कानून व्यवसायी जिम्मेवार हुन आवश्यक

आदर्श समाज सम्वाददाता
पौष १९, २०७६
20200103_133137_Fotor

उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले कानून व्यवसायीले लिखत तयार गर्दा जिम्मेवार र अध्ययनशील हुन आवश्यक देखिएको बताएका छन्।

मुख्य न्यायाधीवक्ताको कार्यालय गण्डकी प्रदेश, नेपाल वार एशोसिएसन, उच्च अदालत वार एशोसिएसन पोखरा र जिल्ला अदालत वार एशोसिएसनद्वारा आयोजित कानून व्यवसायी दक्षता अभिमुखीकरण तालिम शुभारम्भ गर्दै मुख्य न्यायाधीश बस्यालले भने, ‘पीडित आएर सिधैँ कानून व्यवसायीसँग ठोक्किने हुँदा इजलासले तथ्यको आशा पनि गरेको हुन्छ। ’

कानून व्यवसायी सक्षम भएमा न्याय सम्पादनमा न्यायाधीशलाई पनि सजिलो हुने बताउँदै मुख्य न्यायाधीश बस्यालले भने, ‘तालिममा लिखत र लगतको पाटोमा पनि जोड दिनु जरुरी छ। संघीयता जुन उत्साहमा आयो तर त्यसलाई लागू गर्न उत्साह देखिएन। ’ संघीय सरकार कार्यान्वयनमा जिम्मेवार बन्न नसकेको उनको गुनासो थियो।

‘संघीयतासँगै स्थानीय तहमा निर्माण हुने कानूनमा कानून व्यवसायीको सहयोग आवश्यक छ, ’ उनले भने, ‘स्थानीय तहको नीति नियम बनाउँदा कानून व्यवसायी दक्ष हुन जरुरी छ । ’ कानून व्यवसायीले मेलमिलापलाई पहिलो प्राथामिकतामा राख्न मुख्य न्यायाधीश बस्यालले आग्रह गरे। न्यायाधीशले सरकारी वकिलको कामलाई बूढीऔंलाको रुपमा लिने गरेका छौं भन्दै उनले सरकारी वकिल बढी जिम्मेवार हुनु आवश्यक भएको जानकारी पनि दिए।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले संघीयतासँगै फेरिएको समय र परिस्थिति अनुसार कानून व्यवसायी पनि अपडेट हुनुपर्नेमा जोड दिए। ‘सरकार संघीयताको अभ्यास गरिरहेको छ, नयाँ संविधान अनुसार निर्मित कानून कार्यान्वयन गर्ने मुख्य जिम्मेवार र दाहित्व न्यायालय र कानून व्यवसायीको नै हुन्छ, ’ मन्त्री चुमानले भने, ‘विकेन्द्रीकरणको अधिकारका लागि संशोधित कानून जनतामाझ लैजाने काम पनि कानून व्यवसायीकै हुन्छ। ’

संघीयताको विषय नयाँ सिराबाट अगाडि बढिरहेको बेला कानून व्यवसायीको सहयोग सरकारलाई चाहिएको उनले बताए। जुन उत्साह साथ संघीयता ल्यायौं, त्यो अनुरुप सरकार अगाडि बढ्न नसकेको स्वीकार गर्दै संघीयता सफल पार्न सबैको साथ सहयोगको अपेक्षा प्रदेश सरकारले गरेको बताए।

गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले संविधान र नयाँ कानूनको विषयमा नयाँ अनुभव रहेकाले संघीयता सफल पार्ने सबैको दायित्व भएको बाताए।

नेपाल बार एशोसिएसन अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले कानून व्यवसायीलाई दक्ष, इमान्दार र लगनशील भएर अगाडि बढ्न जोड दिए। न्यायाधीश राम्रो भए बिचौलिया न्यायालयभित्र पस्न नसक्ने बताउँदै न्यायाधीश नियुक्त गर्दा इमान्दार र दक्ष व्यक्ति नै रोज्न उनले आग्रह गरे। योग्यता पुग्यो भन्दैमा जसलाई पनि न्यायाधीश नियुक्त गर्ने परिपाटी हटाउनु पर्ने बताउँदै श्रेष्ठले न्यायपरिषद् पनि वारले यससम्बन्धी सुझाव दिएको उल्लेख गरे। उक्त अवसरमा उच्च अदालत वार एशोसिएसन पोखरा अध्यक्ष रोहितराज बास्तोला लगायतका वक्ताले भनाइ राखेका थिए। दुई दिनसम्म चल्ने तालिममा कास्की, स्याङ्जा र तनहुँका कानून व्यवसायीको सहभागिता छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts