहाडि क्षेत्रलाई समेटेको छ । समुन्द्र सतहबाट करिब १५०९ मीटरको उचाइमा रहेको यो गाँउबाट अन्नपूर्ण, धौलागिरि, मनास्लु हिम श्रृखंला देखिन्छ । गुरुङ र मगर समुदायको बाहुल्यता रहेको यो ठाँउ आसपासमा घाटु, सोरठी, झोरा, पञ्चे बाजा आदि अनुभव गर्न सकिन्छ ।
यस क्षेत्रमा रतुवा, दुम्सी, खरायो, वाँदर, लंगूर, चितुवा, चरी बाघ, स्याल, काँडेभ्याकुर, कालिज, लामपुच्छ्रे, तित्रा, सुगा, मलेवा, ढुकुर, लाटोकोसेरो, हुचिल, कोईली, जुरेली सजिलै देख्न सकिन्छ । चरा अवलोकनको लागि यो क्षेत्र उत्कृष्ट मानिन्छ ।

काठमाडौंबाट पोखरा हुँदै स्याङजा, वालिङ वा पाल्पा जाने कुनै पनि बसमा गएर स्याङजाको सदरमुकाम नजिकै चन्द्रनगर (घुम्ती) भन्ने ठाँउमा झर्नु पर्छ । पोखरादेखि स्थानीय बसहरु समेत घुम्ती सम्म उपलब्ध छन् । पोखराको पृथ्वीचोक स्थित मुक्तिनाथ बैंक नजिकै रहेको ट्याक्सीहरुले प्रति व्यक्ति २५० का दरले वा रिर्जभमा (४ जना अट्ने) १००० मा घुम्तीसम्म जान्छन् । घुम्तीबाट राङभाङसम्म ३ वटा जिपहरु दिउसो २ बजेतिर जानेगरी नियमित रुपमा उपलब्ध छन् ।

उत्सवको बेला माघ २३ गते बेलुका, माघ २४ र २५ विहान अतिरिक्त वसको व्यवस्था गरिने बतायएको छ स्याङजाको घुम्ती बजारबाट ४५ मीनेटमा गाडी (ग्राउण्ड क्लियरन्स राम्रो भएको, मोटर साइकल वा स्कुटीमा पनि पुग्न सकिन्छ । साना मिनी बसहरु गाँउसम्म पुग्छन् । प्रकृतिमा रुची राख्नेहरु २ देखि ३ घण्टामा हिँडेर घुम्तीबाट गाँउसम्म पुग्न सक्छन् ।घुम्तीबाट ज्यामीरे हुँदै अन्य जीपहरु ओरस्टे, कोल्मासम्म जान्छन् । सो जिपमा ज्यामिरेसम्म गएर थप ४५ मीनेट सम्म पैदल बाटो हिँढेर पनि राङभाङ पुग्न सकिन्छ । पोखरा स्थित बसपार्कबाट दिउसो २ बजे एक बस ज्यामिरे हुँदै ओरस्टे जाने गर्दछ ।

निजी साना वाहान (ग्राउण्ड क्लीयरन्स राम्रो भएको) र मोटरसाइकल तथा स्कुटी हुनेहरु मुङलिन देखि पोखरा सडक खण्डमा दुलेगौडा भन्ने ठाँउबाट कोल्मा हुँदै पनि राङभाङ पुग्न सकिन्छ । करिब ४५ कीलोमीटर लामो यो बाटोमा (दुलेगौडा देखि राङभाङ) २० किलोमीटर कच्ची तर सहज बाटो पर्छ । यो क्षेत्रमा सामुदायिक होमस्टे छ । घर घरमा सो अवधिका लागि होमस्टेको व्यवस्था गरिएको छ । प्रतिदिन प्रति व्यक्ति रु ६०० (बेलुकी खाना, सुतेको र विहान खाजा) निर्धारण गरिएको छ । अतिरिक्त साधा खानाको रु. २००, कुखुराको मासु रु १५० प्रति प्लेट उपलब्ध हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width