प्रधानमन्त्री मोदीद्वारा आन्दोलनकारीलाई आग्रह

रासस
पौष ३, २०७६
Narendra Modi Photo_Fotor

भारतका विभिन्न शहरहरुमा आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन सबै भारतीय नागरिकलाई आग्रह गरेका छन् ।

भारतमा पछिल्ला केही दिन यता नागरिकता सम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शनहरु भइरहेका छन् । ती प्रदर्शनहरु चर्किँदै गएपछि प्रधानमन्त्री मोदीले सो आग्रह गरेको समाचारमा जनाइएको छ । बुधबार राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उनले सो आग्रह गरेका हुन् ।

मङ्गलबार साँझ पनि भारतीय जनताका नाममा सम्बोधन गरेर सो आग्रह गरेका प्रधानमन्त्री मोदीले बुधबार पनि सबैलाई आन्दोलन नचर्काउन र सबैलाई शान्त रहन आग्रह गरेको प्राप्त समाचारमा जनाइएको छ ।

उनले नागरिकताको संशोधनको विषयलाई लिएर आन्दोलन र कुनै पनि किसीमको राजनीति बन्द गर्न आग्रह गरेको बुधबार दिल्लीबाट प्राप्त भएको समाचारमा जनाइएको छ । भारतीय प्रधानमन्त्री मोदीले सरकारले ल्याएको नागरिकतासम्बन्धी उक्त नयाँ कानूनको बचाउ गर्दै त्यस कानूनमा सोचविचार गरेर नै संशोधन गरिएको बताए ।

उनले भारतका विभिन्न शहरमा जारी रहेको आन्दोलनलाई ‘गुरिल्ला’ राजनीति भनी टिप्पणी गरेका छन् । संशोधनपछि आएको नागरिकता सम्बन्धी नयाँ कानूनको विरोधमा भारतको पश्चिम वङ्गाल, कलकत्ता, तामिल नाडू राज्यलगायतका शहरी क्षेत्रमा विभिन्न दलहरूसमेतको सक्रियतामा विरोध प्रदर्शनहरु भएका छन् ।

दशौँ हजारको संख्यामा भारतीय मुसलमान समुदायका नागरिकको सहभागितामा केही दिनदेखि प्रदर्शन जारी राखिएको बताइएको छ । राजधानी नयाँ दिल्लीमा पनि मङ्गलबार बृहत् विरोध प्रदर्शन गरिएपछि प्रधानमन्त्री मोदीले मङ्गलबार साँझ टेलिभिजनबाट सम्बोधन गरी देशमा शान्ति कायम राख्न आग्रह गरेका थिए ।

बुधबार पनि उनले संशोधित नागरिकता सम्बन्धी कानूनबाट कोही पनि भारतीय नागरिक डराउनुपर्ने अवस्था नरहेको भन्दै उक्त कानूनको बचाउ गर्दै नागरिकलाई शान्तिपूर्ण रुपमा रहन र आन्दोलन नगर्न आग्रह गरेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width