शुक्लाफाँट निकुञ्ज : बाह्रसिंगा प्रसिद्ध

Suraj Hazare Dahal
पौष १९, २०७६
Shuklaphat 2_Fotor

शुक्लाफाँट राष्ट्रिय निकुञ्ज शुरुमा शाही शिकार आरक्षको रुपमा २०२६ सालमा स्थापना भएको हो। २०३३ सालमा शिकार आरक्षबाट हटाएर शाही वन्यजन्तु आरक्षको रुपमा मान्यता दिइयो भने २०७३ मा आएर वन्यजन्तु आरक्ष केन्द्रबाट राष्ट्रिय निकुञ्जमा रुपान्तरण गरियो।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा पर्ने यो निकुञ्ज घोषणा गरिएपछि आन्तरिक र बाह्य पर्यटकको संख्या बढेको छ। गत आव ४ हजार ७ सय ६० जना पर्यटकहरु आएका थिए। शुक्लाफाँट निकुञ्जको कुल क्षेत्रफल ३ सय ५ वर्ग किमी छ। महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको हुनाले यहाँ फाँट निर्माण भएका छन्। यस निकुञ्जको ३० प्रतिशत भाग घाँसेमैदानले आगटेको छ भने ५२ प्रतिशत भाग सालको वनले, १६ प्रतिशत नदीतटीय वन र २ प्रतिशत भाग मिश्रित वनले ढाकेको छ। यी सबै क्षेत्रको दक्षिणमा चुरे पहाड लम्मवत् उभिएको छ।

निकुञ्जको प्रचार बढ्नु र वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत भएपछि पर्यटकहरु यहाँ ओइरिन थालेका छन्। नेपालमा मात्र नभई यो निकुञ्ज पूरै विश्वभर बाह्रासिंगाको लागि निकै प्रसिद्ध छ। विश्वमै सबैभन्दा धेरै बाह्रसिंगाहरु एउटै झुण्डमा नेपालकै यही निकुञ्जमा रहेका छन्। बाह्रसिङ्गाको ठूलो झुण्ड लहरैसँग चरेको निकै आकर्षक दृश्य देखिने भएकोले चैत–बैशाखतिर आन्तरिक पर्यटकहरु यहाँ ओइरिन्छन्। जनावरको प्यास मेटाउन आउँदो गर्मी मौसम भित्रमा निर्माण सम्पन्न हुने गरी ६० वटा कृत्रिम तालको निर्माण प्रारम्भ गरिएको छ। तालको लागि डेढ करोड रकम समेत छुट्याइएको छ।

पछिल्लो गणना अनुसार यहाँ २ हजार १ सय ७० वटा बाह्रासिंगा छन्। बाह्रसिंगाले काँस जातको घाँस खाने गर्छन् र यो घाँसमा सेतो भुँवा फुल्दा मैदान मनमोहक देखिन्छ। बाह्रसिंगा अलावा निकुञ्जको हिरापुर फाँटमा ७ वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको संख्या करिब ७० पुगेको छ। २०६९ सालमा नेपालगञ्जबाट ८ भाले र १४ पोथी तथा ललितपुरको जाउलाखेल चिडियाखानाबाट ३ भाले, २ पोथी र १ बच्चा कृष्णसार हिरापुर फाँटमा लगिएको थियो। यस्तै यहाँ ३० वटा जंगली हात्तीहरु रहेका छन्। बाघ १७ वटा छन्।

शुक्लाफाँट थोरै क्षेत्रफलमा धेरै बाघ रहेको निकुञ्ज हो। उपोष्ण जलवायु तथा मलिलो माटो भएकोले निकुञ्ज सालको घनाजंगलले भरिएको छ। साल अलावा यहाँ सिसौ र खयरको जंगल पनि रहेको छ। यस्तै खयरको जंगलमा खयर मजुर सबैभन्दा धेरै संख्यामा यही निकुञ्जमा छन्। विशेषगरी बाह्रासिंगा रहेको क्षेत्रमा ४ मिटर अग्ला घाँसेमैदान पनि प्रशस्तै छन्। शुक्लाफाँटमा रहेको घाँसेमैदान नै नेपालको सबैभन्दा ठूलो घाँसेमैदान हो। जसले निकुञ्जको ८० प्रतिशत भूभाग ओगटेको छ।

बाघ र बाह्रसिंगाको बाहेका यहाँ अन्य स्तनधारी जनावर चितुवा, जरायो, चित्तल, लगुना, सालक, चरी बाघ, बँदेल, पाइन्छन्। रानीतालमा मगर गोही पाइन्छन्। अन्य रैथाने घर्सने जीवहरुमा घडियाल गोही र एशियन पाइथन पनि पाइन्छ। दुई वर्षअघि चितवनका ५ गैंडाहरु यहाँ स्थान्तरण गरिएको थियो। यस्तै रैथाने र स्थानीय चराहरुको संख्या ४ सय २४ रहेको छ। यहाँ राजधनेश, सारस, सिमतित्रा तथा दुर्लभ भुँडीफोर जस्ता पंक्षीहरु पाइन्छन्। निकुञ्जमा हाँसका १५ प्रजाति, गरुडको ५ प्रजाति, बकुल्लाको १२ प्रजाति, जलेवाको २ प्रजाती, सारसको एउटा प्रजाति, हुटिट्याउँका ४ प्रजाति रहेका छन्। गत साल गरिएको जलपंक्षीको गणना अनुसार ५८ प्रजातिका ३ हजार ६ सय ४१ जलपक्षी फेला परेका हुन्। शुरुमा वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले शुक्लाफाँट आरक्ष निर्माण गरिएकोमा त्यसपछि वनस्पति, वन्यजन्तुको संरक्षण गर्दै त्यस वरपरका समुदायको आर्थिक अवस्था उकासनका साथै पर्या–पर्यटनको विकासको निम्ति निकुञ्जमा परिणत गरिएको थियो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले नेपाल सरकारको संरक्षण कार्यक्रम आवाज रहित प्रविधिको प्रयोग गरेर जमिनमुनिबाट पानी तानेर ६ वटा कृत्रिम ताल निर्माण समेत गरिएको छ। पानी खोज्न जंगली जनावर बस्तीमा नपसून् भनी ताल निर्माण गरिएको हो।

खर्च र बसाइँ

पोखराबाट हरेक दिन १:३० बजे महेन्द्रनगर जाने बस छुट्छ। उक्त बस भोलिपल्ट बिहान ८ बजे महेन्द्रनगर बसपार्क पुग्छ। बसपार्कबाट अटोरिक्सा लिएर आधा घण्टामा शुक्लाफाँट निकुञ्जकै गेट पुगिन्छ। अटोरिक्सा निकुञ्जभित्र रहेको शुक्लाफाँट जंगल कटेज पुग्छ। कटेजले नै पर्यटकलाई जीपमा निकुञ्ज घुमाउने जिम्मा पाएको छ। बिहानदेखि साँझसम्म जीप चढेर घनाजंगलमा बाह्रासिंगाको बथान, बाघ तथा गैंडा अवलोकन गर्न सकिन्छ। पाँचदिने यात्राको सबै खर्च २० हजार रुपैयाँ लाग्छ।

Related News

सम्बन्धित समाचार

hero news full width