सगरमाथा निकेतन स्कुलमा वार्षिक खेलकुद

आदर्श समाज सम्वाददाता
माघ १, २०७६
Sagarmatha School Sports Meet

पोखरा । पोखरा–९, नयाँबजारस्थित सगरमाथा निकेतन स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

त्रि–दिवसीय रुपमा संचालित खेलकुद कार्यक्रम अन्तर्गत विद्यालयमा अध्यायनरत् विभिन्न सदनका छात्रछात्राले प्रतिस्पर्धा गरेका थिए ।

खेलकुद अन्तर्गत छात्रछात्रा दुबैतर्फ जुनियर तथा सिनियर फुटबल, एकल तथा डबल्स टेबलटेनिस, एकल तथा डबल्स ब्याडमिण्टन लगायतका प्रतिस्र्धाहरु गरेका थिए । त्यस्तै, एथलेटिक्सतर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर दौड, लङजम्प, शटफुट लगायतका प्रतियोगिताहरुमा छात्रछात्राले प्रतिस्पर्धा गरेका थिए ।

नर्सरिदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुबीच बेलुन फुटाउने, चकलेट दौड, तातो आलु, ५० मिटर दौड लगायतका मनोरञ्जनात्मक प्रतिस्पर्धाहरु गराइएको प्रतियोगिता संयोजक समेत रहेका खेल शिक्षक कृष्ण थापाले जानकारी दिए ।

विद्यालयका प्राचार्य दिलिप कुमार शर्मा, शिक्षक शिक्षिका सविता थापा, रामजी बराल, टिकामाय गुरुङ लगायतले प्रतियोगिताका टिम तथा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । त्यस्तै, शिक्षकहरु महेश गौतम, सुरज पौडेल, प्रताप गुरुङ, फडिन्द्र बराललगायतले अफिसियलको भूमिका निर्वाह गरेका थिए ।

पुरस्कार वितरण समारोहमा बोल्दै प्राचार्य शर्माले विद्यालयस्तरमा संचालन हुने यस किसिमको कार्यक्रमले विद्यार्थीहरुलाई शारीरिक एवं मानसिक रुपमा समेत स्वस्थ राख्ने औंल्याए । पढाईका अलावा विद्यार्थीहरुभित्र लुकेका क्षमताको प्रस्फुटन पार्न यस्ता प्रतियोगिताहरुको महत्व रहने उनको भनाई थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width