४३० को स्वास्थ्य परीक्षण

आदर्श समाज सम्वाददाता
पौष २४, २०७६
IMG_0967

नवलपरासी, २४ पुस । नवलपरासीको हुप्सेकोट गाउँपालिकामा सञ्चालित निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ४ सय ३० जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।

हुप्सेकोट गाउँपालिका– १ स्थित जनता माविमा सञ्चालित एक दिने विशेषज्ञ आयुर्बेद स्वास्थ्य शिविरमा ४३० जानाको स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयुर्वेद सेवा कार्यक्रम अन्तर्गत निःशुल्क विशेषज्ञ आयुर्बेद स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ग्यास्ट्राइटिस तथा पेटसम्बन्धी बिभिन्न समस्याहरु पायल्स, नशा तथा बाथ रोग, स्त्रीरोग बिरामीको परीक्षण गरिएको आयोजक स्वास्थ्य निर्देशनालयका कार्यक्रम संयोजक नवीनकिरण भुसालले जानकारी दिए । उनका अनुसार शिविरमा ग्याष्ट्रिक र बाथरोग सम्बन्धी बिरामीको बढी भीड लागेको थियो ।

उपचार गर्न आउनेलाई बिशेषज्ञ आयुर्वेद चिकित्सकहरुले निःशुल्क स्वास्थ्य परीक्षण साथै परामर्श, प्रयोगशाला परीक्षण, भिडियो एक्सरेका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको छ । एलोपेथिक पद्धतिबाट उपचार गराउने परम्परा बढ्दै गएका बेला आयुर्वेदतर्फ पनि नागरिकको उत्तिकै विश्वास रहेको सहभागी चिकित्सकहरुले जानकारी दिए ।

वरिष्ठ आयुर्वेदिक डाक्टरको उपस्थिति रहेको शिविरमा उपचार गराउनका लागि हुप्सेकोट गाउँपालिकाका विभिन्न वडाका बिरामीहरु सहभागी भएका थिए । शिविरमा कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा बुद्धिप्रसाद पौडेल, डा.प्रशान्त पण्डित, डा. कुमार कासुला, डा. सुजाता शर्मा, रेडियोलोजिष्ठ डा. मणिराज सापकोटा लगायतले सेवा प्रदान गरेका थिए ।

एक दिने बिशेषज्ञ आयुर्बेद स्वास्थ्य शिबिर कार्यक्रमको शुभारम्भमा स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्मा र हुप्सेकोट गाउँपालिका प्रमुखद्वारा आयुर्वेद औषधीय महत्वको जडिबुटी रक्तचन्दनको बिरुवा विद्यालय र गाउँपालिका प्रांगणमा रोपिएको थियो । कार्यक्रमको औपचारिक उदघाटन सत्र गाउँपालिका प्रमुख लक्ष्मीदेवी पाण्डेको प्रमुख आतिथ्यता, स्वास्थ्य निर्देशनालय गण्डकीका स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माको अध्यक्षता र कार्यक्रम संयोजक नवीन किरण भुसाल को संचालनमा सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width