जीविका महँगिएपछि शहरबाट गाउँतिर

अञ्जनराज न्यौपाने
मंसिर २५, २०७६
Nepal-Kathmandu-Valley-Chisapani-To-Nagarkot-Trail-People-On-Top-Of-Bus

दिनहुँ गाउँवेसी, उकाली, ओराली गर्नुपर्दा अति कठिन भएको भन्दै गाउँ छाडेर शहरबजारमा सुविधा खोज्न पसेका युवा बेरोजगारी र चर्को कोठा भाडा तिर्न नसक्दा पुनः गाउँमै फर्कन थालेका छन्।

घिरिङ २ कि माया थापामगर भन्छिन्, ‘नेपालका युवाले शहरमा जागिर खोज्यो योग्यता अनुसारको तलब पाइँदैन, पाइयो भने पनि स्केल अनुसार दिँदैनन्। ’ उनले थपिन्, ‘गैरसरकारी र सरकारी संस्थाहरुमा त झन् सोर्स, फोर्स नलगाई रोजगारीको सम्भावना नै हुँदैन आफ्नो त बाबा पनि किसान, आमा चुलोचौकोमा नै ब्यस्त, मामाहरु अरबको खाडीमा श्रम गदैर्छन्। अब जागिर कसले लगाईदिने आफ्नो भन्ने कोही छैनन्। ’

दुःख सुख गरी बीएडमा नेपाली विषय लिएर पढेकी थापाले दमौलीको एक फेन्सीपसलमा ७ हजार रुपैयाँको जागिर खाएकी थिइन्। तर तलबले २ हजार २ सयको १ बोरा चामल, महँगो तेल, तरकारी १ किलो आलुको १ सय २०, प्याजको २ सय ५० रुपैयाँ किलो, मासिक कोठा भाडाको ३ हजार ५ सय र खानेपानी र बिजुली बत्तीको भाडा १ हजार ५ सय गरी ५ हजार रुपैयाँ भाडा तिर्नुपर्दा अत्यन्तै समस्या हुन थालेपछि उनले गाउँमै फर्कने निर्णय गरेको दुःखेसो पोखिन्।

यस्तै, मिर्लुङ हाँसिस्वारा घर भई हाल दमौलीको उतरशीला टोलमा रोजगारीको सिलसिलामा कोठाभाडामा बस्दै आएका ३३ वर्षीय मोहनबहादुर कुँवरले बजारको महँगो रासनपानी, लत्ताकपडा, चर्को कोठा भाडा तिर्नुपर्ने बाध्यता भएपछि गाउँमै फर्किएर तरकारी र बाख्रापालन ब्यवसाय गर्ने निर्णय लिएका छन्। उनी भन्छन्, ‘गाउँको जग्गामा पानीको स्रोत प्रशस्त छ । ऋण नै गरेर भएपनि माछापोखरी बनाउँछु र पोखरीमाथि बंङ्गुर पाल्छु। दुवै व्यवसाय फस्टाउन सहयोग मिल्छ, ’ कुँवरले भावी योजना सुनाए। ‘कुल २७ रोपनी खेतीयोग्य उर्वरजग्गामा घैया धान, मकै, कोदो फापर, सागसब्जी, उन्नत जातका फलफूल लगाएर बेच्ने योजना छ, ’ उनले भने, ‘मोटरबाटो घरमै पुगेको छ, सुयोग्य शिक्षकहरु गाउँमै छन्। अबको जीवन गाउँमै बिताइन्छ, शहरमा पाइने सुविधा गाउँमै छ। गाउँको खेतीयोग्य जग्गामा घाँटु र गन्धे उम्रिएको छ। उर्वरभूमिले सराप्यो अहिले शहरले सवक सिकायो अब गाउँ नफर्की सुखै भएन। ’

स्थानीयस्तरमा उत्पादित बाँसका ढोका, डाला, नाम्ला, टोपा, स्याखु, खुरपेटो, मुरली, हसियाँ, होटल, रेष्टुरेन्टका लागि फूल र झोलाले बजार पाएपछि विदेशिएका युवा दाजुभाइ, दिदीबहिनी गाउँमै श्रम गरेर मासिक ८० हजार देखि १ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको म्याग्दे गाउँपालिका १ का होम थापामगरले बताए।

उनी भन्छन्, ‘विगतमा दमौली बजारमा काम नपाएर जागिर खोज्दै भौतारिएर हिड्ने गथेर्ं। बेरोजगारीले ग्रसित जीवन थियो। सानो वस्तु किन्न पैसा हुँदैनथ्यो। अहिले जीवनमा सुधार आयो, गाउँमा उत्पादित बस्तु बेचेर मनग्य आम्दानी भएको छ। ’

सोही गाउँपालिका माथिल्लो गुणादीका ३७ वर्षीय कृष्णबहादुर थापाले आफू शहरी जीवन बिताएर वाक्क भएको बताउँदै गाउँमै २० लाखको लागतमा बाख्रापालन गरेको बताए। ‘अब भने माछापालनका लागि पोखरी निर्माण गर्ने विचारमा छु, ’ उनले भने, ‘यसका साथै २ सय बोट केरा, १६ वटा आँपको विरुवा, ६३ वटा कागतीका विरुवा र ७५ वटा लिचिका बोट लगाएको छु। ’

‘शहरको कोलाहलपूर्ण वातावरण, धुँवा, धुलो, भीडभाडमा आरामदायी जीवन बिताउनु भनेको शरीरमा रोग निम्त्याउनु हो। काम नगरी बसेर सुगर, प्रेसर र ग्यास्टिकका कारण दिनहुँ समस्या भोग्नुपर्ने हुन्छ। त्यसैले आफ्नो गाउँ आफै बनाउन शान्त वातावरण र स्वच्छ हावापानी र गाउँले दाजुभाइको आत्मीयता भुल्न सकिएन। त्यसैले कम लगानीमा धेरै आम्दानी भएको छ, ’ थापाले सुनाए।

गाउँमा सागसब्जी गोलभेंडा, खुर्सानी, गावा, प्याज, लसुन, अलैंची, हलेदो, निगुरो, अम्बा, कागती लगायत उपभोग्य सामान उत्पादन भएपछि र ती सामानले दमौली, पोखरा, चितवनमा बजार पाएपछि स्थानीय कृषकहरु हर्षित भएका छन् । गाउँमा उब्जिएको मकै, बोडी, काउली, सुन्तला, केरा, मौसम, कमला, निबुवा, कागती बेचेर मासिक ७६ हजारदेखि ९० हजार रुपैयाँ आम्दानी गरेको सोही गाउँपालिकाका ४८ वर्षीर्य होटल व्यवसायी विनोद खनालले बताए।

गाउँमा उत्पादित अर्गानिक सागसब्जी, बाँस, खिरो, बकैनो, पाखुरी, सिसौ, साल, चिलौने बाट बनेका सारंगी, खुपेर्टो, मादल, खैजरी, हलो, बाँसका डोका, डालो, नाम्लो र उन्नत जातका फलफूल आन्तरिक एवं बाह्य पर्यटकलाई बिक्री वितरणमा भ्याईनभ्याई भएको खनालले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width